कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हाइब्रिड धानमा कालोपोके

अगन्धर तिवारी

(पर्वत) — थोरै खेतमा धेरै फलाउन अनधिकृत उन्नत जातका धान रोपेका किसान पाक्ने बेलामा पछुताएका छन् । प्राविधिक सिफारिसबिना लगाइएका एआरआई ६, यूएस ३१२, तहल्का, लोकतन्त्रलगायतका धान पाक्ने बेलामा बालाभरि कालोपोके देखा परेको छ । 

हाइब्रिड धानमा कालोपोके

जिल्लाका कुश्मा, फलेबास नगरपालिका, बिहादी गाउँपालिकालगायतका किसानले लगाएको हाइब्रिड धान पाक्ने बेलामा सखाप हुन थालेको छ ।

धेरैजसो कटुवाचौपारी, मुडिकुवा, शंकरपोखरी, सिल्मी, रानीपानी, बर्राचौरलगायतका खेतका धानमा यस्तो प्रकोप देखिएको हो ।


धान पसाएर दाना लाग्ने बेलामा धानकै दानाजस्तै पहेंलो देखिने किसानले बताएका छन् । प्रकोप सुरु भएको पहिलो साता पहेंलो, दोस्रो साता पाकेको सुन्तलाजस्तो हुँदै पाक्ने बेलासम्म कालो पोकामा परिणत भएको किसानले बताए । ‘सुरुमा धानमै टाँसिएको पहेंलो ढुसीजस्तो देखिएको थियो,’ कुश्मा नगरपालिका–९ का केशवदास पौडेलले भने, ‘बिस्तारै पहेंलो सुन्तला रङमा बदलिंदै अहिले धानको बाला नै ढाक्ने गरी कालो भएको छ ।’


स्थानीय धानको तुलनामा तीन गुणासम्म फल्ने भएकाले कटुवाका धेरैजसो किसानले यो धान लगाएका छन । भारतबाट सीधै बीउ ल्याउनुपर्ने भएकाले बीउको मूल्य पनि महँगो भएको रामचन्द्र अधिकारीले बताए । ‘साढे चार सय रुपैयाँ किलोमा किनेर ल्याएको हो,’ उनले भने, ‘पोहोर राम्रै फलेकाले अहिले पनि रोपियो । यस्तो होला भन्ने सोचिएन ।’ कृषि प्राविधिकको सल्लाहबिना रोपिएको हुँदा किसानले सम्बन्धित निकायमा गुनासोसमेत गर्न सकेका छैनन् । ‘कसैलाई सोधेर रोपेको होइन,’ स्थानीय दुर्गादत्त पौडेलले भने, ‘कृषिले सिफारिस गरेको भए राहत माग्ने आधार हुन्थ्यो । अब कसलाई गुनासो गर्ने ।’


धानबालीविज्ञ एवं कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीका अनुसार धानमा देखिएको यो रोगको नाम फल्स स्मर्ट (झुट्टा कालोपोके) हो । ‘यस्तो रोग लागेको धान र पराल दुवै बिषाक्त हुन्छ,’ रेग्मीले भने, ‘मानिसमा फुड पोइजन, झाडाबान्ता, पेट दुख्ने समस्या हुन्छ । पराल, ढुटो कनिका खुवाएका पशु छेरेर मर्छन् ।’ सिफारिस नगरिएका यस्ता धानका बीउ विक्रेतालाई नै कारबाही गर्नुपर्ने रेग्मी बताउँछन् । उनका अनुसार समुद्र सतहदेखि ७ सय मिटरभन्दा माथिल्लो क्षेत्रमा यो धान लगाउनु हुँदैन । बर्णसंकर (हाइब्रिड) सबै प्रकारका जातका धान धेरै संवेदनशील हुने भएकाले त्यस्ता धान लगाउँदा प्राविधिकको सल्लाह लिनुपर्नेमा किसानले आफूखुसी लगाउँदा बर्सेनि यस्तो समस्या देखिने गरेको रेग्मीको तर्क छ । बाग्लुङका पनि धेरैजसो स्थानमा यस्तै रोग देखापरेको उनले बताए । यो रोग समाधानको उपयुक्त उपाय नभएको रेग्मीले बताए ।


धानमा देखिने यस्तो समस्या मौसमको खराबीले छिटो देखापर्ने प्राविधिकको दाबी छ । रात र दिनको तापक्रममा धेरै बदली हुने, पसाउने बेलामा वर्षा भइरहने रासायनिक मलको बढी प्रयोगलगायतका कारण यस्तो समस्या देखिने प्राविधिक कृष्ण तिवारीले बताए ।




प्रकाशित : कार्तिक ५, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?