कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फौजी किरा नियन्त्रण गर्न रेस्पोन्स टिम

प्रदीप मेन्याङ्बो

सुनसरी — प्रदेश १ का तराईका जिल्लाहरूमा फैलँदो रैथाने र अमेरिकन फौजी किरा नियन्त्रण गर्न फल आर्मी वर्म रेस्पोन्स टिम (एफएडब्लूआरटी) गठन गरिएको छ ।

भदौ पहिलो साता प्रदेश १ का पहाडी जिल्लामा लगाइएको मकैबालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएको एक महिनापछि असोज तेस्रो सातादेखि सुनसरी, मोरङ, झापा, उदयपुरका विभिन्न ठाउँमा लगाइएका धानखेतीमा रैथाने फौजी किराको प्रकोप बढेकाले रेस्पोन्स टिम गठन गरिएको हो ।


लगाएको धानबाली नष्ट भएपछि प्रदेश १ का करिब ७ सय घरधुरी प्रभावित भएका छन् । पाक्न लागेको धानबालीमा फौजी किराको प्रकोप देखापरेपछि स्थानीय किसानहरू चिन्तित देखिएका छन् । फौजी किराको त्रासले कतिपय किसानले धान पाक्न दुई साता बाँकी रहँदै हरियो अवस्थामै काटेर थन्क्याउन थालेका छन् ।


असार-साउनमा रोपेको धानबाली पाकेर थन्क्याउनले बेलामा धानखेतीका लागि मुलुककै उर्वर जिल्लाहरूमा फौजी किराको प्रकोप बढेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विमलकुमार निर्मलको अध्यक्षतामा रेस्पोन्स टिम गठन गरिएको हो । प्रदेश १ का कृषि विकास निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाशकुमार डाँगीका अनुसार फौजी किराको प्रकोप नियन्त्रण गर्न बुधबार झापा, मोरङ सुनसरी, उदयपुर, धनकुटा र तेह्रथुमका स्थानीय तहका ४७ जना कृषि प्राविधिकहरूलाई सामूहिक प्रशिक्षणसमेत दिइएको छ ।


कात्तिक पहिलो साता मात्र अमेरिकन फौजी किराले झापाको ११ स्थानीय तहका २ सय ८३ हेक्टरमा लगाएको धानबाली नस्ट गरिदिएको छ । झापाको कन्काई नगरपालिकामा ४५ हेक्टर, कमल नगरपालिकामा २४ हेक्टर, बारदशी गाउपालिकामा २४ हेक्टर, अर्जुनधारा नगरपालिकामा २४ हेक्टर, कचनकवल गाउँपालिकामा ३० हेक्टर, गौरीगजन्ज गाउँपालिकामा ४९ हेक्टर, शिवसताक्षी नगरपालिकामा १९ हेक्टर, झापा नगरपालिकामा १५ हेक्टर, गौरादह नगरपालिकामा ८० हेक्टर, हल्दिबारी नगरपालिकामा १०२ हेक्टर र भद्रपुर नगरपालिकामा १० हेक्टर धानखेतीमा रैथाने फौजी किराको प्रकोप देखिएको छ । फौजी किराले झापा मात्र ४ सय २२ घरधुरी प्रभावित भएका छन् ।


बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठले सुनसरीमा धरान उपमहानगरपालिका र बराह क्षेत्र नगरपालिकामा ६५ घरधुरीका ७७ हेक्टर धानबालीमा फौजी किराको प्रकोप देखिएको बताइन् । उदयपुरको चौदण्डीगढी नगरपालिकामा १५ हेक्टर, त्रियुगा नगरपालिकामा १०६ हेक्टर, बेलका नगरपालिकामा २० हेक्टर गरी १४१ हेक्टरमा फौजी किराले धानबाली नष्ट पारेको श्रेष्ठले बताइन् । सबैभन्दा कम मोरङको सुनवर्षी नगरपालिकामा १२ हेक्टरमा फौजी किराको प्रकोप देखिएको पनि उनले बताइन् ।


उनले भनिन्, ‘धानबालीमा रैथाने फौजी किरा देखिएको छ भने यसअघि भदौमा प्रदेश १ का पहाडी भेगमा लगाइएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको देखिएको थियो ।’ उनका अनुसार ओखलढुंगामा ५ सय हेक्टर, भोजपुरमा २ सय ८९ हेक्टर, उदयपुरमा २२ हेक्टर, पाँचथरमा १ हजार ३ सय ४५ हेक्टर, खोटाङमा २ सय २२ हेक्टर, धनकुटामा १ सय ८१ हेक्टर, तेह्रथुमम १ सय ४८ हेक्टर गरी २ हजार ७ सय १० हेक्टर मकैबाली अमेरिकन फौजी किराले नष्ट बनाएको थियो ।


श्रेष्ठले भनिन्, ‘धानबालीमा फौजी किरा नियन्त्रण गर्ने प्रयास भइरहेको छ । स्थानीय तहका कृषि प्राविधिकहरूलाई फौजी किराको पहिचान गर्ने तरिका, नियन्त्रण र व्यवस्थापन तालिम दिएर कृषि विकास निर्देशनालय बाली संरक्षण प्रयोगशाला र कृषि ज्ञान केन्द, केही स्थानीय तहमा रहेका कृषि विकास इकाईहरूबाट नि:शुल्क रूपमा विषादी वितरण गरिरहेका छौं ।’


कृषि विकास निर्देशनालयले रैथाने र अमेरिकन फौजी किरा नियन्त्रण गर्न चुनौती बन्दै गएको जनाएको छ । किसान, कृषि प्राविधिकहरू खेती बाली लगाउने बेलामा र लगाइसकेपछि चनाखो हुनुपर्ने भएको छ । नियन्त्रण गर्न नसके अन्न बाली सखाप भएर भोकमरी, महँगी र अभाव सिर्जना हुन सक्ने भएकाले चिन्ता थपिएको बाली संरक्षण अधिकृत श्रेष्ठले बताइन् । उनले भनिन्, ‘कृषकहरू आफ्नो बालीप्रति आफैं सचेत हुनसक्दा रैथाने र अमेकन फौजी किरा नियन्त्रण गर्न सहज हुन्छ ।’

प्रकाशित : कार्तिक ९, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?