बढ्यो तिहारको चहलपहल

नुमा थाम्सुहाङ

काठमाडौँ — काठमाडौंका सडक, पसल र घर झिलिमिलीले तिहार नजिकिएको संकेत गरेको छ । दसैं सकिएपछि तिहारको रौनक काठमाडौंका मिठाई पसलहरूमा छाएको छ । आफ्ना दाजुभाइको लागि भाइटीका मसला र रङ किन्न थालिसकिएको छ । तिहार आउन केही दिन मात्र बाँकी रहेकाले व्यापारीहरूलाई यति बेला पसलमा लाग्ने भीड सम्हाल्न हम्मे परेको छ । 

सानोदेखि लिएर ठूलो प्लास्टिकभित्र मिठाई र खानेकुराले भरिएको चिटिक्क परेका प्याकेट । ती प्याकेट किन्न असनका पसलअगाडि राखिएको साना मिठाई पसलहरूमा देखिने भीडले तिहारको किनमेल सुरु भएको देखाउँछ ।

कपनका डीबी बस्नेत श्रीमतीसँगै तिहारका लागि असनगल्लीको एक एक पसलमा भाइ–मसला किन्दै थिए । ‘२ हजार रुपैयाँको भाइटीका मसला किन्यौं,’ उनले भने, ‘अन्य खानेकुराभन्दा सानादेखि ठूला सबैका लागि स्वास्थ्यको हिसाबले राम्रो पनि हो ।’

रौतहटका रामेश्वर गुप्ताले १० वर्षदेखि असनको गल्लीमा तिहारको सिजनमा भाइ–मसला बेच्दै आएका छन् । उनले तिहारका लागि ससाना आकर्षक प्याकेटमा भाइ–मसला सजाएर राखेका छन् । ग्राहकहरूले खोज्ने गरेको आफूले बेच्दै आएको उनले बताए । मखनकै होलसेलबाट बदाम, काजु, ल्वाङ, सुकमेल, छोकडालगायत २२ थरीको सामान किनेर आफैंले भाइ–मसला तयार पारेको उनले बताए । यसका लागि उनले १ लाख रुपैयाँ लगानी गरेका छन् ।

‘५० रुपैयाँदेखि ८ सय रुपैयाँसम्मको भाइ–मसला बिक्रीका लागि राखेको छु,’ उनले भने, ‘दिनमा ८ हजार रुपैयाँसम्मको बिक्री भइरहेको छ ।’ लक्ष्मी पूजाको दिनदेखि व्यापार अझ राम्रो हुने र नौ दिनसम्मको व्यापारले लगानी र नाफा सबै उठ्ने उनले बताए ।

मूलपानीका हरिबोल आचार्य पनि तिहारकै लागि मखन गल्लीको किराना पसलमा सामान किन्दै थिए । काजु, नरिवल, सुपारी, बदामलगायतका ३ हजारको सामान उनले किने । ‘अन्य समयको भन्दा तिहारमा यी खानेकुराको बेग्लै महत्त्व छ,’ उनले भने ।

मखनकै उज्ज्वल हाडाले ३० वर्षदेखि भाइटीकाका लागि चाहिने सामग्री बिक्री गर्दै आएका छन् । चाड भएर नै तिहारमा व्यापार राम्रो हुने उनको भनाइ छ । वर्षभरको नोक्सान तिहारमा १०/१२ दिनमा हुने व्यापारले पूरा गर्ने उनी बताउँछन् । ‘वर्षमा १०/१२ लाख रुपैयाँको कारोबार हुन्छ, वर्षको ५० प्रतिशत व्यापार तिहारको समयमा हुन्छ,’ उनले भने, ‘अरू बेला हुने व्यापारलाई तिहारले धान्छ ।’

डिलरहरूले किसमिस काजु, बदाम भारत, अन्जिल खुर्पानी अफगानिस्तान र पिस्ताजस्ता अमेरिकाबाट आयात गर्ने र उनले डिलरबाट सामान लिने गरेको बताउँछन् । प्रतिकिलो काजुको १६ सय रुपैयाँ, बदामको १३ सय रुपैयाँ, पिस्ता १७ सय रुपैयाँ, नरिवल ४ सय ५० रुपैयाँ, छोकडा २ सय रुपैयाँ, ओखर ६/७ सय रुपैयाँ पर्ने उनले जानकारी दिए ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र वज्राचार्यका अनुसार अन्य समयको तुलनामा तिहारको समयमा १० गुणाले व्यापार वृद्धि हुन्छ । ‘तिहारको समयमा यी चीजहरू अनिवार्य नै हुन्, त्यसैले पनि माग पनि बढ्ने गर्छ,’ उनले भने ।

तिहारमा भाइ–मसला मात्र नभई टीकाको व्यापारसमेत बढ्ने गरेको छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई मात्र नभई घरको मूलढोकाअगाडि आकर्षक रंगोली बनाउनसमेत रङको प्रयोग हुने गरेको छ ।

भक्तपुरकी अवन्तिका चौहान खड्का तिहारमा रंगोली बनाउन असनमा रङ किन्दै थिइन् । उनले भनिन्, ‘घरमा रंगोली बनाउन रङ किन्दै छु, रंगोलीले तिहार रमाइलो बनाउँछ । पहिला हरियो गोबर र रातो माटोले लिपेर दियो बाल्ने चलन थियो तर बिस्तारै रंगोली बनाउने चलन आयो । यो घरको मूलढोकाअगाडि राख्दा राम्रो पनि देखिन्छ ।’ उनले पसलबाट सय ग्रामको ८ किसिमका रङ किनेको बताइन् ।

१५ वर्षदेखि भारत विहारका राज दास तिहारकै समयमा बर्सेनि रङ बेच्दै आएका छन् । ८० हजार रुपैयाँको लगानीमा रङको पसल राखेका उनले बताए । ‘दिनको ६ हजारसम्म व्यापार हुन्छ,’ उनले भने, ‘भाइटीकासम्म बेच्छु ।’

प्रकाशित : कार्तिक ६, २०७६ ०८:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कोदो छाडेर सयपत्री

कान्तिपुर संवाददाता

धनकुटा — विगतमा कोदोका बाला झुल्ने बारीमा यतिबेला सयपत्री ढकमक्क भएको छ । धनकुटाका विभिन्न ग्रामीण क्षेत्रमा सयपत्री फूल बिक्रीबाट कृषकले मनग्य आम्दानी हात पारेका छन् । कोदो तथा दलहन बालीको जस्तो बढी मेहनत गर्न नपर्ने र बाँदरलगायत जंगली जनावरबाट क्षति पनि नहुने भएपछि धनकुटा नगरपालिकाका ३, ४ र ५ वडामा व्यावसायिक फूल खेती हुँदै आएको छ ।

धनकुटामा हालसम्म ५० लाख बढीको फूल बिक्री भइसकेको स्थानीय कृषकले बताए । धनकुटा–३ को निगाले, सिप्तिङ, सेउले, कागतेलगायत गाउँमा तिहार नजिकिएसँगै यतिबेला फूल खरिद गर्न कृषकको बारीमा क्रेताको तँछाडमछाड नै चलेको स्थानीय शैलजा घिमिरे बताउँछिन् ।

कृषकलाई पहिल्यै रकम दिए पनि तिहार सुरु भएपछि क्रेताले फूल बजारमा बिक्रीका लागि लैजाने गर्छन् । अघिल्लो वर्ष धनकुटा–३ बाट ७५ लाख बढीको फूल बिक्री भएको अग्रज कृषक जितेन्द्र राईले बताए । राई स्वयंले १० रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गरेको जनाए । ६ वर्षदेखि नियमित सयपत्री खेती गर्दै आएका छन् ।

धनकुटा ५ कर्मीटारका गोविन्द श्रेष्ठले एक लाख बढीको सयपत्री बिक्री गरेका छन् । उनले आफूले उत्पादन गरेसँगै आसपासका अन्य कृषकको सयपत्रीसमेत खरिद गरेर धरानलगायतका बजारमा बिक्री गर्ने बताए । स्थानीय सीता श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा लगाएको सयपत्री खेतीबाट एक लाख आम्दानी गरेकी छिन् । उक्त गाउँका खगेन्द्र खतिवडाले आधा रोपनी क्षेत्रफलबाटै ७२ हजार आम्दानी गरे । फूलको बेर्ना ६ हजार र फूल ५२ हजार रुपैयाँको बिक्री गरेको उनी बताउँछन् । सबैभन्दा पहिले उन्नत जातको सयपत्रीको व्यावसायिक उत्पादन गर्दै आएका खतिवडाले अघिल्लो वर्षभन्दा राम्रो भाउ पाएको बताए ।

प्रतिबोट एक सय रुपैयाँमा बिक्री गरेको उनले जनाए । सयपत्री खेती गर्दा सात हजार बराबरको लगानी गरेपछि सोचेभन्दा बढी आम्दानी मिलेको खतिवडा बताउँछन् । ‘सयपत्री खेती गर्न सके आम्दानी राम्रै हात पर्ने रहेछ,’ उनले भने, ‘आगामी दिनमा अझ विस्तार गर्ने सोचमा छु ।’ सामान्य पाखा बारीमा रोपिने सयपत्रीलाई अन्य बाली जस्तै मेहनत गर्न नपर्ने भएपछि यसतर्फ आकर्षित भएको कृषकको भनाइ छ ।

सयपत्रीको आकर्षण देखेरै उनीहरूले स्थानीय जातभन्दा बाह्य मुलुकबाट बीउ झिकाएर उन्नत जातको सयपत्री खेती गरेका छन् । स्थानीय बेनु आठपहरियाले ८३ हजारको फूल बिक्री गरेको बताइन् । नवीन लिम्बुले पनि ३० हजार बढीको सयपत्री बिक्री गरे । धनकुटा–४ ठोका गाउँका सूर्य आठपहरियालगायतले पनि मनग्य आम्दानी हात पारेको जनाए ।

प्रकाशित : कार्तिक ६, २०७६ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT