कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिब्बती बजारमा नेपाली भाँडाकुँडा

आनन्द गौतम

(डिङजे, तिब्बत) — संखुवासभा सदरमुकाम खाँदबारीकी कमला शेर्पा तीन दिन हिँडेर तिब्बतको डिङजे काउन्टीको घुम्तीमा बजार पुगिन् । पहिलोपटक गएकी उनले नेपालमा बन्ने सिल्भरका भाँडाकुँडा बिक्रीका लागि लगेकी थिइन् ।

तिब्बती बजारमा नेपाली भाँडाकुँडा

दुईजनालाई बोकाएर लगेको सामानले तीन दिन मात्रै थाम्यो र चौथो दिन फर्किइन् । सिल्भरे फ्वासिङ, भाँडा, डाडु, पन्युदेखि प्रेसर कुकरसम्म उनले लगेकी थिइन् । काठको तोङवाको भाँडा, बटुकालगायत सामग्री पनि थिए ।


ताप्लेजुङ ओलाङचुङगोलामा टासी भोटेले पनि भाँडा बिक्रीमा राखे । कमलाले भान्सामा प्रयोग हुने सामान बिक्रीका लागि लगेकी थिइन् भने टासीले सजाउने र पूजाकोठामा प्रयोग गर्ने सामान । यसबाहेक काँसको थाल, बटुका पनि बिक्रीमा राखिएका थिए । पूजाआजामा बत्ती बाल्नेलगायतका सामग्री पनि बिक्री भयो ।


कमला र टासीजस्ता सीमावर्ती क्षेत्रका धेरै नेपालीहरू व्यापार लिएर त्यहाँ पुगेका हुन् । कतिपयले कोठा लिएर व्यवस्थित ढंगले व्यापार गरे भने कतिपयले सडकपेटीमा भुइँमै बसेर व्यापार गरे । घुम्तीमा बजार उद्घाटन तथा शेर्पा महोत्सवमा आएका नेपाली व्यापारीलाई यहाँको प्रशासनले बस्ने व्यवस्था मिलाइदिएको थियो । सडकमा बसेर पसल गर्नेहरूलाई तीन र व्यापार केन्द्रको घरमा बसेकालाई पाँच सय रुपैयाँ कादरले पुरस्कृत गरिएको डिङजे काउन्टीका प्रमुख कुङ्गाले बताए ।


नेपाली व्यापारीलाई यहाँको प्रशासनले सिमानासम्म गाडीमा ल्याउने र पुर्‍याइदिने व्यवस्था पनि मिलाएको थियो । नेपालमा बनाइएका भाँडा यहाँका बासिन्दाले भान्सा कोठामा र चौरीलाई खोले दिनका लागि प्रयोग गर्छन् । स्थानीय डोल्मा शेर्पाले धेरै सामग्री पशु चौपायालाई खोले दिनका लागि सजिलो हुने भएकाले त्यसैका लागि प्रयोग गर्ने बताइन् । नेपालको किमाथांकासम्म आएकी उनले नेपालमा जस्तै दिउँसो खाजा बनाउन पनि नेपाली भाँडा सजिलो हुने सुनाइन् ।


लामो समयसम्म टिक्ने भएकाले पनि यहाँका बासिन्दा यस्ता भाँडा किन्न लालायित हुने गरेको कमलाले सुनाइन् । संखुवासभा बजारमा होलसेलमा किनेको मूल्य, ढुवानी भाडा, आफ्नो पारिश्रमिक जोडेर बिक्री गरेको उनले सुनाइन् ।


नेपालमा परेको मूल्यको तुलनामा यहाँको बजारमा दोब्बर मूल्यमा बिक्री गर्न सकिन्छ । नेपाली १६ रुपैयाको यहाँ एक रुपैयाँ मात्रै हुने भएकाले उनीहरूले सामान महँगो भएको अनुभूति नगर्ने बिक्रेताहरू बताउँछन् । युआन ५० देखि १ सय रुपैयाँसम्ममा नेपालबाट लगिएको एउटा भाँडा बिक्री गरेको व्यापारीहरूले बताए । चीनको जस्तै नेपाली सामानको पनि निश्चित दर निर्धारण गर्न काउन्टी प्रमुख कुङ्लाले अनुरोध गरेका थिए । नेपालका एउटै सामानको मूल्य पसलअनुसार फरकफरक परेकाले मूल्य समायोजन गर्न आग्रह गरेका हुन् ।


यस्ता समान सदरमुकामको तुलनामा गाउँबाट महोत्सव हेर्न आएकाहरूले अधिक खरिद गरेका थिए । ताप्लेजुङको तुलनामा संखुवासभाबाट धेरै व्यापारी पुगेका छन् । तिब्बतसँग ताप्लेजुङको ओलाङचुङगोला र संखुवासभाको किमाथांका नाका जोडिएको छ ।






प्रकाशित : कार्तिक ८, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?