कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

३ महिनामा ६ लाखले लिए प्यान

नुमा थाम्सुहाङ

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ लाख १९ हजार ५ सय ७० व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । सरकारले बजेटमार्फत ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ नीति लिएसँगै व्यक्तिगत प्यानमा दर्ता हुनेको संख्या वृद्धि भएको हो । 

३ महिनामा ६ लाखले लिए प्यान

एक हजार रुपैयाँभन्दा बढी रकमको कारोबार गर्ने र रोजगार गर्ने व्यक्तिका लागि प्यान अनिवार्य गरिएको छ । व्यक्तिगत प्यान लिएपछि कर तिरेको रकम सोझै व्यक्तिको नम्बरमा दर्ता हुन आउँछ । कर तिरेको रकम सजिलै थाहा पाउन सकिन्छ ।


आन्तरिक राजस्व विभागका सूचना अधिकारी दुर्गादत्त अधिकारीका अनुसार हालसम्म करिब १७ लाखले व्यक्तिगत प्यान लिएका छन् भने १२ लाखले व्यावसायिक प्यान लिएका छन् ।


व्यावसायिक प्यानको विषयमा भने व्यवसाय गर्नेले प्यानमा रहेर अनिवार्य रूपमा कारोबार गर्नुपर्ने नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधार बताउँछन् । ‘हामीले प्यानको विरोध गरेका थिएनौं, व्यवसाय गर्नेहरूले प्यान लिएर कारोबार गर्नुपर्छ,’ उनले भने, ‘त्यसले सरकारलाई कर तिर्नुपर्छ । हाम्रो समस्या भनेको ठूला डिलरबाट प्यानमा कारोबार गर्दा सही बिलबिजक दिँदैनन् ।’ यसमा अनुगमन हुनुपर्छ । सही बिलबिजक नदिँदा व्यवसाय गर्न समस्या भएको उनले बताए । यस विषयमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ भन्छन्, ‘यहाँ एक अर्कालाई लाञ्छना लगाउने काम भइरहेको छ । आयातकर्ताले खुद्रा व्यापारीले बिल लिँदैन भन्छन् । अर्कातिर खुद्रा व्यापारी सही बिल नदिने भन्छन् । दुवै पक्षले बिलमा रहेर कारोबार गर्नुपर्छ ।’


बिलमा रकम धेरै भयो भने करले समात्छ भनेर बिल नलिने गरेको पाएको उनले बताए ।


‘प्यान नीति सही हो तर अहिले सबैसँग नागरिकता नभएको देशमा कसरी सबैसँग प्यान हुन्छ,’ उनले भने, ‘नीतिले काम गर्ने व्यक्तिलाई प्यान अनिवार्य भनेको छ । तर, भारतबाट ल्याइएका सिजनल काम गर्ने कामदारसँग प्यान हुँदैन । त्यसका लागि कामै रोक्न त भएन ?’ प्यानको दर बढाउन आवश्यक रहेको उनको तर्क छ ।


आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदकुमार कुँवरले प्यानमा कुनै समस्या नभएको बताए । ‘हामीले व्यवसायीहरूले सही बिलबिजक जारी गरेका छन् कि छैनन् भनेर समयसमयमा अनुगमन पनि गर्ने गरेका छौं,’ उनले भने, ‘व्यवसायीले गर्ने हरेक कारोबारको लेखा राख्नुपर्छ । यदि त्यस्तो पाइएन भने हामीले कारबाही पनि गर्ने गरेका छौं ।’


प्रकाशित : कार्तिक ८, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?