दूधकोसी र तामाकोसी ५ मा लगानी गर्न अस्ट्रिया इच्छुक

कान्तिपुर संवाददाता

काठमाडौँ — ६३५ मेगावाटको दूधकोसी र १ सय मेगावाट जडित क्षमता भएको तामाकोसी ५ जलविद्युत् आयोजनामा लगानी गर्न अस्ट्रियाले इच्छा देखाएको छ । 

सोमबार काठमाडौंमा नेपाल र अस्ट्रियाको ऊर्जा संयन्त्रको पहिलो बैठकमा अस्ट्रियाले दुई आयोजनामा लगानी गर्ने इच्छा राखेको ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालले जानकारी दिए । ‘यी आयोजनामा लगानीका लागि अस्ट्रिया इच्छुक छ,’ उनले भने, ‘बैठकमा छलफल भएको हो । यससम्बन्धी निर्णय सरकारी तवरबाटै हुनुपर्छ ।’


अस्ट्रियाले लगानीका लागि चासो देखाए पनि यसको मोडालिटी, ब्याजदरजस्ता विषयमा छलफल गर्न बाँकी रहेको अर्यालले बताए । दूधकोसी जलाशययुक्त आयोजनाको विस्तृत परियोजना अध्ययनलाई प्राधिकरणले केही महिनाअघि मात्रै अद्यावधिक गरेको थियो । उक्त अद्यावधिक प्रतिवेदनअनुसार आयोजनाको लागत पौने २ खर्ब हुने अनुमान छ । कर र निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १ अर्ब ५२ करोड ३३ लाख डलर लाग्ने अनुमान गरिएको छ ।


दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपछि ऊर्जाको विषयमा छलफलका लागि संयन्त्र गठन भएको हो । ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव दिनेश घिमिरेले गरेका थिए भने अस्ट्रियाका यातायात तथा प्रविधिसम्बन्धी उपमन्त्रीका सल्लाहकार सोन्जा स्टिलर सहभागी थिए ।


बैठकमा अस्ट्रियाले नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रको स्तरोन्नतिका लागि सहयोग गर्ने सहमति गरेको अर्यालले जानकारी दिए । तालिम केन्द्रका लागि अस्ट्रियाले प्राविधिक सहयोग गर्ने समझदारीमा हस्ताक्षर भएको छ । जेठ ८ गते ऊर्जामन्त्री वर्षमान पुन अस्ट्रेलिया पुगेर जलविद्युत् पूर्वाधारको विषयमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।


समझदारी पत्रमा अस्ट्रियाका तर्फबाट मन्त्री एन्द्रेइस रेइकार्डले हस्ताक्षर गरेका थिए । समझदारीमा दुई देशबीच ऊर्जा क्षेत्रमा लगानी, प्राविधिक सहयोग तथा अनुभव आदानप्रदान गर्ने बुँदा उल्लेख छ । यसैको निरन्तरता स्वरूप संयन्त्रको बैठक बसेको हो ।


उक्त अद्यावधिक प्रतिवेदनअनुसार आयोजना ६३५ मेगावाट जडित क्षमतामा बनाउन सकिनेछ । आयोजनाले वार्षिक ३ हजार ४ सय ४३ गिगावाट आवर ऊर्जा उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ । वार्षिक उत्पादन हुने कुल ऊर्जामध्ये १ हजार ३ सय ५८ गिगावाट आवर हिउँद र २ हजार ८४ गिगावाट आवर ऊर्जा वर्षायाममा उत्पादन हुनेछ ।


आयोजनाले दिने ऊर्जा गोरखा र धादिङको सिमानामा निर्माण गर्ने भनिएको १२ सय मेगावाटको बूढीगण्डकी आयोजनाको हाराहारीमा हुनेछ । अद्यावधिक गरिएको विस्तृत परियोजना प्रतिवेदनअनुसार आयोजनाका लागि ६ सय मेगावाट उत्पादन गर्ने गरी एउटा अन्डरग्राउन्ड पावर हाउस र ३५ मेगावाट उत्पादन हुने गरी बाहिर अर्को पावर हाउस राख्न सकिन्छ ।


१३ किलोमिटर लामो सुरुङमार्फत जलाशयको पानी पावर हाउसमा लैजानुपर्ने प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनअनुसार आयोजना निर्माण सुरु भएको सात वर्षमा उत्पादन थाल्न सकिन्छ । आयोजनाको बाँध र अन्य भौतिक संरचना निर्माणका लागि मात्रै करिब ६ वर्ष लाग्न सक्ने प्रतिवेदनको अनुमान छ । हेडरेस टनेल निर्माणका लागि मात्रै ५ वर्षभन्दा बढी समय लाग्ने अनुमान छ ।


ओखलढुंगा र खोटाङ जिल्लाको सिमानामा निर्माण हुने आयोजनाबाट उत्पादित विद्युत् ४ सय केभी प्रसारण लाइनमार्फत ढल्केबर सबसस्टेसनमा ल्याउने योजना छ । दूधकोसीबाट उत्पादित विद्युत् २२ किलोमिटरपरको सुनकोसीस्थित स्विचयार्ड हुँदै ढल्केबर आइपुग्नेछ । सुनकोसीदेखि ढल्केबरसम्म प्रसारण लाइनको लम्बाइ करिब ९१ किलोमिटर हुनेछ ।


प्रकाशित : कार्तिक ६, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?