बालुवाको पहाडमा फस्टाउँदो तरकारी खेती

घनश्याम खड्का

म्याग्दी — कुनै जमाना थियो, उपल्लो भेगका मुस्ताङी जाडो छल्न बेंसी झरेका बेला मात्र काउली, बन्दा, टमाटर, काँक्राजस्ता तरकारी देख्न र खान पाउँथे । जाडो सकिएपछि खाद्यान्नसँगै १५-२० दिनको बाटोमा तरकारी बोकेरै लैजान्थे । 

बालुवाको पहाडमा फस्टाउँदो तरकारी खेती

यतिबेला भने अवस्था फेरिएको छ । मौसम र तापक्रमको सन्तुलन मिलाएर गरिने (हरित गृह) खेती प्रणाली उपल्लो मुस्ताङमा भित्रिएपछि स्थानीयको भान्सा फेरिएको छ । आलुबाहेक अन्य तरकारी नहुने लोमन्थाङ र वरपरका बस्तीमा यतिबेला प्लास्टिको घरभित्र गरिने तरकारी खेती प्रभावकारी बनेको छ । छाया वृष्टि हुने सुख्खा तर चिसो हावापानी भएको बालुवाले ढाकेका फुस्रा पहाडका बीचमा पनि तरकारी फल्दा स्थानीय दंग छन् ।


हावापानी तथा वातावरणीय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकूल बनाउने प्लास्टिको घर प्रतिकूल मौसम (चिसो हावापानी) भएका मुस्ताङको उपल्लो क्षेत्रमा प्रभावकारी बनेको हो । प्लास्टिक घरमा जलवायु अनुकूलन बनाई तरकारी खेती सुरु गरिएपछि परम्परागत खेती प्रणालीमा उथलपुथल भएको छ ।


बेंसीका बस्तीमा मात्र देखेका काउली, ब्रोकाउली, बन्दा, टमाटर, काँक्रो, मुला, जुकेनी, गाजर आदि तरकारी हिजोआज वर्षको अधिकांश महिना हिउँले छोप्ने बालुवाका पहाडमा लटरम्म फलेका छन् । ‘प्लास्टिक घरमा तरकारी खेती वरदानै भएको छ । हाम्रो दैनिक भान्साको परिकार नै फेरिएको छ,’ लोमन्थाङका ६६ वर्षीय फेङ्दो गुरुङले भने, ‘आफ्नै बारीमा यस्ता हरिया तरकारी फल्ला र खाउँला भन्ने सपना पनि देखेको थिइनँ । आज छक्क परेको छु ।’


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), साविकको कृषि विकास कार्यालयले ६ वर्षअघि उपल्लो मुस्ताङमा प्लास्टिक टनेल भित्र्याएको हो । प्लास्टिक घरमा तरकारी खेती गर्न थालेको ३ वर्षमै उपल्लो भेगका चराङ, घमी, लोमन्थाङ, छोसेरमा उत्पादन भएका तरकारी स्थानीयको भान्सामा मात्र होइन पर्यटकको जिब्रोमा पनि पुग्न थालेको छ । यी गाउँमा यतिबेला प्लास्टिकका टनेलभित्र लोभलाग्दो गरी लटरम्म टमाटरसमेतको तरकारी फस्टाएको छ । प्लास्टिक घर बनाउन गाउँपालिका र एक्यापले अनुदान दिने गरेका छन् ।


मोटर बाटोसँगै तरकारी खेतीले स्थानीयको दैनिक जीवनमा परिवर्तन आउन थालेको छ । उपल्लो मुस्ताङका हरेक बस्तीका कृषकले प्लास्टिक घरमा तरकारी खेती गर्छन् । जलवायु परिवर्तनले तापक्रम बढेपछि उपल्लो मुस्ताङका बारीमा रायो र मुलाको खेती हुन थालेको छ ।

प्रकाशित : कार्तिक ९, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?