एनसेल कर विवाद : नेपाल सहभागी नभए पनि अघि बढ्यो प्रक्रिया

ट्रिब्युनल अध्यक्ष चुनियो 
कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेलको करसम्बन्धी अन्तर्राष्ट्रिय विवाद सामधान गर्ने निकायमा नेपाल सरकारले सहभागिता नजनाउने भए पनि प्रक्रिया भने अघि बढेको छ । लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (लगानी विवाद समाधानका लागि अन्तर्राष्ट्रिय केन्द्र–आईसीएसआईडी) ले एनसेल कर विवादको छलफलका लागि न्यायाधिकरण (ट्रिब्युनल) समिति गठन गरेको छ ।

नेपालले आफ्नो प्रतिनिधि नपठाएपछि आईसीएसआईडीले यसै साता न्यायाधिकरणका अध्यक्ष चुनेको जानकारी आफ्नो वेबसाइटमा गराएको छ ।

नेपालमा भएको पुँजीगत लाभ कर निर्धारणमा चित्त नबुझेको भन्दै एनसेलको माउ कम्पनी आजियटाले मध्यस्थता गरिदिन आईसीएसआईडीमा निवेदन दिएको थियो । आईसीएसआईडीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाई एनसेलको निवेदनबारे जानकारी गराउँदै प्रक्रियामा सामेलन हुन भनेको थियो । तर, नेपालले सरकारले करसम्बन्धी विवाद रहेको र मध्यस्थताको विषय लगानी सम्बन्धमा हुनुपर्ने जिकिर गर्दै यो प्रक्रियामा सहभागी नहुने उत्तर पठाइसकेको छ ।

नेपालले सहभागी नहुने बताएपछि आईसीएसआईडीले न्यायाधिकरण गठन प्रक्रिया पूरा गरेको हो । उक्त समितिका अध्यक्षमा कोरियाली नागरिक जोङ्गी किमलाई चार दिनअघि नियुक्त गरिएको आईसीएसआईडीको वेबसाइटमा उल्लेख गरिएको छ ।

ट्रिब्युनलको मध्यस्थकर्तामा एनसेलले नेदरल्यान्डसका अल्बर्ट जान भान डेन बर्गलाई नियुक्त गरेको छ भने आईसीएसआईडीले नियुक्त गरेका पल फ्राइडल्यान्ड छन् ।

अन्तर्राष्ट्रिय कानुनका जानकार अभिवक्ता समेन्त दाहाल नेपालले सहभागिता नजनाउने भए पनि आईसीएसआईडीको नियमअनुसार प्रक्रिया अघि बढ्ने बताउँछन् । ‘ट्रिब्युनल गठन भयो । अब बैठक बसेर दुवै पक्षको कुरा सुन्ने र आवश्यक कागजपत्र माग्छ,’ उनले भने, ‘नेपालले सहभागिता जनाउदिन भने पनि मध्यस्थताको प्रक्रियामा नेपालको विषय पनि समावेश गरिन्छ ।’

नेपालमा भएको कर विवादमा कुनैकुनै कम्पनीले अन्तर्राष्ट्रिय निकाय गुहारेको यो पहिलोपटक हो । सरकारले भने एनसेलसँग कर विवाद भएको र यो लगानीको विषय नभएकाले आईसीएसआईडीको क्षेत्राधिकार नभएको जवाफ पठाएको थियो । ठूला करदाता कार्यालयले बिक्रीको लाभांशबापत एनसेललले करिब ४० अर्ब रुपैयाँ लाभ कर निर्धारण गरेको थियो । ठूला करदाता कार्यालयको मूल्यांकनविरुद्ध एनसेलले सर्वोच्च अदालतमा मुद्दा दायरसमेत गरेको थियो । सर्वोच्चले उसको मागदाबीअनुसार करको रकम घटाइदिइसकेको छ ।

अन्तर्राष्ट्रिय मध्यस्थकर्तामा रहेको निवेदनमा भने सुनुवाइ हुने क्रममा छ । नेपाल र बेलायतबीच २०४९ फागुन १९ गते भएको द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौताअनुसार अन्तर्राष्ट्रिय निकाय गुहारेको उल्लेख गरिएको छ । एनसेलको मातृ कम्पनी आजियटाले आफ्नो सहायक कम्पनी आजियटा इन्भेस्टमेन्ट यूके बेलायतमा दर्ता भएको र सोही कम्पनीले रेनो होल्डिङ्सको सेयर किनेको भएकाले यो विषयमा नेपाल र बेलायतबीचको लगानी विवाद भएको तर्क गरेको छ । नेपालमा सञ्चालन भएको एनसेलको ८० प्रतिशत स्वामित्व रेनो होल्डिङ्सको छ ।

नेपाल र बेलायतबीच भएको द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौताको धारा ९ मा दुई देशबीच भएको लगानीसम्बन्धी विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने र नभए मध्यस्थता गर्ने अन्तर्राष्ट्रिय निकायमार्फत समाधान गर्ने उल्लेख गरिएको छ । ‘सम्झौताका दुई पक्षबीच कुनै विवाद भए कूटनीतिक माध्यमबाट समाधान गरिनेछ,’ उक्त सम्झौतामा भनिएको छ, ‘यसबाट समाधान नभए कुनै पक्षले विवाद समाधान गर्ने निकायमा निवेदन दिन सक्नेछ ।’

सम्झौताको धारा ९ को उपधारा ३ मा यसबारे थप व्याख्या गरिएको छ । कुनै पक्षले विवाद समाधानको मध्यस्थता गर्न निवेदन दिएको दुई महिनाभित्र समितिमा बस्न दुवै पक्षले एक एक व्यक्ति चुन्नुपर्ने प्रावधान यसमा राखिएको छ ।

‘दुई पक्षले चुनेको व्यक्तिले तेस्रो देशको कुनै व्यक्तिलाई सदस्यका रूपमा चुन्न सक्छन्,’ यसमा भनिएको छ, ‘दुवै पक्षको सहमतिमा उक्त तेस्रो व्यक्तिले विवाद समाधान समितिको अध्यक्ष चुन्नेछ ।’ तोकिएको समयभित्र विवाद समाधान समितिले पूर्णता नपाए अन्तर्राष्ट्रिय न्याय अदालतका अध्यक्षले अध्यक्ष चुनिदिने प्रावधान सम्झौतामा राखिएको छ । यसरी बनेको विवाद निरुपण समितिले सुनाएको निर्णय दुवै पक्षलाई मान्य हुनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

एनसेलले विवाद समाधानका लागि निवेदन दिएको लगानी विवाद समाधानका लागि अन्तर्राष्ट्रिय केन्द्र सन् १९६६ मा स्थापना भएको विवाद निरुपण निकाय हो । विश्व बैंकको लगानीमा स्थापित यो निकायको नेपालमा पनि सदस्य राष्ट्र हो । एनसेलमा ८० प्रतिशत स्वामित्व भएको रेनो होल्डिङ्सलाई नर्वेली कम्पनी टेलियासोनेराबाट आजियटाले २०७२ चैत २९ मा खरिद गरेपछि लाभ कर विवाद सुरु भएको हो । टेलिया सोनेराले नेपालमा भएको स्वामित्व बिक्री गर्दा लाभांश नतिरेको भन्दै लामो समय मुद्दा सर्वोच्च अदालतमा विचाराधीन थियो । एनसेलको ८० प्रतिशत सेयर १ खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा बिक्री भएको थियो ।

प्रकाशित : कार्तिक ६, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

धान्नै नसकिने पर्यटकको चाप

सूर्योदय र हिमाल हेर्नेको घुइँचो 
होटल र होमस्टे भरिए
विप्लव भट्टराई

(इलाम) — ग्रामीण पर्यटन केन्द्रका रूपमा विकास हुँदै गएको अन्तुमा पर्यटकको चाप स्थानीयको अपेक्षाभन्दा धेरै हुन थालेको छ । झुल्केघाम दृश्यावलोकनसँगै अन्तुपोखरी घुमघाम र चियाबारीले ढाकिएको ग्रामीण परिवेशको आनन्द लिन आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् ।

पर्यटकीय क्षेत्रका होटल र होमस्टे खचाखच छन् । आउँदो मंसिरमा महोत्सव गर्ने अभियानमा लागेका अन्तुवासी पर्यटन वर्ष २०२० मा झन् पर्यटक बढ्ने भएकाले खाने वस्ने व्यवस्था मिलाउन अहिलेदेखि क्रियाशील देखिएका छन् ।

मौसममा सुधार आएसँगै अन्तुमा चाप बाक्लिएको छ । ५६ होमस्टे र ५ वटा होटलले मुस्किलले मात्र पाहुनाको व्यवस्थापन गरिरहेका छन् । ‘अहिलेको होमस्टे र होटलको क्षमताले करिब १ हजार ४ सय जना अटाउन सकिन्छ,’ स्थानीय पर्यटन व्यवसायी रुद्र घिमिरेले भने, ‘महोत्सव र भ्रमण वर्षमा पर्यटकको चाप अझै बढ्ने निश्चित भएकाले थप बासस्थानको व्यवस्था गरिरहेका छौं ।’

अन्तुपोखरी र अन्तुडाँडा नामक दुई सामुदायिक होमस्टे यहाँ सञ्चालित छन् । स्थानीयका अनुसार अब थप १ हजार ३ सय जना अटाउने बासस्थानको व्यवस्थाका लागि अरू घरहरू तयार परिँदै गरेको हो । डेढ दशकअघिदेखि व्यावासयिक पर्यटनको अभ्यासमा जुटेका अन्तुका बासिन्दाले आम्दानीको गतिलो स्रोतका रूपमा पर्यटन व्यवसायलाई स्थापित गरेका छन् ।

मेची राजमार्गको फिक्कलबाट नजिकको छिपिटारबाट सडक कालोपत्रे भएसँगै धेरैको गन्तव्यमा अन्तु परेको हो । आन्तरिक पर्यटकको घुइचो हुने यस क्षेत्रमा भारतीय र वंगाली पर्यटक पनि बढ्दै गएको अन्तु भन्ज्याङका व्यवसायी टेकबहादुर आलेले बताए ।

लोपन्मुख लेप्चा जातिको बसोबास, चिया बगानबीच फूलबारीले भरिएको चिटिक्क परेका काठे घरले पनि अन्तु पुग्नेहरूको ध्यान तान्ने गर्छ । फिक्कलबाट १३ किलोमिटर पूर्वमा रहेको अन्तु क्षेत्रमा गुफापातल, लेप्चाहरूको ऐतिहासिक थातथलो, नगदेबालीबाट सुधारिएको जीवनशैली जस्ता कारण पनि आगन्तुक बढ्दै गएका हुन् । वरिपरि चियाबारी रहेको अन्तुपोखरीको डुंगा सवारले त्यहाँ पुग्ने अधिकांश पर्यटकलाई लोभ्याउँछ ।
दसैंदेखि हिउँदयामभर अन्तु पर्यटनको सिजन मानिने गरे पनि अहिले १२ महिना नै धेरथोर संख्यामा पर्यटक पुग्ने क्रम छ । पर्यटकको संख्या धेरै हुने भएकाले कतिपय होमस्टे नम्सभन्दा फरक ढंगले चलेको आरोप पनि स्थानीयलाई लाग्ने गरेको छ । सुरिला सल्लाका रुखले भरिएको अन्तुडाँडाबाट बंगालको खाडीबाट निस्किए झैं लाग्ने घाम झुल्किएको दृश्य लोभलाग्दो देखिन्छ । अन्तु डाँडाबाट झुल्के घामसँगै नेपाल र भारतका अनेकौं स्थान र हिमालय दृश्यावलोकनका लागि भ्युटावर निर्माण गरिएको छ ।

सदरमुकाम क्षेत्रमा पनि घुम्न आउनेका कारण चहलपहल बढेको छ । मुलुककै पुरानो चिया बगान, पुरानो चिया कारखना, भ्युटावर र मठ मन्दिरमा पर्यटक पुग्ने गरेका छन् । ‘वर्षाको समयमा सुनसान बनेको यहाँका पर्यटकीय क्षेत्रमा अहिले बाक्लै गरी पर्यटक आउन थालेका छन्,’ होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले भने, ‘जिल्लाका अधिकांश पर्यटकीय क्षेत्रमा रहेका होटलहरू अहिले व्यस्त देखिएका छन् ।’

थुम्काथुम्का डाँडामा चियाबारीले सजिएको कन्याममा पनि पर्यटकको बाक्लो उपस्थिति छ । वनभोजका लागि प्रख्यात कन्याममा साथीसंगी बिदाको रमाइलो साट्नेदेखि पारिवारिक रूपमा चियाबारीको आनन्द लिन टाढाबाट पनि आउने गरेका छन् । रमणीय डाँडाकाँडाको दृश्यावलोकन र घोडचडीको आनन्दले आगन्तुक दंग पर्छन् । फिक्कल र पशुपतिनगर क्षेत्रमा पनि पर्यटकको बाक्लो उपस्थिति छ । इलामसँगै दार्जिलिङ र सिक्किम घुम्न जानेका कारण यी क्षेत्रमा चहलपहल बढेको हो ।

यहाँका होटल व्यवसायीसँगै इलामको कोसेली चिया, छुर्पी, ललिपपलगायतका सामग्री बिक्री गर्ने पसललाई पनि फाइदा पुगेको फिक्कलका युवराज प्रधानले बताए । कन्याम क्षेत्रलाई पार्किङ, व्यवसाय र घुमघामका लागि व्यवस्थित गर्दै लगिएकाले घुम्न आउनेका लागि सहजता थपिँदै गएको छ । हर्कटेदेखि फिक्कलसम्म दर्जनौं पर्यटक लक्षित होटल खोलिएकाले खानबस्नको समस्या नहुने गरेको व्यवसायीको भनाइ छ ।

उत्तरी सन्दकपुर गाउँपालिकाका विभिन्न क्षेत्रमा पनि चहलपहल बढ्दो छ । सदरमुकामबाट १३ किलोमिटर उत्तरको माईपोखरीमा श्रद्धालुसँगै जैविक विविधतासँग रमाउनेको चहलपहल छ । रामसार क्षेत्रमा सूचीकृत माईपोखरी धार्मिक र जैविक विविधताका हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण छ ।

जिल्लाकै अग्लो सन्दकपुर पुग्न चाहने पनि उत्तिकै छन् । भारतीय र पश्चिमा पर्यटकको बाक्लो भीड लाग्ने सन्दकपुरमा नेपाल भएर पनि जाने उत्तिकै छन् । माबु र माइमझुवा हुँदै सदरमुकामबाट करिब ४५ किलोमिटरको दूरीमा सन्दकपुर पुग्न सकिन्छ । त्यहाँबाट सगरमाथा, कञ्चनजंघासहित नेपाल, भारत र भुटानका दर्जनौं हिमाल देख्न सकिन्छ । झुल्केघाम दृश्यावलोकनका लागि पनि प्रख्यात मानिएको ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुरसम्म पैदल नै यात्रा गरेर आसपासका क्षेत्रमा रमाउनेहरू पनि धेरै छन् । सन्दकपुर गाउँपालिका क्षेत्रका ढापपोखरी, टोड्के झरना, छिन्टापु, माबुथाम, दोबाटे, कालपोखरी, जौबारी, मेघमा, तुम्लिङलगायत स्थानका ठाउँ पनि पर्यटकका रोजाइमा छन् ।

सदरमुकाम पश्चिमो सिद्धिथुम्का, माङमालुङ, गजुरमुखीधाम, माङसेबुङ, राँकेलगायत क्षेत्रमा पनि चहलपहल बढ्दो छ ।

यहाँका पर्यटकीय स्थलहरूसम्म पुग्ने सडक, खानेबस्ने व्यवस्था र टुर प्याकेजको अभावमा भने सोचेअनुसार गतिविधि फस्टाउन सकेको छैन । सदरमुकाम पश्चिमका पानीटार, गुफापातल, सिद्धिथुम्का, माङमालुङ, उत्तरका राँके, दिदीबहिनी झरनालगायत क्षेत्रमा पनि आन्तरिक पर्यटकहरू बाक्लिँदै गएको स्थानीय बताउँछन् ।

प्रकाशित : कार्तिक ६, २०७६ ०८:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT