फौजी किराको प्रकोप : साढे २० हजार हेक्टर धानबालीमा क्षति

राजु चौधरी

काठमाडौँ — फौजी किराको प्रकोपले मुलुकभर साढे २० हजार हेक्टर धानबालीमा क्षति पुगेको सरकारी अध्ययनले देखाएको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार कात्तिक १ गतेसम्म २० हजार ४ सय १४ हेक्टर धानबालीमा फौजी किराले क्षति पुर्‍याएको हो । ‘थप अध्ययन भइरहेको छ,’ केन्द्रका कार्यकारी प्रमुख सहदेवप्रसाद हुमागाईले भने । हालसम्मको अध्ययनमा सबैभन्दा बढी प्रदेश ५ को धानबालीमा क्षति पुगेको छ । बाँकेमा १७ हजार हेक्टर धानबाली नष्ट भएको छ । यसपछि सबैभन्दा बढी बर्दियामा २ हजार हेक्टरमा क्षति भएको जनाएको छ ।

अहिले खेतमा धान पाकेको बेला फौजी किराले बोट र बाला काटेपछि किसान मारमा परेका छन् । किसानले किरा मार्ने विषादी छरे पनि खासै नियन्त्रणमा आएको छैन । किसानका अनुसार दिउँसो किरा लुक्ने र राति बढी क्षति पु‍र्‍याउने गरेको छ । ‘फौजी किरा आक्रामक रूपमा फैलिँदै गएको छ । कृषिका लागि यो महारोग हो,’ राष्ट्रिय किसान समूह महासंघका निवर्तमान अध्यक्ष उद्धव अधिकारीले भने, ‘रोगले किसान चिन्तत छन् । यसले कृषि क्षेत्रमै ठूलो नष्ट पार्छ ।’

उनका अनुसार धानबालीसँगै धादिङका केही क्षेत्रमा कोदोमा समेत फौजी किरा देखिएको छ । सरकारले तत्कालीन नियन्त्रण नगरे समग्र कृृषि क्षेत्र समस्यामा पर्ने उनले बताए ।

प्रदेश १ मा ४ जिल्लामा फौजीको असर देखिएको छ । झापामा २ सय ८७ हेक्टर, उदयपुरमा १ सय ४१ हेक्टर, सुनसरी ७७ हेक्टर र मोरङ १२ हेक्टरमा क्षति भएको छ । प्रदेश ३ तर्फ सबैभन्दा बढी चितवनमा क्षति पुगेको छ । चितवनमा ६ सय ४४ हेक्टर, मकवानपुरमा १ सय ३ हेक्टर, सिन्धुलीमा १ सय ५० हेक्टरमा क्षति केन्द्रका पुगेको हुमागाईले बताए । धादिङ र ललितपुर क्षेत्रमा सामान्य असर गरे पनि पहिचान हुन नसकेको केन्द्रले जनाएको छ । ‘समन्वयको पाटोमा समस्या देखिएको छ,’ हुमागाईले भने, ‘जसले गर्दा सबै क्षेत्रबाट विवरण संकलन हुन सकेको छैन ।’

प्रदेश २ को रौतहट र बारामा क्षतिको रिपोर्टिङ भए पनि तथ्यांक आइसकेको छैन । केन्द्रका अनुसार कर्णाली र सुदूरपश्चिममा भने फौजी किराको प्रकोप छैन । केन्द्रका अनुसार फौजी किरा धान पाक्ने बेला बढी सक्रिय देखिन्छ । यसले धानको बाला नै टुक्राउँछ । काटेको बाला पनि टुक्राउँछ । जानकार अनुसार नेपालको हकमा नियन्त्रण बाहिर नै छ । समयमै नियन्त्रण हुने सबै बाली सखाप पार्ने विज्ञहरू बताउँछन् ।

‘यसको नियन्त्रण गर्ने दायित्व केन्द्रसँगै प्रदेश, स्थानीय सरकारले पनि हो,’ कार्यकारी प्रमुख हुमागाईले भने, ‘स्थानीय र प्रदेश सरकारलाई प्रोटोकलका कुरा, तालिम/परीक्षण दिएका छौ । नियन्त्रणका लागि सबै क्षेत्र सक्रिय हुनुपर्छ ।’ यी निकायबाहेक किसानको हकहितका लागि किसान आयोग पनि छ । तर, किसानको समस्यामा आयोग उदासीन छ । प्रभावकारी रूपमा काम गर्न नसकेको जानकारहरू बताउँछन् ।

किसान आयोगका प्रवक्ता रवीन्द्र केसीले भने किरा नियन्त्रण गर्ने सम्भावना रहेको बताए । यसका लागि कृषि ज्ञान केन्द्र, प्रदेश मन्त्रालयले प्राविधिकहरू खटाउनुपर्ने उनले बताए । ‘तराईका पूर्वतिर जटिल समस्या छ । मानवीय असर नहुने गरी किटनाशक प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ,’ उनले भने, ‘किसानले क्षतिपूर्ति पनि पाउनुपर्छ ।’ केन्द्रका निवर्तमान अध्यक्ष डिल्लीराज शर्माका अनुसार फौजी किरा अमेरिकाको किरा हो । यो बृहत् रूपमा नोक्सान गर्ने राजचर (रात्रि) किरा हो ।

‘३ वर्षअघि अफ्रिकामा मकैलाई ध्वस्त बनायो । गत वर्ष भारत प्रवेश गर्‍यो,’ उनले भने, ‘त्यसपश्चात् बंगलादेश, श्रीलंका, थाइल्यान्ड, चीन, कोरियासम्म फैलिएको छ ।’ उनका अनुसार फौजीले एउटा बाली मात्रै नभई धेरै बाली नष्ट गर्छ । सबैभन्दा बढी मकैलाई असर गर्छ । ‘करिब ८० प्रकारको घाँस बालीलाई नोक्सान पुर्‍याउँछ,’ उनले भने ।

फौजी किरा रातमा मात्रै चल्छ । एक रातमा एक सय किलोमिटर उड्न सक्छ ।

यो किरा गर्मी ठाउँमा बढी सक्रिय हुन्छ । १४ डिग्रीभन्दा कममा बाँच्न नसक्ने शर्माले बताए । धानलगत्तै मकै खेती हुने हुँदा तत्काल रोकथाम आवश्यक रहेको उनले बताए । ‘अहिले नै रोकथाम भएन भने मकै बाली ध्वस्त पार्छ,’ शर्माले भने ।

नियन्त्रणको उपाय
फौजी किरा मार्न अहिले विषादी प्रयोग भइरहेको छ । फौजीको प्रकोप नियन्त्रण गर्न विषादीभन्दा प्राकृति प्रविधि अपनाउनुपर्छ । पूर्वमहानिर्देशक शर्माका अनुसार एकृकीत शत्रुजीव व्यवस्थापन अपानाउनुपर्छ । ‘फौजी किराले कहाँ अण्डा पार्‍यो, कसरी हुर्कियो हेर्नुपर्छ ।

त्यसको आधारमा उपचार गर्नुपर्छ,’ निवर्तमान महानिर्देशक शर्माले भने, ‘फौजी किरालाई खपटे किरालगायत भाइरसले मार्छ । एकीकृत शत्रुजीव व्यवस्थापनको आधारमा नियन्त्रण गर्दा दिगो हुन्छ ।’ विषादी मात्रै प्रयोग गर्दा प्रकोप थप बढ्ने जानकारहरू बताउँछन् । महासंघका निवर्तमान अध्यक्ष अधिकारीले पनि फौजी किरा विषले नियन्त्रण हुन नसक्ने बताउँछन् ।

‘विष हालेर किरा सिध्याउने सिद्धान्त नै गलत हो । विषको असर अरू क्षेत्रमा पनि गर्छ,’ अधिकारीले भने, ‘किरा नियन्त्रण गर्न अन्य किरा उत्पादन गरेर समस्या समाधान गर्नुपर्छ ।’

प्रकाशित : कार्तिक २, २०७६ ०९:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एनआरएनएको चुनावमा किन भोटिङ मेसिनबाट मतदान हुन सकेन ?

'नामावली नदिँदा मेसिनबाट मतदान भएन’
विमल खतिवडा

काठमाडौँ — समयमै मतदाता नामावली उपलब्ध नगराउँदा गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावमा भोटिङ मेसिनमार्फत मतदान गराउन नसकेको सञ्चालकहरूले बताएका छन् ।

मेसिनमा कुनै प्राविधिक खराबी नरहेको भोटिङ मेसिनका सञ्चालकहरू रामप्रसाद रिमाल र लक्ष्मण रिमालले विज्ञप्ति जारी गरी बताएका हुन् । मेसिनको त्रुटिभन्दा पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) को अव्यस्थाका कारण मतदान गराउन नसकिएको उल्लेख छ । अन्तिम नामावलीको प्रमाणित प्रतिन्यूनतम ८ घण्टाअघि नै दिने भनिए पनि ३ घण्टा पनि समय नपाएको बताएका छन् ।
‘निर्वाचन समितिबाट आधिकारिक नाम पाउन सकेनौं, काम गर्ने समय पनि पर्याप्त भएन,’ विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारको नाम तस्बिर राखी नसक्दै बाहिरको भीड थामी नसक्नु भयो, परीक्षणबिनै मतदान सुरु गर्नुपर्ने बाध्यताले मेसिनको बट्टामा नट कस्नसम्म भ्याएनौं ।’

मतदान सुरु गर्दा फोटो र नाममा समस्या देखिएको र उक्त समस्यालाई तुरुन्तै समाधान गरी सोही ठाउँमा देखाइसकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘हामीले विकास गरी पचासौं निर्वाचन सम्पन्न गरेको भोटिङ मेसिनमा आजसम्म कुनै प्राविधिक खराबी नरहेको सबैमा जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले हामीलाई अझ अनुभवी बनाएको छ ।’

एनआरएनएको निर्वाचनमा विद्युतीय मेसिनबाट भोटिङ हुने भनिए पनि पहिलो भोटिङमै मेसिन बिग्रँदा मत पत्रका आधारमा मतदान गराइएको थियो ।

गैरआवासीयनेपाली संघमा पन्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कुल आचार्यलाई १४७ मतअन्तरले पराजित गर्दै पन्त विजयी भएका हुन् । उनले १२१७ मत ल्याए । आचार्यले १०७० मत प्राप्त गरेका थिए । चाबहिलस्थित होटल हयातमा सम्पन्न मतदानअनुसार चार उपाध्यक्षमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी र सोनाम लामा विजयी भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा रविना थापा, महासचिवमा हेमराज शर्मा निर्वाचित भएका छन् ।

निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेका अनुसार सचिवमा गौरीराज जोशी, आरके शर्मा र कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सह-कोषाध्यक्षमा लोकप्रसाद दाहाल, महिला संयोजकमा भोमादेवी लिम्बु, युवा संयोजकमा हिमाल गुरुङ निर्वाचित भएका छन् । ४१ पदका लागि निर्वाचन भएको थियो । केही पदमा भने उम्मेदवारी नपरेको र केहीमा भने निर्विरोध निर्वाचित भए पनि अधिकांश पदमा निर्वाचन भएको थियो ।

बिहीबार भएको मतदानमा कुल २५७० मतदातामध्ये २३४४ मत खसेको थियो । जसमा सबैभन्दा बढी युरोपबाट ९२० मत खसेको थियो । अमेरिकाबाट २७१, अस्ट्रेलिया र न्युजिल्यान्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको छ । राति अबेर मतगणना भएकाले समयमै परिणाम आउन ढिलाइ भएको थियो । मत पत्रको आधारमा मतदान गरिएकाले मतदान र मत गणनामा ढिलाइ भएको थियो ।

मंगलबार सुरु संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन बिहीबार सकिने जनाइएको थियो । विद्युतीय भोटिङ मेसिनले काम नगर्दा समयमै मतदान हुन नसकेको संघले जनाएको छ ।

शुक्रबार मध्याह्न मत परिणाम सार्वजनिक हुनासाथ विजयी उम्मेदवारका आफन्त अविर, माला र खादा बोकेर होटलमा जम्मा भएका थिए । होटल परिसर बिहानैबाट पञ्चेबाजाले गुञ्जयमान बनेको थियो । विजयी भएकालाई मतदाता र आफन्तले अविर जात्रा गरेर काँधमा राखी विजयी नारा लगाएका थिए । अप्रिय घटना हुन नदिन होटल परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र ससशस्त्र प्रहरी परिचालन गरिएको थियो । एनआरएनए सम्मेलनको व्यवस्थापन पक्ष भने एकदम कमजोर देखिन्थ्यो । बिहान १० बजे गणना सकिए पनि १ बजे मात्र मत परिणाम सार्वजनिक गरिएको थियो ।

१२ बुँदे घोषणा जारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सकिएको जनाएको छ । नेपालमा उपयुक्त वातावरण सिर्जना भएकाले जलविद्युत्, पर्यटन, बैंकिङ, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधिलगायत क्षेत्रहरूमा लगानी गर्न आह्वान गरेको छ ।

नेपालको संविधानमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको लागि ऐन निर्माणमा तदारूकताका साथ लागि पर्न सरकारलाई अनुरोध गरेको छ । ‘बाह्य लगानी आकर्षणमा प्रमुख बाधक रूपमा औंल्याइएको दोहोरो करको समस्यालाई सम्बोधन गरी लगानी आकर्षणको वातावरण बनाउन नेपालको कूटनीतिक नियोग रहेका र धेरै नेपालीको बसोवास रहेका मुलुकहरूसँग अविलम्ब दोहोरो कर उन्मुक्तिको सम्झौता, लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौतालगायतका सम्झौता’ गर्न पनि अनुरोध गरेको छ ।

गैरआवासीय नेपाली संघ र अभियान एक गैरराजनीतिक चरित्रको भएको बताउँदै दलगत राजनीतिबाट टाढा राख्न राजनीतिक दल र विदेश स्थित भ्रातृ संगठनहरूलाई आह्वान पनि गरेको छ ।


प्रकाशित : कार्तिक २, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT