२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

तिहारअघि नै फूलको माग उच्च

अर्जुन राजवंशी

(विर्तामोड) — फूल खेती गरेका यहाँका उद्यमी महिलालाई दसैंयता बिक्री गर्न भ्याइनभ्याइ छ । 

तिहारअघि नै फूलको माग उच्च

स्थानीय गोमा भट्टराई, नैनाकला भट्टराई, सुष्मा भण्डारी, कञ्चना बराल, यशोदा चापागाईं र शर्मिला अधिकारीले विर्तामोड नगरपालिका ४ स्थित एक बिघा जमिनमा फूल खेती गरेका थिए । साउन अन्तिम साता लगाएको फूल खेतीमा दसैंको घटस्थापनाका दिनदेखि फूल बिक्री सुरु भएको छ ।


विषादीमुक्त खेती गरेकाले फूलको माग दैनिक आउने गरेको भण्डारीले बताइन् । दसैंदेखि दैनिक ५०–६० वटा माला बिक्री गर्दै आएको उनले बताइन् । ३० वटा थुङ्गाको एउटा माला बनाएर उनीहरूले प्रतिमाला ५० रुपैयाँ लिने गरेका छन् ।


‘दसैंमा भएका विवाह, पूजा तथा दैनिकजसो हुने सहकारीका साधारणसभाबाट फूलको माग आउने गरेको छ,’ भण्डारीले भनिन् । उनीहरूले २० हजार सयपत्री फूलका बिरुवाबाट उत्पादन लिइरहेका छन् । फूल खेती प्लास्टिक मल्चिङ विधिबाट गरेका छन् । आफैंले नर्सरी राखेर गरेको फूल खेतीमा करिब ३ लाख रुपैयाँ लगानी गरेका छन् । ‘तिहारसम्ममा हामीले ५ लाख रुपैयाँको फूल बिक्री गर्ने लक्ष्य राखेका छौं,’ गोमाले भनिन् ।


तिहारका लागि फूल खेती गरे पनि दसैंदेखि नै फूलको माग आउन थालेको नैनाकला भट्टराईले बताइन् । ‘हामीले अर्गानिक फूल उत्पादन गरेका छौं,’ नैनाकलाले भनिन्, ‘धेरै फूल बेचेर पैसा कमाउनेभन्दा पनि भारतबाट आउने विषादीयुक्त फूलको प्रयोग घटाउने हाम्रो लक्ष्य हो ।’ जिल्लामा विर्तामोड, धुलाबारी, भद्रपुर, दमक, सुरुङ्गा, हल्दीबारी, चारपाने, कचनकवललगायतका स्थानमा व्यावसायिक फूल खेती गरिएको छ । ‘तिहारअगावै फूल फूले पनि कुनै समस्या भएन,’ बरालले भनिन्, ‘बजारमा फूलको माग दैनिक रहेकाले किसानलाई फूल खेतीबाट कुनै क्षति छैन ।’


उनीहरूले बेरोजगार महिलाहरूको प्रेरणाका लागि विगत तीन वर्षदेखि सयपत्री फूलको खेती गर्दै आएका छन् । ‘काम नगरी घरमै बसोबास गर्ने महिला दिदीबहिनीहरूलाई फूल खेतीबाट पनि आम्दानी गर्न सकिन्छ भनेर प्रेरणा

दिन हामीले यो खेती गरेका हौं,’ भण्डारीले भनिन्, ‘हाम्रो आआफ्नै पेसा व्यवसाय छ ।


दिनमा एक–दुई घण्टा समय दिँदा पनि फूल खेतीबाट राम्रो आम्दानी गर्न सकिँदोरहेछ ।’ उनीहरूले वार्षिक ५० हजारका दरले ५ वर्षका लागि जग्गा लिजमा लिएर फूल खेती गर्दै आएका छन् ।

प्रकाशित : कार्तिक ५, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?