१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हलेसीमा धार्मिक पर्यटकको भिड

(खोटाङ) — हलेसी महादेवस्थानमा दसैं सकिएलगत्तै धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । यहाँ सडक सहज भएपछि निजी तथा गाडी रिजर्भ गरेर स्वदेशी तथा बाह्य मुलुकबाट आउने पर्यटकको भीड बढ्न सुरु भएको हो ।

हलेसीमा धार्मिक पर्यटकको भिड

घुम्न र पूजा अर्चनाका लागि परिवारसहित आउने बढी छन् । हर्कपुरको सुनकोसी र जयरामघाटस्थित दूधकोसी नदीमा मोटरवेल पुल सञ्चालनमा आएसँगै हलेसीलाई धार्मिक गन्तव्य बनाउने बढेका हुन् । पर्यटकको आवागमन बढ्दै गएपछि यो क्षेत्रमा होटल व्यवसाय गर्ने पनि बढेका छन् ।


हलेसी मन्दिरका पुजारी गोपाल गिरीका अनुसार अहिले धार्मिक पर्यटकको सिजन सुरु भएको छ । ‘बढी धार्मिक पर्यटक साउनमा बोलबम भन्दै आउने गरेका छन्,’ पुजारी गिरीले भने, ‘त्यसमा पनि नेपाली धेरै छन् ।’ मन्दिरमा एक वर्षयता साँझ आरती सुरु गरिएकाले टाढाबाट आउने आरतीमा सरिक हुन्छन् । बिहान पूजापाठ गरेर हलेसी वरिपरि रहेका धार्मिक पर्यटकीय गन्तव्य घुम्न व्यस्त हुन्छन् ।


‘सुनकोसी र दूधकोसीमा पुल नहुँदा धेरै सास्ती खेप्नुपर्ने बाध्यता थियो, तीन वटा गाडी फेरेर मात्र हलेसी आइपुगिन्थ्यो,’ पुजारी गिरी भन्छन्, ‘अहिले त्यो समस्या छैन, कतै अवरोध नभए एउटै साधन चढेर बिहान काठमाडौंबाट हिँड्दा साँझ हलेसी आइपुगिन्छ ।’ पहिला निजी सवारी साधनमा आउनेहरू उदयपुरको घुर्मीमा साधन राख्न बाध्य थिए ।


हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्मर भुजेलका अनुसार वार्षिक ३ लाखभन्दा बढी पर्यटक आउने गरेका छन् ।


साउन महिनामा मात्र सडक सहज हुँदा करिब १ लाख पर्यटक भित्रन्छन् । यहाँ रामनवमी, बालाचर्तुदशीमा ठूलो मेला लाग्ने गर्छ । यो बेला सडक नबन्दा पहिला दुई/तीन हिँडेर भक्तजन आउने गर्थे । स्वदेशीबाहेक भारत, भुटान, चीन, थाइल्यान्डबाट बढी पर्यटक आउने गरेका छन् । ‘हलेसीको प्रचार–प्रसार पछिल्लो समय राम्रो भएको छ,’ उनले भने, ‘जसले गर्दा पर्यटकको संख्यासमेत बढेको छ ।’ हलेसीमा पहिला बास बस्ने होटल कम थिए ।


पर्याप्त होटल नहुँदा बासको समस्या हुन्थ्यो । गाउँघरमा बास खोज्दै जानुपर्ने बाध्यता थियो । ‘अहिले यो समस्या छैन,’ उनले भने, ‘ठूला होटल मात्र १५ भन्दा बढी छन् ।’ साना होटलसहित करिब १० हजार धार्मिक पर्यटक हलेसीमा अटाउन सक्ने उनले दाबी गरे । उनका अनुसार मन्दिरको भेटी, रुद्रीलगायत शुल्कसहित गत वर्ष करिब ८६ लाख रुपैयाँ जम्मा भएको थियो । यो क्षेत्रमा गुफाको संख्या धेरै छ । अलौकिक गुफाले सबैलाई मोहित बनाउने गरेको छ ।


हलेसी, बसाहा, भैरव, मञ्जुश्री, दुङदेलो, किरातेश्वरलगायत गुफाले सबैको ध्यान खिच्ने गरेको छ । ‘हलेसीको धार्मिक रूपमा विशेष महत्त्व रहेकाले घुम्नभन्दा दर्शन गर्न आउने बढी हुन्छन्,’ उनले भने, ‘पर्यटक बढेकाले नै यहाँ व्यापार व्यवसाय गर्ने बढेका छन् ।’


मन्दिरमा भीड बढ्न थालेपछि स्थानीयस्तरमा उत्पादित फसलले बजार पाउन थालेको छ । ‘हलेसी पर्यटकको रोजाइमा छ,’ हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राइले भने, ‘त्यसैले बर्सेनि घुम्न आउने पर्यटकको संख्या बढ्दो छ ।’ उनका अनुसार नगरपालिकाले मन्दिरलाई व्यवस्थित गर्ने कार्य तीव्र पार्दै आइएको छ ।


मन्दिरको जीर्णोद्धार गरिएको छ । पर्यटकका लागि जानकारी दिने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको छ । मन्दिरभित्र भीडभाड बढी हुने भएकाले व्यवस्थित गर्न सीसी क्यामेरा जडान गरिएको मेयर राईले दाबी गरे । मन्दिरभित्र बत्ती जडान गरी रेलिङ निर्माण गरिएको छ । मन्दिर पुग्ने सिँढी थपिएको छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?