कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

अर्थतन्त्र बचतमा, रेमिट्यान्स वृद्धिदर ऋणात्मक 

गत वर्ष यसै अवधिमा शोधनान्तर स्थिति २५ अर्ब ४५ करोडले घाटामा थियो 
कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिनामा अर्थतन्त्र बचतमा छ । अघिल्लो वर्ष सबै महिना घाटामा रहेको शोधनान्तर स्थिति गत असार र साउनमा बचतमा छ । मुलुकबाट बाहिरिने र भित्रिने मुद्रा (रकम) बीचको अन्तर देखाउने शोधनान्तर (भुक्तानी सन्तुलन) ८ अर्ब ८३ करोड रुपैयाँले बचतमा छ । 

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २५ अर्ब ४५ करोडले घाटामा थियो । भदौको शोधनान्तर बचत असारको भन्दा बढी हो । असारमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँले बचतमा थियो । चालु आर्थिक वर्षको सुरुसँगै आयात वृद्धिदर घटेको, प्रत्यक्ष विदेशी लगानी बढेको, निर्यात वृद्धिदर सुधारिएकोलगायत कारण शोधनान्तरमा सुधार देखिएको हो ।


‘अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दुई महिनासम्ममा २३ करोड ९ लाखले घाटामा रहेकामा गत भदौमा ७ करोड ८५ लाखले बचतमा रहेको छ,’ राष्ट्र बैंकको भदौ महिनाको आर्थिक तथा वित्तीय स्थितिमा भनिएको छ । गत भदौमा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब २३ करोड रुपैयाँ थियो ।


शोधनान्तरमा सुधार देखिए पनि चालु खाता अझै घाटामै रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत भदौमा चालु खाता घाटा २१ अर्ब ७९ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३५ अर्ब १६ करोड रुपैयाँ थियो ।


विदेशी विनिमय सञ्चिति बढ्यो

गत भदौमा १० खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो सञ्चिति १० खर्ब ३८ अर्ब रुपैयाँ थियो । ‘अमेरिकी डलरमा भने यस्तो सञ्चिति ०७६ असारमा ९ अर्ब ५० करोड रहेकामा गत भदौमा ९ अर्ब ४४ करोड कायम भएको छ,’ प्रतिवेदनमा भनिएको छ ।


विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ९ खर्ब ३२ अर्ब ६० करोड छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत छ । गत साउन र भदौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।


रेमिट्यान्स वृद्धिदर ऋणात्मक

गत साउन र भदौमा कुल १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियो । गत वर्षको सोही अवधिको तुलनामा नेपाल आएको रेमिट्यान्स थोरै हो । ०७५ भदौमा १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको थियो । करिब डेढ वर्षपछि रेमिट्यान्स आप्रवाह ऋणात्मक बनेको हो । गत वर्षका बाह्रै महिना रेमिट्यान्स वृद्धिदर उच्च थियो ।


गत आर्थिक वर्षका सुरुका महिनामा रेमिट्यान्स आप्रवाह वृद्धिदर करिब ३८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको वृद्धिदर गत असारमा साढे १६ प्रतिशतमा झरेको थियो । यो आर्थिक वर्ष सुरु भएसँगै रेमिट्यान्स आप्रवाह दर ह्वात्तै घट्यो । जसअनुसार गत साउनका रेमिट्यान्स वृद्धिदर २ प्रतिशतमा झर्‍यो । भदौमा आउँदा यस्तो वृद्धिदर ०.३ प्रतिशतले ऋणात्मक छ ।


यो अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या पनि घटेको छ । तर, अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा गत भदौमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२ प्रतिशतले मात्र बढेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९ प्रतिशतले घटेको थियो । पुन: श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो ।


बजार भाउ ६.१६ प्रतिशत

गत भदौमा उपभोग्य वस्तुको मूल्य वृद्धिदर ६.१६ प्रतिशत छ । यो राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि लक्षित गरेको ६ प्रतिशतको सीमाभन्दा माथि हो । तर, असारको मूल्य वृद्धिभन्दा भने कम हो । गत असारमा यस्तो मूल्य वृद्धिदर ६.९५ प्रतिशत थियो । सो अवधिमा तरकारी, फलफूल, मासु तथा माछा, मसला, लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवाको मूल्य उच्च भएको छ ।


भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.८९ प्रतिशत छ । ‘खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यत: तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च छ,’ प्रतिवेदनमा भनिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गैरखाद्य तथा सेवा समूहअन्तर्गत मुख्यत: लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च छ ।’


क्षेत्रगत रूपमा काठमाडौं उपत्यकामा मूल्य वृद्धिदर सबैभन्दा धेरै छ । राष्ट्र बैंकका अनुसार गत भदौमा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ७.९० प्रतिशत, तराईमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ प्रतिशत र हिमालमा ५.०२ प्रतिशत छ । ०७५ भदौमा काठमाडौं उपत्यकामा २.९८ प्रतिशत, तराईमा ३.६८ प्रतिशत, पहाडमा ५.० प्रतिशत र हिमालमा ३.३५ प्रतिशत मूल्य वृद्धिदर रहेको थियो ।


प्रकाशित : कार्तिक ७, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?