२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कोदो छाडेर सयपत्री

कान्तिपुर संवाददाता

धनकुटा — विगतमा कोदोका बाला झुल्ने बारीमा यतिबेला सयपत्री ढकमक्क भएको छ । धनकुटाका विभिन्न ग्रामीण क्षेत्रमा सयपत्री फूल बिक्रीबाट कृषकले मनग्य आम्दानी हात पारेका छन् । कोदो तथा दलहन बालीको जस्तो बढी मेहनत गर्न नपर्ने र बाँदरलगायत जंगली जनावरबाट क्षति पनि नहुने भएपछि धनकुटा नगरपालिकाका ३, ४ र ५ वडामा व्यावसायिक फूल खेती हुँदै आएको छ ।

धनकुटामा हालसम्म ५० लाख बढीको फूल बिक्री भइसकेको स्थानीय कृषकले बताए । धनकुटा–३ को निगाले, सिप्तिङ, सेउले, कागतेलगायत गाउँमा तिहार नजिकिएसँगै यतिबेला फूल खरिद गर्न कृषकको बारीमा क्रेताको तँछाडमछाड नै चलेको स्थानीय शैलजा घिमिरे बताउँछिन् ।


कृषकलाई पहिल्यै रकम दिए पनि तिहार सुरु भएपछि क्रेताले फूल बजारमा बिक्रीका लागि लैजाने गर्छन् । अघिल्लो वर्ष धनकुटा–३ बाट ७५ लाख बढीको फूल बिक्री भएको अग्रज कृषक जितेन्द्र राईले बताए । राई स्वयंले १० रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गरेको जनाए । ६ वर्षदेखि नियमित सयपत्री खेती गर्दै आएका छन् ।


धनकुटा ५ कर्मीटारका गोविन्द श्रेष्ठले एक लाख बढीको सयपत्री बिक्री गरेका छन् । उनले आफूले उत्पादन गरेसँगै आसपासका अन्य कृषकको सयपत्रीसमेत खरिद गरेर धरानलगायतका बजारमा बिक्री गर्ने बताए । स्थानीय सीता श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा लगाएको सयपत्री खेतीबाट एक लाख आम्दानी गरेकी छिन् । उक्त गाउँका खगेन्द्र खतिवडाले आधा रोपनी क्षेत्रफलबाटै ७२ हजार आम्दानी गरे । फूलको बेर्ना ६ हजार र फूल ५२ हजार रुपैयाँको बिक्री गरेको उनी बताउँछन् । सबैभन्दा पहिले उन्नत जातको सयपत्रीको व्यावसायिक उत्पादन गर्दै आएका खतिवडाले अघिल्लो वर्षभन्दा राम्रो भाउ पाएको बताए ।


प्रतिबोट एक सय रुपैयाँमा बिक्री गरेको उनले जनाए । सयपत्री खेती गर्दा सात हजार बराबरको लगानी गरेपछि सोचेभन्दा बढी आम्दानी मिलेको खतिवडा बताउँछन् । ‘सयपत्री खेती गर्न सके आम्दानी राम्रै हात पर्ने रहेछ,’ उनले भने, ‘आगामी दिनमा अझ विस्तार गर्ने सोचमा छु ।’ सामान्य पाखा बारीमा रोपिने सयपत्रीलाई अन्य बाली जस्तै मेहनत गर्न नपर्ने भएपछि यसतर्फ आकर्षित भएको कृषकको भनाइ छ ।


सयपत्रीको आकर्षण देखेरै उनीहरूले स्थानीय जातभन्दा बाह्य मुलुकबाट बीउ झिकाएर उन्नत जातको सयपत्री खेती गरेका छन् । स्थानीय बेनु आठपहरियाले ८३ हजारको फूल बिक्री गरेको बताइन् । नवीन लिम्बुले पनि ३० हजार बढीको सयपत्री बिक्री गरे । धनकुटा–४ ठोका गाउँका सूर्य आठपहरियालगायतले पनि मनग्य आम्दानी हात पारेको जनाए ।


प्रकाशित : कार्तिक ६, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?