कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मूर्तिमा भन्सार लगाउन माग

माधव ढुंगाना

(भैरहवा) — गत घटस्थापना र त्यसको अघिल्लो दिन यहाँस्थित सुनौली नाका हुँदै दुर्गाका मूर्ति भित्र्याउनेको सीमा क्षेत्रमा ताँती थियो । पूजाका लागि भारतबाट मूर्ति आयात गर्दा नाकामा दुई दिनसम्म जाम लागेको थियो । अहिले लक्ष्मी पूजाका लागि मूर्ति भित्र्याउने बढेका छन् । दिनहुँ गाडीमा मूर्ति राखेर आइरहेका भेटिन्छन् । प्रत्येक वर्ष दसैंदेखि श्रीपञ्चमीसम्म यसरी माटोका मूर्ति भित्र्याउने गरिन्छ । 

भारतको नौतनवा र आसपास क्षेत्रबाट माटोका कति मूर्ति भित्र्याउने गरिन्छ, त्यसको भैरहवा भन्सारसँग कुनै तथ्यांक छैन । अन्य सरकारी निकायले पनि यसको लेखाजोखा राख्ने गरेको पाइँदैन । मूर्ति खरिदका लागि बर्सेनि करोडौं रुपैयाँ मुलुक बाहिरिने गरेको छ । त्यसबाट एक रुपैयाँ पनि राजस्व आम्दानी देखिएको छैन । ‘परम्परा र संस्कृतिका नाममा पूजाआजाका लागि यस्ता मूर्ति ल्याइँदा भन्सार लिने गरिएको छैन,’ भैरहवा भन्सार प्रमुख कमलकुमार भट्टराईले भने, ‘अहिलेसम्म मूर्ति आयातमा भन्सार लगाएको रेकर्ड छैन ।’ ढुंगा, धातु, मार्बल, सेरामिकबाट निर्मित मूर्तिमा भन्सार लाग्ने गरेको उनले जनाए । धार्मिक परम्परा र वर्षौंदेखिको चलनलाई झ्याप्पै रोक्न समस्या हुने भएकाले यसबारेमा कानुनमै उल्लेख गरेर कार्यान्वयन गरिनुपर्ने उनले बताए ।


चाडपर्वका बेला श्रद्धालुको समूहले जयजयकार गर्दै ट्र्याक्टरमा मूर्ति राखेर भित्र्याउने गर्छन् । नाका क्षेत्रका सुरक्षाकर्मीका अनुसार यसपालि दसैंमा कम्तीमा पनि ५ सय मूर्ति भित्रिएका थिए । यही अनुपातमा तिहार र श्रीपञ्चमीका बेला पनि भित्रिने स्थानीयको भनाइ छ । सम्मरीमाई गाउँपालिका–६, बनरहवाका गोबरी केवट मूर्ति बनाएरै ६ जनाको परिवारको गुजारा चलाइरहेका छन् । केवट परिवारले १५ वर्षदेखि मूर्ति बनाइरहेको छ । मूर्ति बनाउन यो परिवार भैरहवा–लुम्बिनी सडक खण्डको बनगाई चोकमा कोठा भाडामा लिएर बसिरहेको छ ।


‘पहिला मूर्ति बनाएर नभ्याउँदै बिक्री हुने गर्थ्यो,’ केवटले भने, ‘अहिले बिनाभन्सार भारतबाट आउन थालेपछि नेपालमा बनाइएका मूर्ति बिक्री गर्न समस्या छ ।’ भारतीय मूर्तिले सहजै बजार पाउन थालेपछि आफूजस्ता मूर्तिकार संकटमा पर्न थालेको उनले बताए । उनका अनुसार पहिला सीमावर्ती नेपाली सबै गाउँमा माटोको मूर्ति बनाइन्थे । अहिले यो पेसा विस्थापित हुँदै जान थालेपछि खुम्चेर केही गाउँ र स्थानमा मात्रै सीमित हुन पुगेको छ । स्थानीय मूर्तिकारका अनुसार भारतमा १५ हजार पर्ने मूर्ति नेपालमा १० हजार रुपैयाँमा बिक्री गर्नु परेको छ । ग्राहकले थोरै मूल्यमा दिए मात्र खरिद गर्ने बताउँछन् । नत्र भारत जाने धम्की दिन्छन् ।


‘हामी मूर्ति बनाउँछौं तर यताका ग्राहक भारतको नौतनवासम्म पुगेर किन्छन्,’ मायादेवी गाउँपालिका–७, गरगट्टीका सूर्यबहादुर विकले भने, ‘भारतमा बनेका मूर्ति नेपाल ल्याउँदा भन्सार लाग्ने नियम बनाएमा व्यवसाय फस्टाउने थियो ।’ नेपालमा गिलो माटो र परालबाहेक मूर्ति बनाउनमा प्रयोग हुने डोरी, काँटी, रंग, कपडालगायत शृंगारका सामग्री भारतबाट भन्सार तिरेर ल्याउनुपर्छ । त्यसले गर्दा मूल्यमा भारतीय मूर्तिसँग प्रतिस्पर्धा गर्न नसकिने उनले बताए । ‘भन्सार लाग्ने नियम लागू गरियोस्, हामी प्रतिस्पर्धा गर्न तयार छौं,’ स्नातक उत्तीर्ण भएपछि मूर्ति बनाउन थालेका विकले भने, ‘भन्सार नलगाइँदा यताको व्यवसाय संकटमा पर्न थाल्यो । स्वदेशी रकम विदेश पलायन हुन थाल्यो ।’


प्रकाशित : कार्तिक ८, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?