कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्यो बत्तीको व्यापार

नुमा थाम्सुहाङ

काठमाडौँ — सर्वसाधारणले तिहारमा घर, पसल उज्यालो बनाउन माटाका दिया, मैन तथा ‘इलेक्ट्रोनिक्स लाइट’ किन्न सुरु गरेका छन् । सादा र बुट्टा भरिएका माटाका दिया र झिलिमिली पार्ने ‘इलेक्ट्रोनिक्स लाइट’ किन्ने ग्राहकका कारण असनका पसलहरूमा भीड हुन थालेको छ । तिहारमा अन्य समयमा भन्दा दिया तथा इलेक्ट्रोनिक्स लाइटको व्यावसायिक कारोबार राम्रो हुने व्यापारीहरूको भनाइ छ ।

बढ्यो बत्तीको व्यापार

घर झिलिमिली पार्न नयाँ वानेश्वरका वीरेन्द्र श्रेष्ठले असनको गल्लीको एक पसलमा एलईडी कनेक्ट लाइट किनेर फर्किए । एउटाबाट अर्कोमा जोडेर बाल्न सजिलो र मल्टिप्लगको आवश्यकता नभएकाले एलईडी कनेक्ट लाइट किनेको उनले बताए । ‘बाल्नलाई र एकबाट अर्कोमा जोड्न सजिलो छ,’ उनले भने, ‘घरमा बच्चाहरूलाई रमाइलो लाग्ने र पिलपिल बलिरहन्छ ।’ ७ सय रुपैयाँको एलईडी कनेक्ट लाइट किनेको उनले सुनाए ।


असन गल्लीमा ४ वर्षदेखि एस गिफ्ट सप चलाउँदै आएका सरोज सापकोटाका अनुसार लेजर, डिस्को, फलिङ, पाइप, रोलिङ र एलईडी लाइट बजारमा उपलब्ध छन् । यीमध्ये एलईडी लाइट बढी रुचाउने उनी बताउँछन् । ‘तिहारमा ग्राहकले झिलिमिली बल्ने लाइट बढी खोज्छन्, त्यसमा पनि एलईडी लाइट राम्रो छ,’ उनले भने, ‘यसले कम भोल्ट पनि लिने भएकाले मानिसको रोजाइमा परेको हो ।’ यी लाइटहरू कम्तीमा पनि ३ वर्षसम्म टिक्ने उनी सुनाउँछन् ।


उनको पसलमा ५० रुपैयाँदेखि १३ सय रुपैयाँसम्मका लाइटहरू राखिएका छन् । चिनियाँ र भारतीय लाइट बजारमा पाइने उनले बताए । तिहारका लागि २ लाख रुपैयाँका लाइट पसलमा ल्याएको उनले सुनाए । दिनमा २५ हजार रुपैयाँको कारोबार गरिरहेका छन् ।


तिहारको समयमा घरलाई झिलिमिलीलाई पार्न बजारमा आएको नयाँ इलेक्ट्रोनिक्स लाइट प्रयोग गरिए पनि माटाका दिया पनि बालिन्छ । माटे दियो किन्नेको भीड पनि उस्तै छ । सादा र बुट्टासहितका माटे दिया बेच्न राखिएको छ ।


भोटाहिटीकी रीता श्रेष्ठले मखनबाट लक्ष्मी पूजाका लागि दुई दर्जन माटे दिया किनिन् । घरमा बत्ती भए पनि दियो बाल्दा भगवान् खुसी हुने विश्वासमा दियो किनेको उनी सुनाउँछिन् । ‘अरू बालिने बत्तीको भन्दा दियोको उज्यालो नै बेग्लै हुन्छ,’ उनले भनिन्, ‘अरू समयमा बालिँदैन, तिहारको समयमा उज्यालो घर देख्न नै रमाइलो लाग्छ ।’


रौतहटका मोहम्मद हुसैनले मखनमा तिहारको समयमा १५ वर्षदेखि माटे दियो बेच्दै आएका छन् । भारतको कोलकाता र आफ्नै गाउँ रौतहटबाट आउने माटे दियो बेच्ने गरेको उनले बताए ।


‘भारतबाट आयातित यस्ता दियामा बुट्टा हुन्छ, ५० कार्टुन दियो ल्याएको छु,’ उनले भने, ‘एक कार्टुनमा ४ सय पिस हुन्छ ।’ रौतहटबाट एक ट्रक माटे दियो ल्याएको उनले बताए । एक ट्रकमा एक लाख दिया रहेको उनी सुनाउँछन् ।


अरू समयको भन्दा तिहारको समयमा माटाका दिया बढी बिक्री हुने उनको अनुभव छ । दिनमा १० हजार बराबरका दियाको व्यापार गरिरहेका उनले छठसम्ममा सबै बिक्ने बताए । बुट्टा भरिएका दियाको प्रतिदर्जन ४० रुपैयाँ र साधारण दियाको प्रतिदर्जन ३५ रुपैयाँका दरले बिक्री गरिहेका उनको भनाइ छ ।


तिहारमा घर, पसल झिलिमिली बनाउन दियो तथा इलेक्ट्रोनिक्स लाइट मात्र नभई मैन पनि बाल्ने गरिन्छ ।


सोह्रखुट्टेकी रिना श्रेष्ठले तिहारकै लागि मैन बत्ती किनिन् । तिहारकै लागि नभए पनि अरू बेला पनि मैन बाल्न सकिने उनले बताइन् ।


बारा, कलैयाका अम्जद खान पैठानले असनमा १९ वर्षदेखि मैन बत्ती बेच्दै आएका छन् । इलेक्ट्रोनिक्स लाइट र दियो मात्र नभई मानिसहरूलाई मैन बत्ती पनि चाहिने भएकाले मैनको बत्ती बेच्दै आएको उनले बताए ।

प्रकाशित : कार्तिक ७, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?