बंगलादेशसम्म बस चलाउन छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र बंगलादेशबीच कात्तिक ४ र ५ गते काठमाडौंमा हुने वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको बैठकमा बस सेवा सञ्चालनबारे छलफल हुने भएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार बैठकमा नेपाल र बंगलादेशबीच व्यापार, वाणिज्य, लगानी अभिवृद्धिसँगै बस सेवा सञ्चालनका विषयमा छलफल हुन लागेको हो । 

ZenTravel

नेपाल, भारत, बंगलादेश र भुटानबीच सन् २०१५ को जुनमा भएको ‘बीबीआईएन मोटर भेहिकल’ सम्झौता भएको थियो । २०७५ वैशाख १२ मा परीक्षणका रूपमा ढाकाबाट दुई बस नेपाल ल्याइएको थियो । यो सम्झौतामा भुटानले हस्ताक्षर गरेको छैन । फूलबारी-बंगलाबन्द मार्ग परीक्षणका रूपमा सञ्चालन भएका ती बस काठमाडौं आएर ढाका फर्किएपछि सेवालाई निरन्तरता दिइएन ।

Meroghar


मन्त्रिपरिषद्ले सहसचिवस्तरीय प्राविधिक समितिको बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय टोली गठन गरेको छ । नेपाल र बंगलादेशबीच हुन लागेको यो चौथो बैठक हो । यस्तै मन्त्रिपरिषद्ले व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन संस्थागत संरचना स्वीकृत गरेको छ । व्यापार इन्डेक्समा सुधार गर्न र लगानीको वातावरण बनाउन संस्थागत संरचना स्वीकृत गरिएको सरकारले जनाएको छ ।

आर्थिक सहायता
सञ्चारमन्त्री बाँस्कोटाका अनुसार मन्त्रिपरिषद्ले सशस्त्र द्वन्द्वमा मारिएका बाँके नेपालगन्ज-२ का अधिकारकुमार शर्माका बाबु जयलाललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । जनआन्दोलनमा घाइते काभ्रेको पाँचखालकी सानुमाया लामालाई ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

वन क्षेत्र प्रयोग गर्न दिने
सरकारले जलविद्युत्, प्रसारण लाइन, बसपार्क, चुनढुंगा उत्खननका लागि विभिन्न जिल्लामा वन प्रयोग गर्न दिने निर्णय गरेको छ । तल्लो इर्खुवा खोला जलविद्युत्का लागि भोजपुरका षडानन्द-१ को १.३७ हेक्टर राष्ट्रिय वन, मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण आयोजनका लागि बेंसीसहर नगरपालिकामा रहेका सामुदायिक र राष्ट्रिय गरी १६.२८ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको हो ।

यस्तै भेरीगंगा बसपार्क निर्माण र सञ्चालनका लागि वडा नं १२ स्थित राष्ट्रिय वन २.१५ हेक्टर, माथिल्लो छन्दी खोला साना जलविद्युत्का लागि लमजुङ र दोर्दी गाउँपालिकास्थित राष्ट्रिय वनको १.३१७ हेक्टर वन दिइने भएको छ ।

चुनढुंगा उत्खननका लागि तनहुँको व्यास, उदयपुरको उदयपुरगढी, ललितपुरको गोदावरीमा रहेका वन क्षेत्र उपयोग गर्न दिने सरकारले निर्णय गरेको छ । रेडियो नेपालको खुमलटारस्थित जग्गा प्रतिआना ४० लाख रुपैयाँका दरले नेपाल दूरसञ्चार प्राधिकरणलाई दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:३७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अलैंची अध्ययन गर्न विदेशी बगानमा

आश गुरुङ

लमजुङ — जिल्लामा उत्पादित अलैंचीलाई जर्मन, अस्ट्रिया र स्विटजरल्यान्ड निर्यात गर्न त्यहाँका व्यवसायीले सम्भाव्यता अध्ययन गरेका छन् । मसला बालीको व्यवसाय प्रवर्द्धन गर्दै आएका उनीहरूले मर्स्याङ्दी गाउँपालिका-७ लुदीमा आएर अध्ययन गरेका हुन् ।

यो समूहले टिमुरका लागि म्याग्दीमा सम्भाव्यता अध्ययन गरिसकेको छ । कफीका लागि सोलुखुम्बुमा अध्ययन गर्ने तयारीमा छ ।

उनीहरूले अलैंची बगानको अवलोकन गर्ने टिप्ने तरिका, टिपेपछि सुकाउन भट्टीसम्म लाने प्रक्रिया, सुकाउने विधि, गुणस्तर, भण्डारणलगायतको विषयमा अध्ययन गरेका छन् । फार्मिङ फर हेल्थमार्फत उनीहरूलाई अलैंची पठाएपछि सोचेअनुसारको गुणस्तर पाइएकाले सम्भाव्यता अध्ययन गरेको टोलीले बताएको छ ।

अस्ट्रियास्थित लुफान्सा एयरलाइनसका सिनियर पाइलटसमेत रहेका हेल्प अलाइनसका अध्यक्ष डोमिनिक कोप्पले अलैंची गुणस्तर देखेर अध्ययनका लागि आएको बताए । फार्मिङ फर हेल्थको अस्ट्रियाका अध्यक्ष प्रोफेसर कर्ट लुगरले नेपालबाट केही मसला बाली भित्र्याउने योजनाका साथ अध्ययन थालिएको बताए । जर्मन नागरिक लुफान्साका खाद्य व्यवस्थापक थोमस ब्रोकेनाउरले जर्मनमा भिन्दै खालको मसला बाली हुने गरे पनि अलैंची भने नहुने बताए ।

‘हामी जर्मन मात्रै नभई अन्य देशमा पनि यहाँको अलैंची लान चाहान्छौं । हाम्रो अध्ययन यसैका लागि हो,’ उनले भने । स्विटजरल्यान्डस्थित स्विस एयरलाइन्सका खाद्य व्यवस्थापक बेनिडिक्ट फन्कोनीले भने, ‘हामीले गर्दा केही हुन्छ भने गरौं भनेर आएको हौं । व्यावसायिक प्रवर्द्धनका लागि तयार छौं ।’

अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष एवं प्रधामन्त्री कृषि आधुनीकीकरण अलैंची जोन सञ्चालक समितिका अध्यक्ष अजय तामाङका अनुसार जर्मन, अस्ट्रिया र स्विटजरल्यान्डबाट आएका आएका व्यवसायीले बिहीबार अलैंची बगानमै पुगेर अध्ययन गरेका थिए । उनीहरूले अलैंची टिपेको, ल्याएर सुकाएको, ग्रेडिङ गरेको लगायत हेरेका थिए ।

अलैंची खेतीबारे स्थानीयर्सग अन्तरक्रियासमेत गरेका थिए । ‘लमजुङको अलैंचीप्रति विदेशी कृषक र व्यवसायीको चासो बढ्न थालेको छ । अहिलेको अध्ययन विदेश लैजानको लागि हो,’ उनले भने । उनका अनुसार यसअघि भारत, भुटान र अस्ट्रेलियाका नागरिकले लमजुङको अलैंची अध्ययन गरेका छन् ।

लुदी अलैंची कृषक समूहका सञ्चालक सोमबहादुर तामाङका अनुसार गाउँका ४४ घरपरिवारले १५ देखि २० रोपनीमा खेती गरेका छन् । कृषक समूह पनि छ । ‘हामीले फलाएको अलैंची विदेश लाने तयारीका लागि गरिएको अध्ययनले हामी उत्साहित भएका छौं,’ उनले भने ।

फार्मिङ फर हेल्थका निर्देशक नारायण ढकालका अनुसार सुरुमा अलैंचीको नमुना पठाइएको थियो । सम्भाव्यता गर्न ‘बिजनेस लिडर’ सहित जर्मनका ८, स्विटजरल्यान्डका ४ र अस्ट्रियाका २ नागरिक नेपाल आएका छन् । ‘टोली संसारमा मसला बालीको व्यवसाय प्रवर्द्धन गर्ने समूह हो । उनीहरूले नेपालका ३ वटा मसला बालीलाई प्रवर्द्धन गर्न खोजेका छन्,’ उनले भने ।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना (अलैंची जोन) कार्यालयका अनुसार लमजुङमा १ हजार २ सय हेक्टर बढी क्षेत्रफलमा अलैंची खेती गरिएको छ । ७३५ हेक्टर क्षेत्रफलमा अलैंची उत्पादन हुँदै आएको अलैंची जोन प्रमुख ईश्वरीप्रसाद नेउपानेले बताए । कार्यालयका अनुसार गएको वर्ष ७ सय ५० क्विन्टल अलैंची उत्पादन भएको थियो ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×