घरेलु उत्पादनले फूल आयात रोकियो

रुपा गहतराज

नेपालगन्ज — आँगन हुन् या नर्सरी, जताततै सयपत्री ढकमक्क छन् । तिहार, छठलगायत चाडपर्व लक्षित गरेर हुर्काइएका सयपत्री फुलेर मगमग बास्ना आइरहेको छ ।

घरेलु उत्पादनले फूल आयात रोकियो

फूल व्यवसायीका लागि आम्दानीको स्रोत बनेको छ । नेपालगन्ज उपमहानगरपालिका-२१ फलोराकी बिन्दु चर्तीलाई मखमली फूल गाँस्न भ्याई-नभ्याई छ । तिहारमा मात्र ४ हजार गोटा माला बिक्री गर्ने लक्ष्य उनको छ । दुई हजार सयपत्री र त्यति नै मखमली फूलको माला बिक्री गर्ने लक्ष्यसाथ फूल खेती गरेको सुनाइन् ।


‘तिहारका बेला १६ लाख रुपैयाँ बराबरका माला बिक्री गर्ने लक्ष्य छ,’ उनले भनिन्, ‘यस पटक फूल अभाव छैन ।’ तिहारका लागि कोहलपुर, दाङ र पाल्पाबाट फूल मगाएको बताइन् । जिल्लाका विभिन्न स्थानबाट ३ सय रुपैयाँ प्रतिकिलो र पाल्पाबाट प्रतिकिलो २ सय रुपैयाँका दरले सयपत्री फूल खरिद गरेको उनले बताइन् । विन्दुले चार कट्ठामा फूल खेती पनि गरेकी छन् । अरू बेला पनि अभाव हुन नदिन उनले फूल खेती गरिरहेको सुनाइन् ।


सयपत्री र मखमली फूल टिप्न र माला गाँस्न जिल्लाका किसान अहिले व्यस्त छन् । केही वर्षअघिसम्म यस भेगका कृषकको मुख्य आयस्रोत फूल खेती थिएन । अहिले ह्वात्तै व्यवसायप्रति कृषकको आकर्षण बढेको छ । यहाँका किसानले घरमा यहाँ अहिले सयपत्रीको प्रतिमाला १ सय रुपैयाँमा बिक्री गरिरहेका छन् । मखमली फूल गोटाका दरले मूल्य तोकेर बिक्री हुन्छ । यसरी सयपत्रीप्रति किलो ३ सय रुपैयाँमा खरिद बिक्री हुन्छ । तर, मखमली एउटा फूलका आधारमा बिक्री हुने गरेको छ ।


बाँके तथा अन्य जिल्लामा फूलको उत्पादन बढेपछि भारतीय फूल आयात हुन छाडेको छ । यस वर्ष सयपत्री र मखमली फूल बाँकेमा नआएको हिमाली नर्सरीका अंकित श्रेष्ठले बताए । ‘हामीले मात्र झन्डै पाँच क्विन्टल सयपत्री फूल बजारमा पठाएका छौं,’ उनले भने, ‘यस वर्ष मात्र दाङ, सुर्खेत, प्यूठानलगायत जिल्लामा १ लाख रुपैयाँ बढीको फूल पठाउँदै छु ।’


भारतीय भित्रिएन

नेपालगन्ज नाकाबाट मखमली र सयपत्री फूल अहिलेसम्म नभित्रिएको नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । नेपालगन्ज नाकाबाट आर्टिफिसियल (कृत्रिम) माला आयात भए पनि सयपत्री र मखमली फूलका माला नआएको बताए । आव ०७४/७५ मा ४ लाख ५६ हजार ६ सय ९४ र आव ०७५/७६ मा ५ लाख ८९ हजार ८ सय ३३ रुपैयाँ बराबरको प्लास्टिकका कृत्रिम माला नेपाल भित्र्याइएको थियो ।


‘वैधानिक रूपमा सयपत्री, मखमलीलगायत अन्य फूल नेपालगन्ज नाका भएर आएको देखिएन,’ उनले भने, ‘स्थानीय बजारले पर्याप्त उत्पादन गरेको देखियो ।’ तर, भारतीय व्यापारीले साइकलमा राखेर ल्याउने सयपत्री र मखमली फूलको व्यापार भने नियन्त्रण हुन सकेको छैन । भारतीयले त्रिभुवन चोक, धम्बोझी चोक, वागेश्वरी मन्दिर क्षेत्रका सडकमा फूलको माला राखेर बिक्री गर्दै आएका छन् ।

प्रकाशित : कार्तिक ९, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?