२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

वीरगन्जबाट लक्ष्यभन्दा कम राजस्व

शंकर आचार्य

(पर्सा) — वीरगन्जका दुवै भन्सार कार्यालयले असोज महिनामा २१ अर्ब बढी राजस्व संकलन गरेका छन् । वीरगन्ज/आईसीपी भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गरी यति राजस्व संकलन गरेका हुन् । वीरगन्ज/आईसीपी भन्सारले १२ अर्ब ८८ करोड र सुक्खा बन्दरगाह भन्सारले ९ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 

दुवै भन्सारले असोजमा लक्ष्यभन्दा कम राजस्व असुल गरेका हुन् । असोजमा वीरगन्ज भन्सारले १८ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकामा १२ अर्ब ८८ करोड संकलन गरेको छ । यो मासिक लक्ष्यको ६८ प्रतिशत हो ।


सुक्खा बन्दरगाह भन्सार कार्यालयले मासिक लक्ष्यको ६९ दशमलव २३ प्रतिशत मात्र राजस्व असुली गर्न सकेको छ । असोजमा यो भन्सारले २ अर्ब ९२ करोड रुपैयाँ मात्र राजस्व असुली गरेको छ ।


मासिक असुलीको तुलनामा चालु आवको पहिलो त्रैमासिक अवधिमा दुवै भन्सारले केही बढी राजस्व असुली गर्न सकेका छन् । वीरगन्ज/आईसीपी भन्सारले यस अवधिमा ३८ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन त्रैमासिक लक्ष्यको ७३ प्रतिशत हो । यो भन्सारको त्रैमासिक अवधिको राजस्व असुली लक्ष्य ५२ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।


सुक्खा बन्दरगाह भन्सार चालु आवको त्रैमासिक अवधिमा लक्ष्यको ८१ दशमलव ३४ प्रतिशत राजस्व असुली गर्न सफल भएको छ । यस अवधिमा ११ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा ९ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।


वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतो असोज महिनामा कम राजस्व संकलन हुनुमा पर्व बिदा मुख्य कारण रहेको बताउँछन् । ‘असोजमा दसैं बिदा परेकाले राजस्व असुली प्रभावित भएको हो,’ उनले भने, ‘तैपनि गत आवको असोज महिनाको तुलनामा चालु आवको असोज महिनामा ३० प्रतिशत बढी राजस्व संकलन भएको छ ।’


वीरगन्ज नाकाबाट राजस्वमा योगदान गर्ने मुख्य वस्तु नयाँ सवारी साधनको आयात ओरालो लागेकाले पनि राजस्व असुली लक्ष्य भेट्याउन समस्या हुँदै गएको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत विकास साहले पनि राजस्व असुली कम हुनुमा पर्व बिदा मुख्य कारण रहेको बताए ।

प्रकाशित : कार्तिक ५, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?