१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पर्यटक लोभ्याउँदै लिमी

समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा अवस्थित लिमी उपत्यकामा एक हजार वर्ष पुरानो हल्जी गुम्बा रहेको छ
छपाल लामा

हुम्ला — लिमी पुग्न कम्ती गाह्रो छैन । समुद्री सतहदेखि करिब ५ हजार मिटर उचाइको लेक नाघ्नुपर्छ । जब दुःखको पहाड चढेर लिमी पुगिन्छ, तब ती सबै दुःख-कष्ट क्षणभरमै हराउँछन् । त्यसैले त लुकेको बस्ती भनेर चिनिने लिमी उपत्यकाले पर्यटकलाई लोभ्याइरहेको छ ।

पर्यटक लोभ्याउँदै लिमी

चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका-६ मा पर्ने लिमी उपत्यकामा देशविदेशबाट पर्यटकहरू समूह बनाएरै पुग्ने गर्छन् । स्थानीय गिरमेत लामाका अनुसार यस वर्ष पर्यटकको ७ वटा समूहले लिमी भ्रमण गरिसकेका छन् । गत वर्ष करिब १० वटा समूहले लिमी भ्रमण गरेका उनले बताए । ‘प्रचारप्रसार हुन थालेपछि पर्यटक आउने क्रम पनि बढेको छ,’ उनले भने, ‘भौगोलिक कठिनाइ हुँदाहुँदै पनि घुम्न आउनेको कमी छैन ।’


लिमीको सौन्दर्य त छँदै छ, करिब एक हजार वर्ष पुरानो हल्जी गुम्बा पर्यटक तान्ने महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको छ । यो गुम्बा ११ औं शताब्दीमा निर्माण भएको हो । गुम्बाका अध्येतासमेत रहेका सांसद छक्कबहादुर लामाका अनुसार लिमीमा अन्य दुईवटा गुम्बा भए पनि हल्जी गुम्बाको विशेष महत्त्व छ । गुम्बा निर्माण गर्ने लामाले तिलगाउँ नजिकै गुफा बनाई तपस्यासमेत गरेका थिए । भारतको काश्मीरबाट कालिगढ झिकाएर गुम्बा निर्माण गरिएको उनले बताए ।


लिमी घुम्ने आउने पर्यटकका कारण स्थानीयसमेत दंग छन् । यसले वर्षौंसम्म लुकेर रहेको लिमीको प्रचारप्रसार हुनुका साथै हल्जी गुम्बाको महत्त्व बाहिरी दुनियाँसम्म पुगेको उनीहरूको भनाइ छ । स्थानीय काल्जाङ्मु लामाका अनुसार त्यहाँ पुग्ने पर्यटकलाई लिमी गाउँमा गठन भएको पर्यटन व्यवस्थापन समितिले बसोबासको व्यवस्था गर्छ । सामान्य टेन्टको प्रतिरात १ सय ५० रुपैयाँ र किचेनसहितको टेन्टको प्रतिरात २ सय ५० रुपैयाँ शुल्क लिने गरिएको उनले बताए । उनका अनुसार गत वर्ष टेन्टबापत करिब १३ हजार रुपैयाँ संकलन भएको थियो । यस वर्ष हालसम्म ५ हजार संकलन भएको र पर्यटक आगमन जारी रहेकाले रकम थपिने उनले बताए ।


लिमी घुम्नका लागि भदौ मध्यदेखि कात्तिकसम्म उपयुक्त समय मानिन्छ । सदरमुकाम सिमकोटबाट सुरु हुने लिमी यात्रा निकै रमाइलोसमेत हुने गर्छ । बाटोमा प्राचीन संस्कृति र सम्पदाको अवलोकन गर्न पाइनुका साथै प्राकृतिक सुन्दरता पनि हेर्न पाइने लिमी पुगेका पर्यटकहरू बताउँछन् । त्यहाँको संस्कृतिले झन् उनीहरूलाई चकित तुल्याउने गर्छ । लामा र तामाङ समुदायको बसोबास रहेको लिमीमा एउटा छोरालाई गुम्बामा पुजारीका रूपमा राख्नुपर्ने बाध्यता छ । ‘लिमीमा सरकारी कानुनभन्दा गाउँको आफ्नै नियम कानुन प्रचलनमा छन्,’ दुई वर्षअघि लिमी पुगेका पत्रकार भरतबन्धु थापाले भने, ‘यहाँ पुग्दा अर्कै दुनियाँमा पुगेको अनुभूति हुँदोरहेछ ।’


नाम्खा गाउँपालिकाले लिमी उपत्यकाको प्राकृतिक सुन्दरता र हल्जी गुम्बालगायत अन्य सम्पदाको प्रचारप्रसार तथा संरक्षणका लागि पहल थालेको छ । गत वर्षदेखि लिमीमा महोत्सव आयोजना गर्न थालिएको छ ।


आगामी वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर पर्यटकीय सम्भावनाबारे काम थालिने गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?