अलैंची अध्ययन गर्न विदेशी बगानमा

आश गुरुङ

लमजुङ — जिल्लामा उत्पादित अलैंचीलाई जर्मन, अस्ट्रिया र स्विटजरल्यान्ड निर्यात गर्न त्यहाँका व्यवसायीले सम्भाव्यता अध्ययन गरेका छन् । मसला बालीको व्यवसाय प्रवर्द्धन गर्दै आएका उनीहरूले मर्स्याङ्दी गाउँपालिका-७ लुदीमा आएर अध्ययन गरेका हुन् ।

यो समूहले टिमुरका लागि म्याग्दीमा सम्भाव्यता अध्ययन गरिसकेको छ । कफीका लागि सोलुखुम्बुमा अध्ययन गर्ने तयारीमा छ ।

उनीहरूले अलैंची बगानको अवलोकन गर्ने टिप्ने तरिका, टिपेपछि सुकाउन भट्टीसम्म लाने प्रक्रिया, सुकाउने विधि, गुणस्तर, भण्डारणलगायतको विषयमा अध्ययन गरेका छन् । फार्मिङ फर हेल्थमार्फत उनीहरूलाई अलैंची पठाएपछि सोचेअनुसारको गुणस्तर पाइएकाले सम्भाव्यता अध्ययन गरेको टोलीले बताएको छ ।

अस्ट्रियास्थित लुफान्सा एयरलाइनसका सिनियर पाइलटसमेत रहेका हेल्प अलाइनसका अध्यक्ष डोमिनिक कोप्पले अलैंची गुणस्तर देखेर अध्ययनका लागि आएको बताए । फार्मिङ फर हेल्थको अस्ट्रियाका अध्यक्ष प्रोफेसर कर्ट लुगरले नेपालबाट केही मसला बाली भित्र्याउने योजनाका साथ अध्ययन थालिएको बताए । जर्मन नागरिक लुफान्साका खाद्य व्यवस्थापक थोमस ब्रोकेनाउरले जर्मनमा भिन्दै खालको मसला बाली हुने गरे पनि अलैंची भने नहुने बताए ।

‘हामी जर्मन मात्रै नभई अन्य देशमा पनि यहाँको अलैंची लान चाहान्छौं । हाम्रो अध्ययन यसैका लागि हो,’ उनले भने । स्विटजरल्यान्डस्थित स्विस एयरलाइन्सका खाद्य व्यवस्थापक बेनिडिक्ट फन्कोनीले भने, ‘हामीले गर्दा केही हुन्छ भने गरौं भनेर आएको हौं । व्यावसायिक प्रवर्द्धनका लागि तयार छौं ।’

अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष एवं प्रधामन्त्री कृषि आधुनीकीकरण अलैंची जोन सञ्चालक समितिका अध्यक्ष अजय तामाङका अनुसार जर्मन, अस्ट्रिया र स्विटजरल्यान्डबाट आएका आएका व्यवसायीले बिहीबार अलैंची बगानमै पुगेर अध्ययन गरेका थिए । उनीहरूले अलैंची टिपेको, ल्याएर सुकाएको, ग्रेडिङ गरेको लगायत हेरेका थिए ।

अलैंची खेतीबारे स्थानीयर्सग अन्तरक्रियासमेत गरेका थिए । ‘लमजुङको अलैंचीप्रति विदेशी कृषक र व्यवसायीको चासो बढ्न थालेको छ । अहिलेको अध्ययन विदेश लैजानको लागि हो,’ उनले भने । उनका अनुसार यसअघि भारत, भुटान र अस्ट्रेलियाका नागरिकले लमजुङको अलैंची अध्ययन गरेका छन् ।

लुदी अलैंची कृषक समूहका सञ्चालक सोमबहादुर तामाङका अनुसार गाउँका ४४ घरपरिवारले १५ देखि २० रोपनीमा खेती गरेका छन् । कृषक समूह पनि छ । ‘हामीले फलाएको अलैंची विदेश लाने तयारीका लागि गरिएको अध्ययनले हामी उत्साहित भएका छौं,’ उनले भने ।

फार्मिङ फर हेल्थका निर्देशक नारायण ढकालका अनुसार सुरुमा अलैंचीको नमुना पठाइएको थियो । सम्भाव्यता गर्न ‘बिजनेस लिडर’ सहित जर्मनका ८, स्विटजरल्यान्डका ४ र अस्ट्रियाका २ नागरिक नेपाल आएका छन् । ‘टोली संसारमा मसला बालीको व्यवसाय प्रवर्द्धन गर्ने समूह हो । उनीहरूले नेपालका ३ वटा मसला बालीलाई प्रवर्द्धन गर्न खोजेका छन्,’ उनले भने ।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना (अलैंची जोन) कार्यालयका अनुसार लमजुङमा १ हजार २ सय हेक्टर बढी क्षेत्रफलमा अलैंची खेती गरिएको छ । ७३५ हेक्टर क्षेत्रफलमा अलैंची उत्पादन हुँदै आएको अलैंची जोन प्रमुख ईश्वरीप्रसाद नेउपानेले बताए । कार्यालयका अनुसार गएको वर्ष ७ सय ५० क्विन्टल अलैंची उत्पादन भएको थियो ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:३३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कात्तिकभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीलाई कात्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिन आग्रह गरेको छ ।

ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्पपीडितलाई आग्रह गरेका हुन् । २०७५ असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय कात्तिक मसान्तसम्म तोकिएको छ ।

सरकारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रोमा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९ सय १० लाभग्राहीसँग अनुदान सम्झौता भएकामा ७ लाख ६८ हजार ५ सय ४९ लाभग्राहीले पहिलो किस्ता, ६ लाख १२ हजार १ सय ५ जनाले दोस्रो र ५ लाख ७ जार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×