कात्तिकभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीलाई कात्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिन आग्रह गरेको छ ।

ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्पपीडितलाई आग्रह गरेका हुन् । २०७५ असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय कात्तिक मसान्तसम्म तोकिएको छ ।

सरकारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रोमा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९ सय १० लाभग्राहीसँग अनुदान सम्झौता भएकामा ७ लाख ६८ हजार ५ सय ४९ लाभग्राहीले पहिलो किस्ता, ६ लाख १२ हजार १ सय ५ जनाले दोस्रो र ५ लाख ७ जार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पर्यटक लोभ्याउँदै लिमी

समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा अवस्थित लिमी उपत्यकामा एक हजार वर्ष पुरानो हल्जी गुम्बा रहेको छ
छपाल लामा

हुम्ला — लिमी पुग्न कम्ती गाह्रो छैन । समुद्री सतहदेखि करिब ५ हजार मिटर उचाइको लेक नाघ्नुपर्छ । जब दुःखको पहाड चढेर लिमी पुगिन्छ, तब ती सबै दुःख-कष्ट क्षणभरमै हराउँछन् । त्यसैले त लुकेको बस्ती भनेर चिनिने लिमी उपत्यकाले पर्यटकलाई लोभ्याइरहेको छ ।

चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका-६ मा पर्ने लिमी उपत्यकामा देशविदेशबाट पर्यटकहरू समूह बनाएरै पुग्ने गर्छन् । स्थानीय गिरमेत लामाका अनुसार यस वर्ष पर्यटकको ७ वटा समूहले लिमी भ्रमण गरिसकेका छन् । गत वर्ष करिब १० वटा समूहले लिमी भ्रमण गरेका उनले बताए । ‘प्रचारप्रसार हुन थालेपछि पर्यटक आउने क्रम पनि बढेको छ,’ उनले भने, ‘भौगोलिक कठिनाइ हुँदाहुँदै पनि घुम्न आउनेको कमी छैन ।’

लिमीको सौन्दर्य त छँदै छ, करिब एक हजार वर्ष पुरानो हल्जी गुम्बा पर्यटक तान्ने महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको छ । यो गुम्बा ११ औं शताब्दीमा निर्माण भएको हो । गुम्बाका अध्येतासमेत रहेका सांसद छक्कबहादुर लामाका अनुसार लिमीमा अन्य दुईवटा गुम्बा भए पनि हल्जी गुम्बाको विशेष महत्त्व छ । गुम्बा निर्माण गर्ने लामाले तिलगाउँ नजिकै गुफा बनाई तपस्यासमेत गरेका थिए । भारतको काश्मीरबाट कालिगढ झिकाएर गुम्बा निर्माण गरिएको उनले बताए ।

लिमी घुम्ने आउने पर्यटकका कारण स्थानीयसमेत दंग छन् । यसले वर्षौंसम्म लुकेर रहेको लिमीको प्रचारप्रसार हुनुका साथै हल्जी गुम्बाको महत्त्व बाहिरी दुनियाँसम्म पुगेको उनीहरूको भनाइ छ । स्थानीय काल्जाङ्मु लामाका अनुसार त्यहाँ पुग्ने पर्यटकलाई लिमी गाउँमा गठन भएको पर्यटन व्यवस्थापन समितिले बसोबासको व्यवस्था गर्छ । सामान्य टेन्टको प्रतिरात १ सय ५० रुपैयाँ र किचेनसहितको टेन्टको प्रतिरात २ सय ५० रुपैयाँ शुल्क लिने गरिएको उनले बताए । उनका अनुसार गत वर्ष टेन्टबापत करिब १३ हजार रुपैयाँ संकलन भएको थियो । यस वर्ष हालसम्म ५ हजार संकलन भएको र पर्यटक आगमन जारी रहेकाले रकम थपिने उनले बताए ।

लिमी घुम्नका लागि भदौ मध्यदेखि कात्तिकसम्म उपयुक्त समय मानिन्छ । सदरमुकाम सिमकोटबाट सुरु हुने लिमी यात्रा निकै रमाइलोसमेत हुने गर्छ । बाटोमा प्राचीन संस्कृति र सम्पदाको अवलोकन गर्न पाइनुका साथै प्राकृतिक सुन्दरता पनि हेर्न पाइने लिमी पुगेका पर्यटकहरू बताउँछन् । त्यहाँको संस्कृतिले झन् उनीहरूलाई चकित तुल्याउने गर्छ । लामा र तामाङ समुदायको बसोबास रहेको लिमीमा एउटा छोरालाई गुम्बामा पुजारीका रूपमा राख्नुपर्ने बाध्यता छ । ‘लिमीमा सरकारी कानुनभन्दा गाउँको आफ्नै नियम कानुन प्रचलनमा छन्,’ दुई वर्षअघि लिमी पुगेका पत्रकार भरतबन्धु थापाले भने, ‘यहाँ पुग्दा अर्कै दुनियाँमा पुगेको अनुभूति हुँदोरहेछ ।’

नाम्खा गाउँपालिकाले लिमी उपत्यकाको प्राकृतिक सुन्दरता र हल्जी गुम्बालगायत अन्य सम्पदाको प्रचारप्रसार तथा संरक्षणका लागि पहल थालेको छ । गत वर्षदेखि लिमीमा महोत्सव आयोजना गर्न थालिएको छ ।

आगामी वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर पर्यटकीय सम्भावनाबारे काम थालिने गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT