कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

धानमा फौजी किरा : बाला बटुल्दै किसान

मधु शाही

(बाँके) — भुइँमा खसेको धानको बाला टिपेर बोरामा राख्छन् । धान काट्ने बेला उनी बाला बटुल्न बाध्य छन् । नेपालगन्ज उपमहानगरपालिका २० का रमेश नाउलाई धानको मूल्य सुनझैं परेको छ । फौजी किराले पाकेको धानका बाला काटेर भुइँभरि बनाएको देखेर उनी खिन्न छन् ।

‘किसानको किस्मत प्रकृतिमै अडेको छ,’ उनले भने, ‘एक हप्तामा पूरै खेत सखाप पारिदियो ।’ यसपालि फौजी किराको आक्रमणमा परेका किसान उनी मात्रै होइनन् । सबै छिमेकीको अवस्था देखेर उनी अझै दु:खी छन् । गाउँ भोकमरीमा पर्ने चिन्ता छाएको छ । ‘कसैको खेत बाँकी छैन,’ उनले भने, ‘किराले सखाप बनायो ।’


नाउले आठ वर्षदेखि खेती गरेरै १० जनाको परिवार पाल्दै आएका छन् । १५ कट्ठा साहुको जमिन बटैयामा खेती गरेका छन् । उनले पाउने भनेको उत्पादनको आधा हिस्सा मात्रै हो । विगतका वर्ष धान बेचेरसमेत घर खर्च चलाउन पुग्ने थियो । अहिले त्यो रहेन ।


फौजी किराले एक सातामा रातभरि सखाप पारेको धान देखेर परिवार चिन्तित छ । खेतमा कुचोले बढार्दै धानका बाला थुपार्दै छन् । रमेशकी पत्नी सवारालाई यस वर्ष छोराछोरीले भात खान नपाउने चिन्ताले सताएको छ । साथै साहुले अन्न खराब भएको विश्वास मानेनन् भने के बुझाउने भन्ने चिन्ताले उत्तिकै पिरोलेको छ । त्यसैले खेतमा माटैसित उठाएको धानका थुप्रा उनले सुरक्षित राखेकी छन् । ‘साहूलाई यही थुप्रो देखाउने हो,’ उनले भनिन्, ‘न खान मिल्छ, न फाल्न ।’


समयमै पानी परेको र मलजल पाएको हुँदा यसपालि धान राम्रै फलेको थियो । बीउ, मल, खेताला गरी २२ हजार रुपैयाँभन्दा बढी लगानी गरेका थिए । गत वर्षसम्म नाउको परिवारले वार्षिक २० क्विन्टलसम्म धान भित्र्याउने गरेको थियो । १० जनाको परिवारलाई उनले वर्षभरि यही धानको भरमा पाल्ने गर्थे । नेपालगन्ज–२० कै सन्तोष यादवले एक बिघा खेतमा धान लगाएका थिए । धान काट्न उनले २० जनाभन्दा बढी खेताला लगाएका छन् । किराले सखाप पारेको धानको रित्तो बोट काट्नलाई खेताला लगाएका हुन् ।

वार्षिक २५ देखि ३० क्विन्टल धान उत्पादन हुने उनको खेतमा यस वर्ष एक क्विन्टल पुर्‍याउनसमेत मुस्किल परेको छ । झन्डै ३० हजार रुपैयाँ बराबर लगानी गरेर खेती गरे पनि त्यसको प्रतिफल शून्य पाउँदा उनी दु:खी छन् । यति मात्रै होइन, २५ जनाको संयुक्त परिवारको पेट पाल्ने आधार यही धान थियो । गत वर्ष बेचेरसमेत खान पुगेको थियो । यसपालि बजारबाटै किनेर खानुपर्ने स्थिति आएको उनले बताए । ‘अहिलेसम्म बजारको चामल खानुपरेको थिएन,’ उनले भने, ‘यस वर्ष भकारी रित्तै छ । बेसाउनुबाहेक उपाय छैन ।’


खजुरा गाउँपालिका–४ की भवानी बर्माले धान व्यापार गरेर आयस्रोत जुटाउने गर्छिन् । तीन दाजुभाइको २० बिघा जमिनमा खेती गर्दै आएका उनीहरूले मिलेर धान बाँड्ने गर्छन् । परिवार कृषिमै आधारित छ । वर्षभरि खेती गरेर आय आर्जन जुटाउने परिवारलाई यसपालि हातमुख जोड्न मुस्किल परेको छ । ‘अन्नको एउटा गेडो छैन,’ उनले भनिन्, ‘अब मजदुरी नगरी भएन ।’ उनका पति जयश्री बर्माका अनुसार धान घरमा नहुँदा बाहिर रोजगार खोज्ने सोच बनाएको बताए । अटोरिक्सा मर्मत गर्ने सीप सिके पनि छोडेर खेती किसानीमै लागेका थिए । बाउबाजेको पालादेखि नै धानको अभाव भएको अनुभव उनले कहिल्यै गरेका थिएनन् । ‘बेच्न त परै जाओस्, घरमा चामल देख्न नपाइने भइयो,’ उनले भने ।


जानकी गाउँपालिका–६ का अजित हरिजनले धान बेचेर वार्षिक १५ लाख रुपैयाँ कमाउँछन् । घरमा खान पुग्ने भएकाले विदेश जान छाडेर उनी किसानी पेसामा सक्रिय थिए । २५ कट्ठा खेतमा धान लगाउँदा उनले लिएको एक लाख रुपैयाँ ऋण तिर्न बाँकी छ । त्यही धान बेचेर ब्याजसहितको केही सावा चुक्ता गर्नुपर्ने थियो । ३५ क्विन्टलसम्म धान उत्पादन हुने खेतमा किराले खाएपछि त्यसको पाँच प्रतिशत पनि उत्पादन नहुने उनले बताए ।


कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बचेको हरियो धानमा विषादी प्रयोग गर्न किसानलाई सचेत बनाएको बताए । यसका लागि आवश्यक विषादी वितरण गर्ने तयारी रहेको छ । उनका अनुसार फौजी किराबाट जोगिने उपाए भनेकै पहिलो किसानलाई सूचना दिनु हो । अर्को वर्षको बालीमा समयमै किसानलाई तालिम दिएर फौजी किराबाट जोगिने उपाय सिकाउने केन्द्रको योजना छ । जिल्लामा ३६ हजार ५ सय हेक्टर जमिनमा धान लगाइएको थियो । जसमध्ये झन्डै ४० प्रतिशत क्षेत्रफलमा फौजी किराले नष्ट गरेको केन्द्रका प्रमुख ढकालले बताए ।


प्रकाशित : कार्तिक ७, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?