कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फौजी कीराले १७ करोडको क्षति

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा एक सातादेखि धान बालीमा देखिएको फौजी किराको प्रकोप नियन्त्रण बाहिर गएको कृषि प्राविधिकले बताएका छन् ।
दुधौली, कमलामाई नगरपालिका र मरिण गाउँपालिकामा फौजी किराको प्रकोप बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

फौजी कीराले १७ करोडको क्षति

फौजी किराले अहिलेसम्म करिब चार हजार हेक्टरमा लगाएको धान बाली नोक्सान गरेको ज्ञान केन्द्रका बागबानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘स्थानीय तहका कृषि प्राविधिकसँग क्षेतीको विवरण मागी तथ्यांक निकालेका हौं,’ उनले भने, ‘१७ करोड रुपैयाँ बराबरको धानबालीमा फौजी किराले क्षति पुर्‍याएको छ । फौजी किराको प्रकोप अझै रोकिएको छैन, थप कति नोक्सान गर्ने हो ।’ किसानलाई फौजी किराको प्रकोप नियन्त्रण गर्न तत्काल कृषि प्राविधिकसँग सल्लाह गरेर विषादी प्रयोग गर्न सुझाएको उनले बताए ।


धान भित्र्याउने समय हुन लाग्दा फौजी किराले बाला सखाप पारेकाले किसान चिन्तित बनेका छन् । एक, दुई वटा बाला काटेको देख्ने बित्तिकै धान पाकेको भए काटी हाल्न र किरा नभएको ठाँउमा पनि धान पाकेको भए काट्न किसानलाई सल्लाह दिएको उनको भनाइ थियो । दुधौली नगरपालिकाका किसान अम्बराज खत्रीका अनुसार फौजी किराले फेंदमा काट्ने र धानको बाललाई समेत छोडेको छैन । उनको १२ कट्ठामा लगाएको धानबाली फौजी किराले पूरै नष्ट पारेको छ ।


कालो र सेतो रङमा रहेको फौजी किराले पहिला जरा काटेर धानको बोट लडाउने र रातको समयमा छ्यापछ्प्ती भई बालासमेत काट्ने गरेको छ । कमलामाई नगरपालिकाले पनि एक साताअघि तीन वटा वडामा देखिएको फौजी किराको प्रकोप अहिले बढेर १२ वडामा पुगेको जनाएको छ । ‘१४ वटा वडामध्ये वडा नं. ३ र १२ मा मात्रै फोजी किराको प्रकोप अहिले देखिएको छैन,’ नगरपालिकाका कृषि शाखा प्रमुख देवीप्रसाद सापकोटाले भने, ‘तत्काल किराको रोकथाम र नियन्त्रण गर्न नगरपालिकाले चार लाख रुपैयाँको विषादी खरिद गरी किसानलाई नि:शुल्क वितरण गरेको छ । तर, नियन्त्रण हुन सकिरहेको छैन ।’


नार्कका वैज्ञानिकले पनि धान बालीमा फौजी किराको प्रकोप नियन्त्रण बाहिर गएको बताएका उनले सुनाए । ‘तत्काल रोकथाम गर्न विषादी प्रयोग गर्दा अपनाउनुपर्ने तरिका र परामर्श किसानलाई दिँदै आएका छौं,’ उनले भने, ‘कतिपय किसानले कृषि प्राविधिकसँग सल्लाह नगरी आफूखुसी एग्रोभेटमा विषादी खरिद गरी प्रयोग गर्दै आएका पनि छन् ।


यसले भोलि समस्या जन्मिने पनि खतरा देखिएको छ ।’ कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यो वर्ष वर्षे धान र हाइब्रिड गरी झन्डै १५ हजार हेक्टरमा धान खेती गरिएको छ ।

प्रकाशित : कार्तिक ९, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?