१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विद्युत्को बक्यौता : एकै जिल्लामा ४२ करोड

अवधेशकुमार झा

(राजविराज) — सप्तरीमा ४२ करोड रुपैयाँभन्दा बढी रकम विद्युत् महसुल उठाउन बाँकी छ । विद्युत्को मिटर जडान गरेपछि नियमित रूपमा महसुल नबुझाउँदा विभिन्न सरकारी कार्यालय र व्यक्तिवाट उक्त रकम असुलउपर गर्नुपर्ने देखिएको हो । 

विद्युत्को बक्यौता : एकै जिल्लामा ४२ करोड

नेपाल विद्युत् प्राधिकरण राजविराजका इन्जिनियर धीरेन्द्रकुमार यादवका अनुसार अहिले जिल्लामा सरकारी र व्यक्तिका नाममा रहेको मिटरवाट विद्युत् खपत गरेबापत ४२ करोड ९ लाख ११ हजार रुपैयाँ महसुल उठाउन बाँकी छ ।


‘समयमा महसुल तिर्दैनन्, बक्यौता रकम लाखौंमा पुगेपछि बारम्बार ताकेदा गर्दा पनि महसुल बुझाउँदैनन्,’ इन्जिनियर यादवले भने, ‘महसुल नबुझाएकाहरूको विद्युत् लाइन काटेर भए पनि रकम असुल गर्ने स्थिति सिर्जना भएको छ ।’ विद्युत् महसुल नबुझाउने सूचीमा राजविराज नगरपालिका सबभन्दा अगाडि रहेको छ । इन्जिनियर यादवका अनुसार राजविराज नगरपालिकाले १३ लाख ६८ हजार ९ सय ७७ रुपैयाँ २७ पैसा बुझाउन बाँकी छ । नगरपालिकाले लामो समयदेखि महसुल बुझाएको छैन । राजविराज नगरपालिकामाथि रहेको उक्त बक्यौता सडक बत्तीबाहेकको हो ।


यसैगरी गोपाल च्यारिटी ट्रस्टबाट ६ लाख १९ हजार ८ सय ९८ रुपैयाँ, जिल्ला समन्वय समिति सप्तरीबाट ७ लाख २४ हजार ६ सय ५४ रुपैयाँ, लक्ष्मी राइस मिलबाट ५ लाख ११ हजार ८ सय ८९ रुपैयाँ र संजय स मिलवाट ५ लाख ४६ हजार ८ सय ८९ रुपैयाँ महसुल असुल उपर गर्नुपर्ने रहेको प्राधिकरणले जनाएको छ । यसका अतिरिक्त पनि कयौ सरकारी कार्यालय र ब्यक्तीका नाममा लाखौ रुपैयाँ बराबरको महसुल असुलउपर गर्नुपर्ने इन्जिनियर यादवले बताए । ‘पटकपटक ताकेदा गर्दा पनि महसुल बुझाउँदैनन्,’ उनले भने । राजविराज कारागार कार्यालय पनि विद्युत् महसुल नबुझाउनेको सूचीमा अग्र भागमा छ । इन्जिनियर यादवले भने, ‘८–१० लाख रुपैयाँ कारागारमाथि बक्यौता भएपछि १–२ लाख रुपैयाँ बुझाउँछन् ।’


चोरी अत्यधिक

सप्तरी जिल्लामा विद्युत् महसुलबापतको करोडौं रकम उठाउन बाँकी रहँदा चुहावटको दर पनि उच्च छ । जिल्लामा ४५ प्रतिशत बिजुली चुहावट हुने गरेको इन्जिनियर साहले बताए । ग्रामीण क्षेत्रमा हुकिङ गरी तथा सहरी क्षेत्रमा मिटरलाई नै बिगारेर विद्युत् चुहावट हुने गरेको छ । प्राधिकरणले प्रहरीसँगको सबन्मयमा चुहावट गर्नेहरूलाई पक्राउ गरी जरिवाना असुल्ने गरेपछि चुहावटको क्रम रोकिएको छैन ।


इन्जिनियर यादवका अनुसार जिल्लामा मासिक रूपमा ९२ लाख ९० हजार ७ सय ९ दशमलव १८ युनिट विद्युत् खपत हुने गरेकामा ५२ लाख ६८ हजार २ सय ६६ दशमलव १८ युनिट मात्र कानुनी रूपमा मिटर लिएर खपत हुँदै आएको छ । बाँकी विद्युत् चुहावट नै हुने गरेको छ । प्राधिकरणका सह–लेखापाल शिवदेव साहका अनुसार सप्तरीमा मासिक साढे ४ करोड रुपैयाँ बराबरको विद्युत् चुहावट हुने गरेको छ ।


यता लामो समयसम्म विद्युत् महसुल नबुझाउने सरकारी कार्यालय र व्यक्तिको विद्युत् लाइन काट्ने कार्य प्राधिकरणले सुरु गरेको छ । पछिल्लो समय राजविराज भन्सार कार्यालय र राजविराजस्थित राजदेवी मन्दिरको लाइन काटिएको इन्जिनियर यादवले बताए । लाइन काटिएपछि भन्सार र सँगै रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट र नेपाल प्रहरीको भन्सारस्थित चौकीमा समेत विद्युत् सेवा बन्द भएको छ । महसुल नबुझाउनेको लाइन काट्ने अभियानअन्तर्गत धेरै व्यक्तिको लाइनसमेत काटिएको उनले बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?