स्वी छिङलाई पछ्याउन हतारिए चिनियाँँ

लक्ष्मी लम्साल

(बेजिङ) — नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सद्भावना दूत नियुक्त भएपछि अभिनेत्री स्वी छिङलाई पछ्याउन हजारौं चिनियाँ हतारिएका छन् । उनीहरूको यो हतारो चिनियाँ ट्वीटर मानिने ‘वैपो’ मा देखिएको छ । 

स्वी छिङलाई पछ्याउन हतारिए चिनियाँँ

सामाजिक सञ्जालमा उनले फोटोसहित आफ्नो प्रतिक्रिया लेखेकी थिइन् । केही घण्टामै लाखौं शुभेच्छुकहरूले उनीप्रति सद्भाव र गौरव लागेको भन्दै नेपाल यात्राका लागि व्यग्र प्रतीक्षा गरिरहेको उल्लेख गरेका छन् । चिनियाँ रंगमञ्चमा निकै लोकप्रिय यी अभिनेत्रीका लाखौं प्रशंसक छन् । उनको यो नियुक्तिप्रति सौन्दर्य देवी, चिनियाँकी गौरव, रहस्यमयी सुन्दरी, अद्भूत प्रतिभाशालीजस्ता विशेषण प्रयोग गरेर धेरै वैपो प्रयोगकर्ताहरूले प्रशंसा गरेका छन् ।


चिनियाँ समयअनुसार आइतबार दिउँसो सवा १ बजेतिर उनले नेपाल र चीनबीचको मित्रता युगौंदेखि पुरानो रहेको उल्लेख गर्दै एउटा स्टाटस वैपोमा पोस्ट गरेकी थिइन् । उनले लेखिन्, ‘नेपाल र चीनबीचको युगौं पुरानो मित्रता छ । हिमालय क्षेत्र रहस्य र सौन्दर्यले भरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत बन्न पाएकामा अत्यन्त सम्मानित महसुस गरेकी छु ।’


अभिनेत्री स्वी छिङले पोस्ट गरेको केही घण्टामै हजारौंले रिट्वीट गरेका छन् भने उत्तिकै संख्यामा कमेन्ट र लाइकहरू देखिएका छन् । अधिकांश प्रयोगकर्ताले नेपालको भ्रमण गर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् भने कतिपयले मन्त्री योगेश भट्टराई र स्वी छिङ सँगसँगै भएको तस्बिर पोस्ट गर्दै ‘राम्रो’ देखिएको टिप्पणी लेखेका छन् ।


युआन अर नाम गरेकी वैपो प्रयोगकर्ताले भ्रमण गर्न मन पराउने अभिनेत्रीका लागि पर्यटन दूत बन्नु निकै सान्दर्भिक अवसर भएको उल्लेख गरेकी छन् । अधिकांश प्रयोगकर्ताले जस्तै उनले स्वीलाई चिनियाँ गौरवको संज्ञा दिएकी छिन् । स्याउ चिङ नाम गरेकी वैपो प्रयोगकर्ता लेख्छिन्, ‘समय भएमा नेपाल यात्राको ‘ब्लग’ पोस्ट गर्नुहोस्, हामी पनि हेरौं, नेपाल कस्तो छ ?’


‘रहस्यले भरिएको देश नेपाल’, अर्का प्रयोगकर्ता समरले लेखेकी छन्, ‘मेरो नयाँ यात्राको पवित्र गन्तव्य ।’ आफ्नो विदेश यात्राको एउटा गन्तव्य थपिएको भन्दै उनले स्वीबाट प्रभावित भएको जनाउ दिएकी छन् ।


नेपालकी दुलही भन्दै जेडवाईडब्लू एलडी नाम गरेका प्रयोगकर्ताले नेपालको प्राकृतिक दृश्यको भ्रमण पर्खिरहेको प्रतिक्रिया लेखेका छन् । त्यस्तै स्याउ याथौ थोङले लेखेकी छन्, ‘रहस्यमयी तथा विशेष नेपाल, रहस्यमयी तथा विशेष तिमी ।’


यो पोस्ट सार्वजनिक हुँदासम्म स्वी छिङका वैपो फलोअरको संख्या १ करोड ६८ लाख ५५ हजारभन्दा बढी पुगेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चिनियाँ तथा हलिउड अभिनेत्री स्वीलाई नेपाल भ्रमण वर्ष सद्भावना दूत घोषणा गरिएको थियो ।


सन् १९६९ मा बेइजिङमा जन्मिएकी स्वी छिङले ‘पियान्चौ पियान्छाङ (लाइफ अन अ स्ट्रिङ)’ नामक चलचित्रबाट डेब्यु गरेकी थिइन् । हलिवुड तथा चिनियाँ चलचित्र दुनियाँमा निरन्तर सक्रिय स्वीको पछिल्लो उपलब्धि ‘गुड अगेन्स्ट एभिल’ नाम चलचित्र गत वर्ष ५५औं ताइवान गोल्डेन हर्स अवार्डमा छानिनु थियो । यसबाहेक उनीद्वारा अभिनित नाटक, टेलिचलचित्रलगायत कलाकर्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारका लागि छानिएका थिए ।


प्रकाशित : कार्तिक ४, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?