विकृति रोक्न निःशुल्क सदस्यता र ई-भोटिङ : एनआरएनए नवनिर्वाचित अध्यक्ष  पन्त

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कुल आचार्यलाई १४७ मतअन्तरले पराजित गर्दै पन्त विजयी भएका हुन् ।

विकृति रोक्न निःशुल्क सदस्यता र ई-भोटिङ : एनआरएनए नवनिर्वाचित अध्यक्ष  पन्त

जितपछि उनले सबैलाई एकतावद्ध भएर लाग्न अनुरोध गरे ।


जित पछि के भने ? उनकै भनाइमा -

गैरआवासीय नेपाली अभियानमा कसैको पनि हारजित हुँदैन । सबैले जित्छौं । कोही पनि संस्था बाहिर रहने छैन । सबैलाई एकताबद्ध बनाएर लग्ने प्रण गर्दछु ।


नेपालले हामीबाट ठूलो अपेक्षा र आशा राखेको राम्रोसँग महसुस गरेको छु । हामीले भर्खरै मात्र नेपाल सरकारसँग कम्तीमा पनि १० अर्ब बराबरको लगानी ल्याउँछौं भनेका छौं । यसको निम्ति म प्रतिबद्ध छु । भोलिबाटै यो रकम ल्याउने काममा लाग्नेछु । मैले ८० लाख गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा विकसित गर्न चाहेको छु ।


हाम्रो संस्थाभित्र केही विकृतिहरू भित्रिएका छन् । संस्थालाई जबर्जस्ती राजनीतिकरण गर्न खोजिएको छ । जुन होटलमा बसेर हामी सम्मेलन गर्दै थियौं, त्यहाँ कोठामा कोठामा राजनीतिक दलका नेताहरूले चाहार्ने र भोट माग्ने काम गरे । यो संस्था कुनै राजनीतिक दलको भ्रातृ संस्था पो हुने हो कि भन्ने डर छ । अर्को संस्थामा व्यापक आर्थिक विकृतिहरू भित्रिएका छन् ।


चुनावमा आर्थिक चलखेल गर्ने, आर्थिक प्रलोभन देखाएर भोट प्रभावित पार्ने कुरा आइरहेका छन् । यस्ता कुराहरूको निराकरण र अन्त्यका लागि निःशुल्क सदस्यताको व्यवस्था गरिनेछ । यसो गर्नसाथ पैसाको लगानी कसैले पनि गर्नुपर्ने छैन । जो चर्चित र योग्य छ, उसैलाई संसारभरका गैरआवासीय नेपालीले निर्वाचित गराउनेछन् ।


अहिले प्रविधिको जमानामा पनि काठमाडौंमा भेला भएर, लाइन लागेर भोट गर्नुपर्ने अवस्था छ । हजारौं रुपैयाँ खर्च हुन्छ । अब घरघरमै बसेर ई-भोटिङ गर्ने व्यवस्थाको विकास गर्नेछु । नयाँ नेतृत्व छान्न काठमाडौंमा आइरहनुपर्ने छैन ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?