कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बीउमा समस्या : गरिमाको डीएनए परीक्षणमा ढिलाइ

राजु चौधरी

काठमाडौँ — राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका धान संयोजक रामवरण यादवको संयोजकत्वमा गठित समितिले गरिमा जातको हाइब्रिड धानको बीउ नक्कली रहेको आशंकासहित प्रतिवेदन तयार पार्‍यो । प्रतिवेदन असोज १३ गते कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाललाई हस्तान्तरण भयो ।

बीउमा समस्या : गरिमाको डीएनए परीक्षणमा ढिलाइ

थप पुष्टि गर्न बीउ विज्ञान प्रविधि महाशाखा खुमलटारले बीउको डीएनए परीक्षण सुरु गर्‍यो । महाशाखाका अनुसार धानको बीउ रोपेको ७ दिनमा पात लाग्छ । पात लागेपछि डीएनए परीक्षण गर्न मिल्ने र त्यसको ३ दिनमा डीएनएको नतिजा आइसक्छ ।


परीक्षण सुरु गरेको २२ दिन बित्दा पनि धानको डीएनए परीक्षणले गति लिएको छैन । ‘बीउको डीएनए परीक्षणको काम भइरहेको छ,’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक सुशील सुवेदीले भने, ‘तर, प्रगति भएको छैन । एक दुई दिन अझै लाग्छ ।’ नार्कका अनुसार केही चरणमा परीक्षण भए पनि थप वैज्ञानिक आधार खोजी भइरहेको उनले बताए । तिहारअगाडिसम्म रिपोर्ट सार्वजनिक गर्ने गरी काम भइरहेको उनले बताए ।


डीएनए रिपोर्ट सार्वजनिकमा ढिलाइ हुँदा किसानहरू थप मर्कामा परेका छन् । गरिमा जातको हाइब्रिड धान एक सय २० देखि २५ दिनभित्रै पाक्नुपर्छ । अघिल्लो किसानले यस बेला वर्ष धान पाकेर थन्काएका थिए । अन्य जातका धान लगाउने किसानहरू धान काट्न व्यस्त छन् । गरिमा जातको धानको बाला नलागेपछि हरियै गाँज काट्न थालेका छन् । नक्कली बीउसँगै बाला लाग्ने आशामा बसेका किसानलाई फौजी कीराको प्रकोपले थप सताएको छ ।


सरकारसँग नियन्त्रण गर्ने ठोस योजना छैन, जसले गर्दा किसान थप मर्कामा परेका हुन् । मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले पनि गरिमाको परीक्षणमा खासै अगाडि बढ्न नसकेको बताए । ‘डीएनएको रिपोर्ट आएको छैन । रिपोर्ट नआएसम्म अगाडि बढ्न सक्ने अवस्था भएन,’ उनले भने, ‘कहिलकाहिं १० दिनमा आउँछ । थप पुष्टि गर्न लामो समय पनि लाग्न सक्छ ।’


सरकारले डीएनए रिपोर्ट सार्वजनिक गर्न ढिलाइ गरेपछि केही एग्रोभेटले किसानलाई अफबाह फैलाउने गरेका छन् । उनीहरूले गरिमा बीउ आयात गर्ने कम्पनीलाई कारबाहीस्वरूप बन्द गरेकाले क्षतिपूर्ति पाउन नपाउने गलत सूचना प्रवाह गरेको पीडित किसानहरू बताउँछन् ।


‘किसानहरू जानकार छैनन् । त्यसको फाइदा आयातकर्ताले उठाएका छन् । हाल उनीहरूको फर्म बन्द भएको छ । क्षतिपूर्ति नपाउने अफबाह फैलाइएको छ,’ चितवनका एक एग्रोभेट सञ्चालकले भने, ‘उक्त सूचनाले किसानहरू थप चिन्तित छन् ।’ मन्त्रालयका अनुसार गरिमा हाइब्रिड धान २०७२ सालमा दर्ता भएको थियो । यसको विशेषता पाक्ने अवधि १२० देखि १२५ दिन, बोटको उचाइ १०० देखि १०५ सेन्टिमिटर, उत्पादन क्षमता ५.८ देखि ६.३ मेट्रिक टन, मसिनो दाना हो । यो जातको सिफारिस क्षेत्र तराई र भित्री मधेस हो । गरिमा बीउ स्रोत रिनोभा सिड साइन्स इन्डिया प्रालिले उत्पदान गरेको हो । आयातकर्ता साउथ इस्ट एसियन सिड कम्पनी प्रालिका देवानजंग चौधरी हुन् ।


आयातकर्ता चौधरीले बीउ नक्कली प्रमाणित भई नसकेको बताए । ‘२०७२ सालबाट बिक्री गरेको छु । केही समस्या थिएन । यो वर्ष १७ टन बिक्री गरें,’ उनले भने, ‘बजार बिगार्ने रहर कसैको हुँदैन । कम्पनी पनि अचम्ममा छ ।’ उनले बीउ उत्पादनकै क्रममा केही समस्या भएको हुन सक्ने आशंका व्यक्त गरे । ‘राज्यले पनि निष्पक्ष भएर छानबिन गर्नुपर्छ,’ उनले भने, ‘किसान पनि मर्कामा पर्नुभएन, व्यवसायी पनि भएन ।’ उक्त बीउ सबैभन्दा बढी चितवनमा बिक्री भएको थियो ।


चितवनका लागि आधिकारिक विक्रेता पर्सा खुरखुरेमा रहेको प्रशान्त एग्रोभेट हो । प्रशान्त एग्रोभेटका सञ्चालक प्रदीप पाठक हुन् । पाठकले गरिमा धानको १३ हजार ४०४ केजी बीउ बिक्री गरेको बताए । चितवनमा मात्रै ९ हजार किलो बीउ बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ । बाँकी बीउ रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा र तनहुँलगायतका जिल्लामा वितरण भएको बताए । ‘१ सय ४० दिन हुन लाग्यो । धान निस्केको छैन,’ प्रशान्त एग्रोभेटका सञ्चालक प्रदीप पाठकले भने, ‘कुनै ठाउँमा बल्ल निस्किन थालेको छ ।’


कृषिमन्त्री चक्रपाणि खनालले पनि डीएनए परीक्षणको रिपोर्टपश्चात् कानुनी प्रक्रिया सुरु गर्ने बताए । ‘क्षतिको सूची संकलन गर्ने क्रममा छौं । अहिलेसम्म आयातकर्तालाई कारबाही भएको छैन,’


उनले भने, ‘जसको नाममा सूचीकृत छ, उसलाई मुद्दा चलाउँछौं ।’ अन्य एग्रोभेटको हकमा कानुनअनुसार प्रक्रिया अगाडि बढाइने बताए । धान पाक्न ढिला भएपछि केही किसानले गाँज नै काट्न थालेका छन् ।


मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार प्राविधिकको सिफारिसमा मात्रै धान काट्नुपर्ने बताए । बीउ खरिद गरिएको बिल भरपाई सुरक्षित राख्नुपर्छ । ‘सूची संकलन भइरहेको छ । डीएनएको रिपोर्ट आएपछि निर्णय हुन्छ,’ प्रवक्ता सुवेदीले भने, ‘डीएनएको आधारमा सुविधा हुन्छ । बिल भरपाईलगायत सबै सुरक्षित गरेर सम्बन्धित स्थानीय तह वडा कार्यालयमा उजुरी गरौं । प्राविधिकको सिफारिसमा मात्रै धान काट्न आग्रह गरेका छौं ।’


क्षतिपूर्तिमा अन्योल

स्थलगत अध्ययन प्रतिवेदनले गरिमा हाइब्रिडसँग मेल नखाएको उल्लेख भए पनि किसानले क्षतिपूर्ति पाउनेमा अन्योल देखिएको छ । चितवनका मुख्य सप्लायर्स प्रशान्त एग्रोभेटका सञ्चालक प्रदीप पाठकले क्षतिपूर्तिको हकमा मुख्य आयातकर्ताले दिनुपर्ने बताए । यद्यपि, सरकारको निर्णय मान्ने उनले बताए ।


मुख्य आयातकर्ता दिवानगंज चौधरी क्षतिपूर्तिको हकमा ऐन कानुनअनुसार हुने बताए । तर, ठूलो क्षेत्रमा क्षति भएकाले व्यवसायीले बेहोर्न नसक्ने उनले बताए । ‘करोडौंको क्षति कहाँबाट तिर्ने ? किसानहरू मर्कामा हुनुभएन,’ उनले भने, ‘राज्यको ऐन कानुन छ । त्यहीअनुसार बेहोर्छौं ।’ मन्त्री खनालले पनि क्षतिपूर्तिको जटिलता देखिएको बताए । यद्यपि, किसानप्रति जिम्मेवार भएर अर्थको सहमतिमा किसानले सहयोग गर्ने बताए । ‘कारबाहीका लागि पुरानो बीउ बिजन ऐनअनुसार जानपर्नेछ । ऐन धेरै फितलो छ । किसानको नोक्सान भएको छ,’ मन्त्री खनालले भने, ‘सूक्ष्म/प्रक्रियागत रूपमा अध्ययन भइरहेको छ । सम्बन्धित व्यक्तिलाई कारबाही, क्षतिपूर्तिको हकमा मन्त्रिपरिषद्बाट टुङयाउँछु ।’


प्रतिवेदन भन्छ : गरिमा हाइब्रिडसँग मेल खाएनसरकारले स्थलगत रूपमा तयार पारेको प्रतिवेदनले बीउको गुण हेर्दा बाली पाक्ने अवधिको हिसाबले खडा बाली दर्ता भएको गरिमा हाइब्रिडसँग मेल नखाएको उल्लेख छ । ‘चितवन जिल्लाका विभिन्न स्थानको स्थलगत निरीक्षण गर्दा किसानको खेतबारीमा रहेको गरिमा जातको हाइब्रिड धान बाला निस्कने अवस्थाको, प्रारम्भिक चरणमा रहेको बाला निस्कन थप २० देखि २५ दिन लाग्ने तथा यसको पाक्ने अवधि पनि दर्ता गरिएको गरिमा हाइब्रिड धानको भन्दा करिब १ महिना बढी लाग्ने देखियो,’ अध्ययन समिति सदस्य तथा बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनका निमित्त प्रमुख केशव देवकोटाले भने, ‘त्यसकारण दर्ता गरिएको गरिमा जातको हाइब्रिड धान र स्थलगत निरीक्षण गरिएको गरिमा धानको जातीय विशेषत: (विशेषगरी बाली अवधिमा) फरक पाइयो ।’

प्रकाशित : कार्तिक ५, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?