कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजार लिँदै तिहारे फूल

माधव अर्याल

(पाल्पा) — जिल्लामै पहिलोपटक तिहार लक्षित व्यावसायिक फूल खेती रामपुर नगरपालिका–४, देवीस्थानमा गरिएको छ । स्थानीय दिलबहादुर थापाले पहिलोपटक लगाएको तिहारे फूलले बजार लिन थालेको छ । एक हप्ते तालिम लिएसँगै उनले व्यावसायिक फूल खेती सुरु गरेका हुन् ।

बजार लिँदै तिहारे फूल

बारीमा नर्सरी बनाएर लगाएको फूल दसैंपछि ढकमक्क फूलेको छ । उनको फूल खेती हेर्न वरपरका बासिन्दासमेत पुग्ने गरेका छन् ।


सदरमुकामदेखि ७० किलोमिटर पूर्वमा लगाए पनि स्थानीय बजारमै खपत हुने विश्वास उनको छ । तिहारलाई मध्यनजर गर्दै थापाले एक रोपनी बारीमा फूल लगाएका हुन् । दसैंदेखि नै टिप्न तयार भएको उनले बताए । ‘बारीको फूल विभिन्न संघसंस्थाले औपचारिक कार्यक्रममा लैजाने गरेका छन्,’ उनले भने । उनले बारीमा हाइब्रिड र उन्नत जातको सयपत्री र मखमली फूल लगाएका छन् ।


रामपुर नगरपालिका–४ को उद्यमी कृषक महिला समूहले पनि थापासहित कृषि सेवा कार्यालयको सल्लाहमा एक रोपनी जमिनमा सयपत्री फूल खेती गरेको छ । समूहमा आबद्ध १८ जना महिलाले रामपुरमा पहिलोपटक यस वर्ष फूल खेती गर्न सफल भएको समूहकी सीमा रानाले बताइन् । उनले लगाएको फूल खेतीको रामपुर नगरपालिकाका प्रमुखसहितको टोलीले अवलोकन गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताए । व्यावसायिक फूल खेतीको अवलोकन गर्दै नगर प्रमुख रमण थापाले फूलको बजार तिहारमा मात्र नभएर वर्षभरि नै हुने बताए । ‘फूल खेती रामपुरको गौरव बन्नेछ,’ उनले भने ।


रामपुर नगरपालिका–४ की वडा सदस्य तथा न्यायिक समिति सदस्य पार्वती परियारले दसैं र तिहारमा प्लास्टिकका फूलले बजार ढाकेका बेला स्थानीयस्तरमा गरिएको फूल खेतीले सबैलाई राहत पुग्ने बताइन् । रामपुरमा घरघरमा बगैंचा र गमलामा फूल लगाउन सुरु भएको छ । ‘त्यसैले पनि नर्सरीको बिरुवाबाट पनि राम्रो आम्दानी हुन्छ भन्ने लागेको छ,’ उनले भने, ‘आवश्यकताअनुसारका फूलका बिरुवासमेत तयारी गर्ने गरेको छु ।’


प्रकाशित : कार्तिक ५, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?