२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्दै किसान

मोहन बुढाऐर, भवानी भट्ट

(धनगढी) र (कञ्चनपुर) — किसानले धान भित्र्याउन पाएका छैनन् । खाद्यान्न व्यापारी भने पैसाको मुठो बोकेर खेतमै पुग्न थालेका छन् । व्यापारीहरू अग्रिम मोल तय गरेर किसानलाई बैना रकमसमेत दिन थालेका छन् । समयमै मूल्य निर्धारण नहुँदा कञ्चनपुरका किसानहरू गत वर्षभन्दा पनि सस्तोमा धान बेच्न बाध्य छन् । 

घरायसी खर्चको आवश्यकताले मूल्य निर्धारण हुनुभन्दा पहिल्यै बैना रकम लिने गरेको कैलालीको भजनीका गंगा चौधरीले बताए । ‘धान काटिसकेकाहरूले आँगनबाटै व्यापारीलाई सस्तोमा धान बेच्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सरकारले ढिलो गरी मूल्य निर्धारण गर्छ, त्यस बेलासम्म किसानले धान बिक्री गरिसकेका हुन्छन् । यस वर्ष पनि धानको मूल्य निर्धारण गर्ने बेलासम्म धान रहँदैन होला ।’ ठूला किसानसंँग पनि कमै मात्रामा धान रहने गरेको उनले बताए ।


उनका अनुसार धानखेतको चिस्यानमै तोरी लगाउन मलखाद किन्न, मुखैमा आएको तिहारको खर्च र दसैं मनाउन लिएको ऋण तिर्न पैसाको आवश्यकता परेको हुन्छ ।


त्यस्तै भजनी नवलपुरका १२ बिघाका जमिनदार नाथुराम चौधरीेले सरकारले हरेक वर्ष समयमा मूल्य निर्धारण नगर्दा किसानले धानको उचित मूल्य नपाउने गरेको बताए । ‘व्यापारीले धान खरिद गरि सकेका हुन्छन्,’ नाथुरामले भने, ‘त्यसपछि सरकार (नेपाल खाद्य संस्थान) गाउँमा धान खरिद केन्द्र खोल्न सुरु गर्छ ।’ सरकारी निकायको व्यापारीसंँग हुने मिलेमतोको कारण किसानले मूल्य पाउन नसकेको उनी बताउँछन् ।


नेपाल खाद्य संस्थानले अन्तिम समयमा खरिद गर्ने भएकाले धान पनि लक्ष्यअनुसार खरिद हुन सक्दैन । पछि व्यापारीहरूबाट संस्थानले धान खरिद गर्ने गरेको छ । संस्थानले गत वर्ष ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । ढिलो गरी खरिद सुरु गर्दा २३ हजार क्विन्टल मात्र खरिद भएको थियो ।


पन्तले यस वर्ष पनि चाँडै खरिद गर्न केन्द्रमा पहल भइरहेको बताए । ‘केन्द्रको बोर्डले धानको मूल्य निर्धारण गरी खरिद गर्न लक्ष्यसहित निर्देशन दिनुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्रै संस्थानले गाउँघरमा खरिद केन्द्र खोलेर धान खरिद गर्न सुरु गर्छ ।’ संस्थानले धानको मूल्य निर्धारण गर्ने बेलामा व्यापारीले सय/पचास रुपैयाँ बढाउने भएकाले किसानसँग रहलपहल धानसमेत पाउन मुस्किल हुने कर्मचारीहरू बताउँछन् ।


‘कैलालीमा गत वर्ष व्यापारीले प्रतिक्विन्टल २ हजारमा धान खरिद गरिरहेको बेला २ हजार ३ सय १७ रुपैयाँ प्रतिक्विन्टल मोटो धानको मूल्य निर्धारण भयो,’ पन्तले भने, ‘व्यापारीले २४ सय पुर्‍याए । संस्थानले अन्तिम समयसम्म धान पाउन सकेन ।’


कञ्चनपुरमा गत वर्ष धानको मूल्य प्रतिक्विन्टल २ हजार ३ सय ३१ निर्धारण गरिएको थियो । ढिलागरी मूल्य निर्धारण भए पनि कृषकहरूले २ हजार बढीमा बिक्री गरेका थिए । यस वर्ष हालसम्म पनि मूल्य निर्धारण नहुँदा कृषकहरू त्यसभन्दा सस्तोमा धान बिक्री गरिरहेका हुन् । अहिले प्रतिक्विन्टल १ हजार ९ सयमा बिक्री भइरहेको कृषकहरू बताउँछन् ।


खाद्य व्यापारी हरिशंकर ठाकुरले किसानबाट यतिबेला मोटो धान प्रति क्विन्टल २ हजारमा खरिद गर्न सुरु भएको बताए । ‘गएको वर्ष पनि सुरुमा १९ सय ५० देखि धान खरिद सुरु भएको हो,’ उनले भने, ‘अन्तिम सयमसम्म किसानले २ हाजर ४ सय ५० सम्म मूल्य पाएका थिए ।’ यसपालि धानको उत्पादन कम भएकाले धानको खरिद मूल्य २६/२७ सयसम्म प्रतिक्विन्टल पुग्ने अनुमान उनले गरेका छन् ।


उनका अनुसार धान उत्पादनमा भएको कमीले यस वर्ष खरिद कम हुने अनुमान गरिएको छ । गएको वर्ष कैलालीमा १० लाख क्विन्टल धान खरिद भएको थियो । यस वर्ष बढीमा ७ लाख जति मात्रै खरिद हुने अनुमान गरिएको छ । पानी नपरेका कारण यस वर्ष धानको गुणस्तर पनि कम भएकाले प्रतिक्विन्टल धानमा २ प्रतिशतभन्दा बढी भुसा निस्कन सक्ने ठाकुर बताउँछन् । कञ्चनपुरमा गत वर्ष १० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य भए पनि ५ सय ९ क्विन्टल मात्रै खरिद भएको थियो । ‘यसपालि पनि १० हजार क्विन्टल खरिद गर्ने अख्तियारी आउन सक्छ,’ शाखा प्रमुख जोशीले भने, ‘ढिलो गरी आएमा पोहोर सालकै जस्तो हुनेछ ।’ संस्थाले कञ्चनपुरमा गहुँ खरिद गर्न तीन वर्षदेखि नै बन्द गरिसकेको छ ।


कैलालीमा यस वर्ष ७१ हजार हेक्टर जमिनमा धान खेती लगाइएको छ । समयमा पानी नपरेकोले उत्पादकत्व १५ देखि २० प्रतिशत कम भएको कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले बताएका छन् ।


किसान गंगारामले पनि प्रतिकट्ठा २ क्विन्टल फल्ने धान यसपालि १ क्विन्टल जति मात्रै उत्पादन भएको बताए । कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व ३ टन प्रतिहेक्टर रहेको छ । साना किसानहरू जोताइ र मलखादका लागि चाँडै धान बिक्री गर्दछन् ।


‘धान पनि कम फल्यो, उचित मूल्य पनि पाइँदैन,’ गंगाराम चौधरीले भने, ‘घरमा अन्य खर्च बढेको छ । किन्नुपर्ने वस्तु महँगिएको छ । कृषि पेसाबाट जीवन धान्न मुस्किल भइसक्यो ।’ कृषि जमिन बाँझो हुनुको कारण पनि यही भएको हो । सरकारले किसानलाई चाहिने बेलामा मलखाद, बीउबिजन, डिजेल तथा प्राविधिक सहयोग र उत्पादन भएको कृषि उपजको लागतअनुसारको उचित मूल्य समयमा निर्धारण गरी बजार दिन सके मात्रै कृषि पेसामा आश गर्न सकिने उनी बताउँछन् ।


कञ्चनपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साविकको खाद्य संस्थान) ले धान खरिद गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय नआएको जनाएको छ । केन्द्रबाट धान खरिद गर्ने अख्तियारी नआउँदा मूल्य निर्धारण पनि हुन नसकेको शाखा प्रमुख जयराज जोशीले बताए ।


प्रकाशित : कार्तिक ७, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?