कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नारायणगढ-बुटवल सडक विस्तार : शिलान्यास गरेको ७ महिनामा पनि सुरु भएन

काठमाडौँ/रूपन्देही — गत चैत ८ गते पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको शिलान्यास गरे । भव्य रूपमा सडक शिलान्यास गरेको ७ महिना बित्दा पनि निर्माणमा प्रगति देखिएको छैन । चार वर्षमा निर्माण सक्नुपर्ने उक्त सडकको आधा वर्ष बित्दासमेत काम अघि बढ्न सकेको छैन । दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिए हो । 

नारायणगढ-बुटवल सडक विस्तार : शिलान्यास गरेको ७ महिनामा पनि सुरु भएन

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा पूर्वतयारी नपुगेका कारण निर्माणमा ढिलाइ भएको बताउँछन् । ‘निर्माण कम्पनीले पूर्वतयारी गरिरहेको छ,’ उनले भने, ‘निर्माण ढिलाइ भएको बारे सोधिरहेका छौं, पुलको फर्मा बनाउने, क्रसर प्लान्ट स्थापना गर्ने काम भएकाले साइटको काम नदेखिएको हो ।’


उनले निर्माणमा प्रयोग हुने मेसिन बाहिरबाट ल्याउनुपर्ने भएकाले केही ढिलाइ भएको दाबी गरे । अहिले सडक मर्मतको काम पनि भइरहेको छ । सडक विभागअन्तर्गतको एडीबी सडक निर्देशनालयले चाइना स्टेट कन्ट्रक्सनसँग माघ २४ मा ठेक्का सम्झौता गरेको थियो । एसियाली विकास बैंकले ३२ वर्षका लागि ऋण सहयोग गरेको हो । निर्माणको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ छ ।


जसमा ८५ प्रतिशत रकम १ दशमलव ५ प्रतिशत ब्याजदरमा एडीबीले ऋण दिनेछ । थप खर्च नेपाल सरकारकै हुनेछ । सडकको लम्बाइ १ सय १३ किमि रहेको छ । दुई वटा प्याकेज बुटवलदेखि दाउन्ने र दाउन्नेदेखि नारायणगढ रहेको छ ।

‘बस्ती भएका ठाउँमा ८ लेन र नभएको ठाउँमा चार लेनको सडक बन्नेछ,’ महानिर्देशक शर्माले भने, ‘सडकसँगै ५० वटा चार लेनका पुल पनि बन्नेछन् ।’ यही ठेक्काअनुसार पुल बन्नेछन् ।


गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किमि र दाउन्नेदेखि बुटवल चौराहासम्म ४८ किलोमिटरमा ठेक्का भएको हो । गैंडाकोटदेखि दाउन्नेसम्मको लागत ९ अर्ब १३ करोड १८ लाख र दाउन्नेदेखि बुटवलसम्म ७ अर्ब ८६ करोड लाग्नेछ । यता आयोजनाले सडकमा पर्ने संख्या ५ गुणा बढेपछि शिलन्यासको लामो समयसम्म काम सुरु हुन नसकेको जनाएको छ । सडकको दुवैतर्फ रहेका काट्नुपर्ने रुखको संख्या वातावरणीय प्रभाव मूल्यांकन गर्नुभन्दा अहिले ५ गुणा बढेपछि विस्तारको काम रोकिएको हो ।


बुटवल-नारायणगढ सडक सुधार आयोजना कार्यालयका प्रमुख इन्जिनियर सुरेश न्यौपानेका अनुसार सडक विस्तारका लागि सरकारले सन् २०१६ मा वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो । मूल्यांकनका लागि विदेशी संस्था एमएमएमसँगको जोइन्ट भेन्चरमा नेपाली परामर्शदाता इटेको नेपाललाई विभागले नियुक्त गरेको थियो ।


०१६ सेप्टेम्बरमा बुझाएको प्रतिवेदनमा त्यसमा ९ हजार २७ रुख काट्नुपर्ने उल्लेख छ । विभागले त्यसकै आधारमा ठेक्का स्वीकृत गरेर निर्माणका लागि सम्झौता गरेको थियो । निर्माण सुरु गर्नुपूर्व रुखको लगत लिने क्रममा मापदण्डअनुसारका रुख बढेर ५० हजार ३ सय ५२ संख्या पुगेको छ । ‘२० प्रतिशत रुख तलमाथि हुनु स्वाभाविक मानिन्छ,’ उनले भने, ‘तर, धेरै नै फरक परेपछि कारण खोजी र इन्भाइरोमेन्ट म्यानेजमेन्ट प्लान्ट (ईएनपी) परिवर्तन गर्ने प्रयास हुँदै छ ।’ स्वीकृतिका लागि वातावरण मन्त्रालयको कानुन शाखामा फाइल पुगेको उनले बताए ।


एसियाली विकास बैंकको आयोजना निर्देशनालयका निर्देशक दीपक श्रेष्ठले परामर्शदाता कम्पनी इटेको नेपाललाई रुखको संख्या धेरै बढ्नुमा लिखित जवाफ मागेको छ । ‘हामीले रुखको संख्या फरक पर्नुको जवाफ मागेका छौं,’ उनले भने, ‘तर, जवाफ आएको छैन, कस्तो जवाफ आउँछ, त्यसपछि नै थप निर्णय लिनेछौं ।’ प्रभाव मूल्यांकनमा मात्र १७ करोडभन्दा बढी रकम खर्च भएको छ । दाउन्ने खण्डको १२ किलोमिटरमा ३ लेन मात्र हुनेछ । त्यहाँ उकालोमा गुड्ने सवारी साधनले २ लेन र ओरालोमा गुडिरहेको सवारी साधनले १ लेन प्रयोग गर्नेछन् । दाउन्ने पहाडको ८ किलोमिटर खण्डमा भने सडक २ लेन मात्र हुनेछ ।


सडक विस्तारका लागि रुखसँगै विद्युत्का पोलको समेत समस्या भएको छ । दुई खण्डमा गरेर ४ हजार ८ सय ३९ पोल सार्नुपर्ने र विद्युत् तार फेर्नुपर्नेछ । त्यसको लागत ७५ करोडभन्दा बढी छ । आयोजना र विद्युत् प्राधिकरणबीच पोल सार्ने लागत कसले व्यहोर्ने भन्ने विवादले पनि सडक विस्तारमा ढिलाइ भइरहेको छ ।


यता नारायणगढ-दाउन्ने सडक खण्डका प्रमुख सुजन अधिकारीका अनुसार बिहीबारबाट लोकाहा खण्डमा निर्माणको काम सुरु भएको छ । ‘बिहीबारबाट परीक्षणका रूपमा माटो कटिङको काम सुरु भएको छ, पूर्वतयारी र रुखका कारण निर्माणमा ढिलाइ भएको हो,’ उनले भने ।

प्रकाशित : कार्तिक ९, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?