२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

महिला सहकारीले बेचे साढे ४ करोडका खसीबोका

प्रमिता ढकाल

(भरतपुर) — चितवनमा महिलाहरूले सञ्चालन गरेका ६ वटा सहकारीहरूले दसैंमा मात्रै खसीबोकाबाट ४ करोड ५० लाख बढी आम्दानी गरेका छन् । 

महिला समन्वय समितिको संयोजनमा लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, तीनदोभान सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, चण्डिभन्ज्याङ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, कमिनचुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संकलन केन्द्रमार्फत ३ हजार ७ सय ९१ वटा खसीबोका बिक्री गरेका छन् ।


सहकारीमा आबद्ध महिलाहरूले घरमा पालेका खसीबोका संकलन गरी एकै ठाउँमा जम्मा पारेर जोखेर बेचिएको थियो । जिउँदो ९४ हजार ८ सय ५४ किलो बिक्री गरिएको कमिनचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड राप्ती–१० की अध्यक्ष अम्बिका लामाले बताइन् । हचुवामा मूल्यांकन गरी बिक्री गर्ने परिपाटी अन्त्य गर्दै जोखेर मात्रै खसी बोका बिक्री गर्न ग्रामीण भेगका महिला सहकारीहरूले अभियान नै चलाएका छन् ।


‘पहिला दिदी–बहिनीले घरमा आउने ग्राहकलाई हचुवाका भरमा खसीबोका बिक्री गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘हामीले जोखेर मात्र बिक्री गर्न जोड दिँदै संकलन केन्द्रसम्म ल्याएर बेच्यौं ।’ उनको सहकारीले ७३४ वटा खसीबोका बिक्री गर्‍यो । यस सहकारीमा राप्ती नगरपालिकाका पहाडी इलाका काउले, कोराक, थाकलटार, खहरे, लोथरका महिला आबद्ध छन् । संकलन केन्द्रमार्फत बिक्री गर्दा महिलाहरूले आफ्नो लगानी मात्र नभई केही नाफासमेत आर्जन गर्न सफल भएको उनको दाबी छ ।


साविकको सिद्धि, शक्तिखोर, गैरीबारी, देवीटार, दोघरालगायत पहाडी इलाकाका अधिकांश महिलाहरू घरखर्च टार्न बाख्रापालन गर्छन् । केहीले व्यावसायिक बाख्रापालन नै सुरु गरेका छन् । लोकल जातका खसी–बोका पालिने हुँदा सो क्षेत्रमा अन्य समयमा पनि खसीबोका खोज्ने ग्राहकको चाप हुने गर्दछ । ग्राहकले घरघरमै आएर मोलमोलाइ गरेर खसीबोका किन्ने गरेको कालिका ८ गैरीबारीकी लालमाया गुरुङले बताइन् ।


प्रकाशित : कार्तिक ३, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?