कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनएसँग पर्यटक भित्र्याउने समझदारी

कान्तिपुर संवाददाता

काठमाडौँ — विदेशमा हुने एक नेपालीले एक विदेशी साथी नेपाल गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयविच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

एनआरएनएसँग पर्यटक भित्र्याउने समझदारी

नेपाल भ्रमण वर्षलाई सफल पार्न विश्वभरबाट विदेशी पाठउन समझदारी भएको हो । यसको अभिलेखीकरण दुवै पक्षले गर्नेछन् । सचिवालयले सबैभन्दा बढी विदेशीलाई नेपाल पठाउने व्यक्ति तथा संघसंस्थालाई सम्मान गर्न सरकारलाई सिफारिस गर्नेछ ।


सचिवालयले ‘विदेशी साथी नेपाल’ पठाउ अभियानअन्तर्गत संघसँग समन्वय गरी नेपाल भ्रमण वर्षमा आउने पाहुनाका लागि विभिन्न छुटको व्यवस्था मिलाउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तले १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।


त्यस्तै संघले विदेशमा रहेका व्यावसायिक फर्म, होटल तथा रेस्टुरेन्टमा नेपालसम्बन्धी प्रचार सामग्री राखेर प्रचारप्रसार गर्ने समझदारी भएको छ । त्यस्तै प्रचारप्रसारका सामग्री आगन्तुकहरूलाई वितरण गरिनेछ ।


एनआरएनएले नेपाल भ्रमण वर्ष २०२० अवधिभर संघका विश्वभर आयोजना हुने सेमिनार, गोष्ठीलगायत कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउनेछ । यसरी नेपालमा आयोजना गरिने विभिन्न गोष्ठी तथा सेमिनारको समन्वयको काम सचिवालयले गर्नेछ । विभिन्न देशमा रहेका गैरआवासीय नेपालीलाई सन् २०२० मा स्पेन्ड होलिडे इन नेपाल विथ फ्यामिली एन्ड फ्रेन्ड्स अभियान सञ्चालन गर्ने सहमति भएको छ ।


संघले विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा भ्रमण वर्ष प्रवद्र्धन कक्ष स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउनेछ । नेपाल भ्रमण वर्षको प्रचारप्रसारका लागि सचिवालयको समन्वयमा संघले वर्षभरि विश्वका प्रमुख सहरमा कार तथा साइकल र्‍याली गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।


संघका विश्वभरिका सदस्य तथा नेपाली संघसंस्थामा आबद्ध नेपालीहरूको माध्यमबाट उनीहरूको रोजगारदाता, व्यावसायिक साझेदार संघसंस्था तथा व्यक्तिलाई भ्रमणका निम्ति निमन्त्रणा गर्नेछ । सचिवालय र संघको समन्वयमा जनवरी साता हुने नेपाल भ्रमण वर्षको सुरुवातलाई सफल बनाउन सम्बन्धित देशका कूटनीतिक नियोगहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्न संघ तयार भएको छ ।


संघले सम्बन्धित देशका सञ्चार माध्यममा डिजिटल मार्केटिङको व्यवस्था गर्नेछ । सचिवालय र संघको समन्वयमा विश्वभर रहेका नेपाली तथा विभिन्न संघसंस्थाको सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भ्रमण वर्षसँग सम्बन्धित सकारात्मक सन्देश दिने सामग्री प्रवाह गरिनेछ ।


त्यस्तै संघले विभिन्न देशका सार्वजनिक स्थल, बस स्टेसन, रेल्वे स्टेसन तथा प्रमुख पर्यटकीय

क्षेत्रमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्री वितरण गर्ने र यससँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्ने जनाइएको छ । उक्त कार्यक्रमहरू गर्दा लाग्ने खर्चको आर्थिक स्रोतको प्रबन्ध संघ आफैंले गर्नेछ ।

प्रकाशित : कार्तिक ४, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?