रामपुरमा १७ देशका बाख्रा विज्ञ

रमेशकुमार पौडेल

(चितवन) — बाख्रा पोषणका साथै र नगद आर्जनको राम्रो स्रोत हो । सजिलै हुर्काउन सकिने, बिक्री पनि हुने र मूल्य पनि पाइने बाख्रापालनले नेपालको गाउँगाउँमा नगद भित्र्याउन भूमिका खेलेको छ । 

रामपुरमा १७ देशका बाख्रा विज्ञ

मासु खाने व्यक्तिले बाख्राको मासु खान प्राय: नाइँनास्ति गर्दैनन् । नेपालको बाख्रापालन क्षेत्रलाई सुधार गर्न थप के गर्ने ? यो विषयमा विमर्श गर्न चितवनस्थित रामपुरमा १७ देशका बाख्रा विज्ञ जुट्दै छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले आइतबारदेखि एसिया क्षेत्रीय बाख्रा विज्ञहरूको सम्मेलन आयोजना गरेको छ ।


सम्मेलन बुधबार सकिनेछ । मूल आयोजक समितिका अध्यक्ष विश्वविद्यालयका निमित्त उपकुलपति शारदा थपलियाले सम्मेलनमा चार वटा विशेष कार्यपत्र, १० वटा आमन्त्रित नोट, ६० वटा मौखिक र ४३ पोस्टर गरी ११७ कार्यपत्र पेस हुने बताइन् ।


‘विश्वमा बाख्रापालनको क्षेत्रमा के भइरहेको छ ? नेपालमा के गर्नुपर्छ जस्ता विषयलाई केन्द्रमा राखेर कार्यपत्र पेस हुनेछन्,’ थपलियाले जानकारी दिइन् । बाख्रा अनुसन्धानमा संलग्न वैज्ञानिक, अनुसन्धानदाता, उद्यमी, विद्यार्थी सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा बाख्राको खाद्य तथा पोषण स्रोत, बाख्रा उत्पादनको राष्ट्रिय नीति, प्रजनन तथा अन्य स्वास्थ्य व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।


पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले नेपालको बाख्रापालन नीति र प्रदेश–१ का कृषि सचिव विमलकुमार निर्मलले बाख्रामा लाग्ने पीपीआरजस्ता रोग नियन्त्रणका विषयमा कार्यपत्र पेस गर्नेछन् । मूल आयोजक समितिका सदस्य सचिव रहेका विश्वविद्यालयका सह–प्रध्यापक निराजन भट्टराईले बाख्रा प्रजननका विषयमा नै विद्यावारिधि गरेका हुन् ।


भट्टराईले नेपालमा अघिल्लो वर्ष १ करोड २८ लाख बाख्रा उत्पादन भएको जानकारी दिए । नेपालमा बर्सेनि पाँचदेखि सात लाख गोटा खसी–बोका भारतबाट आउने गरेको उनको भनाइ छ । ‘बाख्रापालनको सम्भावना नेपालमा राम्रो छ । नीतिगत समस्या भए हटाउने र बजारको उचित प्रबन्ध गरे आर्जन र पोषणमा सहयोग पुग्छ,’ भट्टराईले भने ।


सम्मेलनमा कार्यपत्र पेस गर्ने स्वदेशी र विदेशी विज्ञ र सरकारी निकायका प्रतिनिधिहरूले यो विषयलाई सम्बोधन गर्ने आशा उनको छ । नेपालमा रैथानेदेखि विकासे जातका बाख्राहरू प्रशस्तै पाल्ने गरिन्छ । उच्च हिमाली क्षेत्रमा च्यांग्राहरू छन् । उच्च पहाडी क्षेत्रमा सिनहाल र पहाडी क्षेत्रमा खरी बाख्राहरू छन् । त्यसैगरी तराई क्षेत्रमा पनि रैथाने बाख्रा रहेका छन् ।


नेपालमा कुनै बेला भारतीय विकासे जात जमुना पारी प्रख्यात थियो । अहिले बोयर जात पाल्ने चलन चलेको छ । ‘रैथाने जातबाट बढी उत्पादन कसरी लिने, विकासे जातलाई नेपालको हावापानी, दाना र घाँस तथा भूबनोटअनुसार कसरी हुर्काउने बढाउने भन्ने विमर्श गरेर निचोड निकाल्ने थलो यो सम्मेलन हुनेछ,’ विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक नवराज देवकोटाले भने ।


प्रकाशित : कार्तिक ३, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?