कोरला नाकाबाट साढे ७ लाख राजस्व

घनश्याम खड्का

(म्याग्दी) — मुस्ताङको लोमान्थाङ गाउँपालिकामा ।आर्थिक वर्ष ०७५/०७६ मा ७ लाख ५० हजार राजस्व संकलन गरेको छ । 

कोरला नाकाबाट साढे ७ लाख राजस्व

बेनी–जोमसोम–लोमन्थाङ–कोरला सडकअन्तर्गत नेचुङस्थित कोरला नाकाबाट नेपाल भित्रिएका विभिन्न दैनिक उपभोग्य वस्तुबाट यो राजस्व संकलन भएको हो । कार्यालयको चालु वर्ष राजस्व संकलन १० लाख पुर्‍याउने लक्ष्य छ ।

‘यो सिल बोर्डर हो । वर्षको दुईपटक सीमा क्षेत्रमा ब्यापार मेला लाग्छ, यही मेलाबाट आयात हुने वस्तुमा राजस्व संकलन हो,’ नेचुङ भन्सार कार्यालयका निमित्त प्रमुख रहेका कार्यालय सहयोगी यादवराज पहाडीले भने, ‘निकासी वस्तुमा शून्य कर संकलन भएको छ ।’ आफूहरू यहाँको वातावरणमा नयाँ रहेको भन्दै उनले स्थानीय व्यापारीलाई राजस्व तिर्ने बानी बसाल्दै गएको बताए ।


कोरला नाकादेखि १२ किलोमिटर दक्षिणपट्टि तल नेचुङमा अवस्थित इलाका प्रहरी र कुरुवाको भरमा चलेको भन्सार कार्यालयले नाकासम्म निगरानी पुर्‍याउन जनशक्ति र साधनस्रोत दुवै छैन । कोरला भन्सार कार्यालसँगै सुरक्षार्थ खटाइएको सशस्त्र प्रहरी सदरमुकम जोमसोम छोड्न मानेको छैन । वर्षमा दुईचोटि (जेठ–असार र भदौ–असोजमा) कोरला नाकामा हाट लाग्छ, जहाँ दुवै देशका व्यापारीले सरसामान लगेर एकअर्कालाई बेच्ने गर्छन् । यो वर्ष असोज २६–कात्तिक ५ सम्म तिब्बतको ढोङवासेनमा व्यापार मेला लागेको छ । यस्तै व्यापार मेलाको बेला मुस्ताङ भित्रिएका सामग्रीमा भन्सार असुली गरिएको हो ।


लोमन्थाङसमेत उपल्लो मुस्ताङका घर पसलमा लत्ताकपडा, खाद्यान्न, पेय पदार्थ र इलेक्ट्रोनिक, सिमेन्ट, काठलगाएत सबै चिनियाँ सामग्रीको एकलौटी किनबेच हुन्छ । सामान झार्न लोमन्थाङभन्दा अलि पर चिनियाँ गाडी आइपुग्छन् ।


‘चिनियाँ सुरक्षाकर्मीसँगको भाषाको समस्याले सीमा नाकामा पर्यटकले असुरक्षित महसुस गर्छन् । कहिलेकाहीं हामी आफैंले समस्या झेल्ने गरेका छौं,’ इलाका प्रहरी कार्यालय नेचुङका प्रहरी हवल्दार श्यामकुमार थापाले भने, ‘स्थानीयबाहेक एक्लैदुक्लै नाकामा पुग्नु असुरक्षित लाग्छ ।’


मुस्ताङमा पर्ने नेपाल–चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा चीनले दशगजा छोडेर आधुनिक सूचाना प्रविधिजडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन, कर्मचारी आवासगृह, प्रयोगशाला, गोदामघर, ट्रक तथा कन्टेनर पार्किङ र सुरक्षा प्रबन्धलगायतका पूर्वाधार बनाइरहेको छ । नेपालपट्टि खालीचौर चकमन्न पल्टेको छ । संरचना निर्माणको कुनै सुरसार देखिंदैन । मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनका अनुसार कोरला नाकाको २४ नम्बर पिलर क्षेत्रमै नेपाली पक्षले पनि भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजार रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ ।


यसअघि नाकाभन्दा १२ किलोमिटर तल नेचुङमा भन्सारका लागि जग्गा अधिग्रहण गरिएकोमा अव्यावहारिक भन्दै विरोध भएपछि नाका क्षेत्रमै चिनियाँ भन्सारको आमने–सामने हुनेगरी भन्सार बनाउने तयारी भएको छ । तुलाचनले भने, ‘अर्थ, गृह, रक्षा र प्रधानमन्त्री सबैलाई कोरला नाकाको यथार्थ लेखेरै जानकारी गराएको छु । गृह र अर्थमन्त्रीले कोरला नाका व्यवस्थित सञ्चालन गर्न काम भैरहेको जनाएका छन् ।’

प्रकाशित : कार्तिक ५, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?