फूल खेतीमा किसान आकर्षित

गत वर्ष ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको कट फ्लावरको कारोबार भएको थियो 
नुमा थाम्सुहाङ

काठमाडौँ — जीएस नर्सरी भक्तपुरका सञ्चालक सुशील खड्काको तीन पुस्ता पुष्प खेतीमा संलग्न छ । २२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त नर्सरीबाट वार्षिक ५० लाख रुपैयाँ बराबरको कारोबार हुन्छ । विवाह, होटल तथा विभिन्न समारोहलाई आकर्षक देखाउन फूलको मागमा बढिरहेको उनको भनाइ छ ।

फूल खेतीमा किसान आकर्षित

‘जलबेरा, जिप्सोफिला र लिमोनियमका ४७ हजार बिरुवा नर्सरी रहेको छ, मौसमी फूलभन्दा पनि १२ महिनै उत्पादन दिने बिरुवा लगाएका छौं,’ उनले भने, ‘मौसमी फूलले एक समय मात्र उत्पादन दिन्छ, त्यसैले हामीले वर्षभरि माग हुने कट फ्लावरका बिरुवा लगाएका छौं ।’ राम्रो उत्पादनका लागि हाइब्रिड प्लान्टका सबै बिरुवा भारत र नेदरल्यान्डबाट आयात गरिरहेको उनले बताए । उनको नर्सरीमा १३ जनाले रोजगारी पाएका छन् ।


कट फ्लावरको व्यवसाय गर्ने उनी मात्र होइनन् । वर्षमा लाखौंको नाफा दिने भएकाले फूल खेतीमा आकर्षित हुने किसान बढेका छन् । नागार्जुन नगरपालिका घट्टे खोलामा ४० रोपनीमा फैलिएको फूल खेतीबाट अञ्जना आचार्य र पान्डव श्रेष्ठले लाखौंको कारोबार गरिहेका छन् । उनीहरूले १० वर्ष अगाडि ३ करोड रुपैयाँको सामूहिक लगानीमा व्यवसाय थालेका हुन् । सिर्जना कट फ्लावरको नर्सरी फार्म सञ्चालन गर्दै आएका उनीहरूले फूल व्यवसायबाट वार्षिक ७ लाख रुपैयाँसम्मको नाफा लिइरहेका छन् । उनको फार्ममा १५ जनाले रोजगारीसमेत पाएका छन् । अन्य समयभन्दा तिहारमा सयपत्री र गोदावरीको फूलको माग राम्रो हुने भएकाले ३ हजार बिरुवा लगाएको उनले बताइन् । उनका अनुसार यसबाट १५ हजार फूलको गुच्छा बन्छ ।


वार्षिक ६० रुपैयाँदेखि ७० लाख रुपैयाँसम्मको फूलको कारोबार भइरहेको अञ्जना बताउँछिन् । ‘भारत र होल्यान्डबाट गुलाब, जलेबेरा, कार्नेसनका बिरुवा १० रुपैयाँदेखि १२ लाख रुपैयाँ बराबरको नर्सरी बिरुवा आयात गर्छौं,’ उनी सुनाउँछिन्, ‘तिहारका लागि सयपत्री र गोदावरी, सिलोसिया, जिप्सोफिलालगायत सात थरीका कट फ्लार लगाएका छौं ।’ जलबेरा एक सिजन लगाइसकेपछि २ वर्षसम्म, गुलाबले ५ वर्षसम्म र कार्नेसनले ३ वर्षसम्म उत्पादन दिने उनले बताइन् । उनको नर्सरी फार्ममा ४० हजार फूलका बोट रहेका छन् ।


आफूसँग पर्याप्त जमिन नहुँदा अरूको जग्गा भाडामा लिएर व्यवसाय गर्नुपरेको उनले बताइन् । ‘सरकारले प्रयोगमा नआएको जमिन इच्छुक व्यवसायीलाई सहुलियतमा भाडा दिए सहज हुने थियो,’ उनी भन्छिन्, ‘यहाँ पनि हामीले जमिन भाडामा लिएर फूल खेती गरिरहेका छौं । अबको ९ वर्षपछि सम्झौता सकिन्छ । त्यसपछि कहाँ गएर के गर्ने थाहा छैन ?’


फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष शिवबहादुर खड्काले गएको वर्षमा १९ करोड रुपैयाँको कट फ्लावर बिरुवा आयात गरिएको बताए ।


‘एसोसिएसनसँग भएको तथ्यांकअनुसार गएको वर्षमा ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको कट फ्लावरको कारोबार भएको देखिएको छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा भन्दा काठमाडौं, पोखरा, चितवन, भैरहवा, धरानलगायत सहरी क्षेत्रमा खपत बढी हुन्छ ।’


वार्षिक १० देखि १५ प्रतिशतका दरले पुष्प व्यवसाय वृद्धि भइरहेको फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए । सीमित बजार, आधुनिक मल तथा दक्ष पुष्प विशेषज्ञको अभावजस्ता नेपाली पुष्प व्यवसायीको लागि चुनौतीका रूपमा रहेको पोखरेल बताउँछन् । नेपालमा माटो परीक्षणको ल्याब भए पनि सेवा ढिलो उपलब्ध हुने उनी सुनाउँछन् । ‘बिरुवाका लागि चाहिने पानीमा घुलनशील मल गैरकानुनी रूपमा नेपालमा आइरहेको छ । फूलका लागि गुणस्तरीय मल भएन भने उत्पादन घट्छ,’ उनले भने, ‘यो मलबाट बिरुवालाई चाहिने पोटास, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम र नाइट्रोजन सबै पाइन्छ । विदेशमा यसको प्रयोगले राम्रो फूल उत्पादन भइरहेको छ । यसको प्रयोगले माटोको गुणस्तरमा केही असर गर्दैन ।’


भारत, नेदरल्यान्ड, चीन र स्पेन पाम र स्वामीका बोट धेरै मात्रामा आयात हुने गरिन्छ । अर्किड, हिबिसकस पनि आयातित बिरुवा हुन् । नेपालमा हालसम्म ४ सय ५० प्रजातिको व्यावसायिक फूल खेती भइरहेको उनले बताए । गत वर्ष नेपालबाट ४६ लाख रुपैयाँको फूल निर्यात भएकामा १९ करोड रुपैयाँको बीउ, बिरुवा, माला तथा फूल आयात भएको उनले जानकारी दिए । ‘आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो,’ उनले भने, ‘यो वर्षमा २ अर्ब बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएको छ ।’ नेपालमा हाल लगभग १५७ हेक्टर क्षेत्रफलमा फूल व्यवसाय भइरहेको उनले सुनाए । नेपालमा ९ सयको हाराहारीमा पुष्प व्यवसायमा संलग्न रहेको उनले बताए ।


तिहारमा २० प्रतिशत तयारी फूल आयात

नजिकिएको तिहारले फूलको माग बढाएको छ । यो वर्ष तिहारमा २० प्रतिशत मात्र फूल आयात हुने फ्लोरिकल्चर एसोसिएसन नेपालले जानकारी दिएको छ । गत तिहारमा २२ लाख तयारी मालाको कारोबार थियो । अघिल्लो वर्ष १० करोड बराबरको कारोबार भएकामा यो वर्ष १३ करोड रुपैयाँ बराबरको तयारी मालाको कारोबार हुने अनुमान पोखरेलले गरेका छन् ।


‘गएको वर्ष नेपालकै १७ लाख माला खपत भएकामा भारतबाट ३ लाख माला आयात गरिएको थियो,’ उनले भने, ‘यो साल भने २५ लाख तयारी मालाको माग रहेको छ, त्यसमा १८ लाख सयपत्री बाँकी ७ लाख गोदावरी र मखमलीको रहेको छ ।’ यो वर्ष भने २ लाख २५ हजार मात्र तयारी माला भारतबाट आयात हुने उनले बताए ।


तिहारको समयमा सयपत्री फूलको माला बढी माग हुन्छ । जाडोमा गुलाब, गोदावरी, जलबेरालगायत कट फ्लावरको बढी माग आउँछ ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?