कर संकलनमा एक्याप र गाउँपालिकाबीच असमझदारी

घनश्याम खड्का

(म्याग्दी) — प्राकृतिक स्रोत, साधनमा कर उठाउने र पूर्वाधार निर्माण गर्ने विषयमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय अन्नपूर्ण गाउँपालिकाबीच असमझदारी बढेको छ । 

चत्रीय अन्नपूर्ण पदमार्गमा घुम्न आएका विदेशी पर्यटक मनाङको तिमाङ नजिकै मोटर बाटोबाट हिँडेर चामेतर्फ जाँदै । तस्बिर : आश गुरुङ/कान्तिपुर 

गाउँपालिकाको आधा भूगोल एक्याप क्षेत्रमा पर्ने भएकाले त्यहाँ सडक खन्ने, नदीजन्य पदार्थ उत्खनन गर्ने, ठेक्का लगाउने र राष्ट्रिय वनमा पर्यटन पूर्वाधार (होटल, रेस्टुरेन्ट) बाट कर संकलन गर्ने विषयमा असमझदारी बढेको हो ।

पुनहिल, खोप्रा, अन्नपूर्ण, नीलगिरि बेसक्याम्प तथा दर्जनभन्दा बढी जलविद्युत् आयोजना गाँउपालिकाभित्र छन् । नारच्याङ, गाडपार, पाउद्वार, सिख, स्वातार, घार, खिबाङ, चित्रे, घोडेपानीलगायत क्षेत्र एक्यापभित्र पर्छन् ।

स्थानीय स्रोत साधनको उपयोग गर्ने अधिकार गाउँपालिकालाई छ । ‘एक्यापले संकलन गरेको कर फिर्ता गराउने र नदीजन्य पदार्थ उत्खनन तथा पर्यटकीय क्षेत्रको उपयोग सम्बन्धमा छलफल सुरु गरेका छौं,’ गाउँपालिका अध्यक्ष डमबहादुर गर्वुजाले भने, ‘एक्यापले उठाएको कर स्थानीय सरकारलाई बुझाउनुपर्छ ।’ उनले आफ्नो क्षेत्रभित्र वातावरणीय प्रभाव मूल्यांकन (आईईई) अनुसार फागुनभित्र नदीजन्य पदार्थ प्रयोगको ठेक्का लगाउने बताए । वातावरणमा प्रतिकूल असर नपर्ने गरी जनताको मागअनुसारका पूर्वाधार बनाउने उनको भनाइ छ ।

संविधानअनुसार स्थानीय सरकार क्रियाशील रहेको अवस्थामा एक्यापले गाउँपालिकाको क्षेत्राधिकारमा हस्तक्षेप गरी विभिन्न जलविद्युत् आयोजना र क्रसर उद्योगलाई नदीजन्य पदार्थ उत्खनन अनुमति दिएर कर उठाएको भन्दै फिर्ता गर्न पहल थालेको गापाले दाबी गरेको छ ।

अन्नपूर्ण–४ नारच्याङमा अवस्थित नीलगिरि र अन्नपूर्ण हिमालबाट झर्ने मिस्त्रीखोलामा जलविद्युत् आयोजनाले प्रयोग गरिरहेको नदीजन्य पदार्थलाई करको दायरामा ल्याउन खोज्दा आयोजनाले एक्यापलाई ८ लाख रुपैयाँभन्दा बढी राजस्व तिरेको जनाएपछि विवाद सतहमा आएको हो ।
गाउँपालिकाले एक्याप क्षेत्रका खोलामा नदीजन्य पदार्थको मात्र होइन, यस क्षेत्रमा आउने पर्यटकबाट लिएको प्रवेश शुल्क पनि स्थानीय सरकारले पाउनुपर्ने दाबी गरेको छ ।

‘गाउँपालिकाभित्र दर्जनभन्दा बढी ठूला आयोजनाले काम गरिरहेका भए पनि स्थानीय सरकारसँग समन्वय गरेका छैनन्,’ अध्यक्ष गर्वुजाले भने, ‘संघीय आयोजनाले स्थानीय सरकारको अवज्ञा गरिरहेका छन् । कार्यक्रम संघीय वा प्रदेश जसका भए पनि स्थानीय ऐन, कानुन र नियमभित्र छिरेरै काम गर्नुपर्छ ।’

गाउँपालिकाभित्र पर्ने कालीगण्डकी करिडोरमा राष्ट्रिय गौरवका बेनी–जोमसोम–कोरला सडक, कालीगण्डकी करिडोर प्रसारण लाइन र दर्जनभन्दा बढी विद्युत् आयोजनामा निर्माणाधीन छन् । आयोजनाले वातावरणीय असरको ख्याल नगरी डोजर तथा विस्फोटक पदार्थ प्रयोग र मनलाग्दी नदीजन्य पदार्थ उत्खनन गरेको आरोप छ । यसैबीच गाउँपालिकाले पर्यटकीय गन्तव्य घोडेपानी र तातोपानीमा पनि पर्यटकलाई प्रवेश शुल्क लिने भएको छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १०:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हलेसीमा धार्मिक पर्यटकको भिड

विमल खतिवडा, डम्बरसिं राई

(खोटाङ) — हलेसी महादेवस्थानमा दसैं सकिएलगत्तै धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । यहाँ सडक सहज भएपछि निजी तथा गाडी रिजर्भ गरेर स्वदेशी तथा बाह्य मुलुकबाट आउने पर्यटकको भीड बढ्न सुरु भएको हो ।

घुम्न र पूजा अर्चनाका लागि परिवारसहित आउने बढी छन् । हर्कपुरको सुनकोसी र जयरामघाटस्थित दूधकोसी नदीमा मोटरवेल पुल सञ्चालनमा आएसँगै हलेसीलाई धार्मिक गन्तव्य बनाउने बढेका हुन् । पर्यटकको आवागमन बढ्दै गएपछि यो क्षेत्रमा होटल व्यवसाय गर्ने पनि बढेका छन् ।

हलेसी मन्दिरका पुजारी गोपाल गिरीका अनुसार अहिले धार्मिक पर्यटकको सिजन सुरु भएको छ । ‘बढी धार्मिक पर्यटक साउनमा बोलबम भन्दै आउने गरेका छन्,’ पुजारी गिरीले भने, ‘त्यसमा पनि नेपाली धेरै छन् ।’ मन्दिरमा एक वर्षयता साँझ आरती सुरु गरिएकाले टाढाबाट आउने आरतीमा सरिक हुन्छन् । बिहान पूजापाठ गरेर हलेसी वरिपरि रहेका धार्मिक पर्यटकीय गन्तव्य घुम्न व्यस्त हुन्छन् ।

‘सुनकोसी र दूधकोसीमा पुल नहुँदा धेरै सास्ती खेप्नुपर्ने बाध्यता थियो, तीन वटा गाडी फेरेर मात्र हलेसी आइपुगिन्थ्यो,’ पुजारी गिरी भन्छन्, ‘अहिले त्यो समस्या छैन, कतै अवरोध नभए एउटै साधन चढेर बिहान काठमाडौंबाट हिँड्दा साँझ हलेसी आइपुगिन्छ ।’ पहिला निजी सवारी साधनमा आउनेहरू उदयपुरको घुर्मीमा साधन राख्न बाध्य थिए ।

हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्मर भुजेलका अनुसार वार्षिक ३ लाखभन्दा बढी पर्यटक आउने गरेका छन् ।

साउन महिनामा मात्र सडक सहज हुँदा करिब १ लाख पर्यटक भित्रन्छन् । यहाँ रामनवमी, बालाचर्तुदशीमा ठूलो मेला लाग्ने गर्छ । यो बेला सडक नबन्दा पहिला दुई/तीन हिँडेर भक्तजन आउने गर्थे । स्वदेशीबाहेक भारत, भुटान, चीन, थाइल्यान्डबाट बढी पर्यटक आउने गरेका छन् । ‘हलेसीको प्रचार–प्रसार पछिल्लो समय राम्रो भएको छ,’ उनले भने, ‘जसले गर्दा पर्यटकको संख्यासमेत बढेको छ ।’ हलेसीमा पहिला बास बस्ने होटल कम थिए ।

पर्याप्त होटल नहुँदा बासको समस्या हुन्थ्यो । गाउँघरमा बास खोज्दै जानुपर्ने बाध्यता थियो । ‘अहिले यो समस्या छैन,’ उनले भने, ‘ठूला होटल मात्र १५ भन्दा बढी छन् ।’ साना होटलसहित करिब १० हजार धार्मिक पर्यटक हलेसीमा अटाउन सक्ने उनले दाबी गरे । उनका अनुसार मन्दिरको भेटी, रुद्रीलगायत शुल्कसहित गत वर्ष करिब ८६ लाख रुपैयाँ जम्मा भएको थियो । यो क्षेत्रमा गुफाको संख्या धेरै छ । अलौकिक गुफाले सबैलाई मोहित बनाउने गरेको छ ।

हलेसी, बसाहा, भैरव, मञ्जुश्री, दुङदेलो, किरातेश्वरलगायत गुफाले सबैको ध्यान खिच्ने गरेको छ । ‘हलेसीको धार्मिक रूपमा विशेष महत्त्व रहेकाले घुम्नभन्दा दर्शन गर्न आउने बढी हुन्छन्,’ उनले भने, ‘पर्यटक बढेकाले नै यहाँ व्यापार व्यवसाय गर्ने बढेका छन् ।’

मन्दिरमा भीड बढ्न थालेपछि स्थानीयस्तरमा उत्पादित फसलले बजार पाउन थालेको छ । ‘हलेसी पर्यटकको रोजाइमा छ,’ हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राइले भने, ‘त्यसैले बर्सेनि घुम्न आउने पर्यटकको संख्या बढ्दो छ ।’ उनका अनुसार नगरपालिकाले मन्दिरलाई व्यवस्थित गर्ने कार्य तीव्र पार्दै आइएको छ ।

मन्दिरको जीर्णोद्धार गरिएको छ । पर्यटकका लागि जानकारी दिने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको छ । मन्दिरभित्र भीडभाड बढी हुने भएकाले व्यवस्थित गर्न सीसी क्यामेरा जडान गरिएको मेयर राईले दाबी गरे । मन्दिरभित्र बत्ती जडान गरी रेलिङ निर्माण गरिएको छ । मन्दिर पुग्ने सिँढी थपिएको छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १०:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT