कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लिमीमा वन्यजन्तुको आकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — लिमी हिउँ चितुवा र वनचौंरीको बासस्थानसमेत हो । तीन वर्षअघि वन तथा भूसंरक्षण मन्त्रालयले गरेको अध्ययनमा ५ सय ७१ वटा वनचौंरी भेटिएका थिए ।

अध्ययन प्रतिवेदनमा हरिण र कृष्णसार प्रजातिमा पर्ने घोवा ८ वटा भेटिएका थिए । लिमीमा पाइने ढुङढुङ (कालिकन्टे) चरा विश्वमै दुर्लभ मानिन्छ । ‘चराचुरुङ्गी र वन्यजन्तुको कारण पनि लिमी उपत्यकामा पर्यटकको आकर्षण बढेको हो,’ गिरमेतले भने, ‘वन्यजन्तुहरू बस्ती नजिकै आउँछन्, मज्जाले हेर्न सकिन्छ ।’ स्थानीय स्वयंले वन्यजन्तुको सिकारमा प्रतिबन्ध लगाएकाले वन्यजन्तुहरू बस्ती नजिकै आउजाउ गर्ने गरेका उनले बताए ।


कसरी पुग्ने ?

लिमी उपत्यका पुग्नको लागि दुईवटा बाटा छन् । सुर्खेत वा नेपालगन्जबाट हवाईजहाजमा सिमकोट पुगेर पैदल यात्रा तय गर्नुपर्छ । पहिलो मार्गअन्तर्गत सिमकोट भएर ५ हजार मिटर उचाइको न्यालु लेकको बाटो पर्छ । यो मार्गबाट लिमी पुग्न चार दिन लाग्छ । ‘यहाँबाट जाँदा थुप्रै छहरा, ताल, पोखरी हेर्न पाइन्छन्,’ दुई महिनाअघि लिमी पुगेका दैलेखका ललित रावलले भने, ‘भौगोलिक रूपमा कठिन भए पनि यात्रा निकै रमणीय हुन्छ, लिमी पुगेपछि त सबै दुःख-कष्ट बिर्सिइँदो रहेछ ।’ लिमीको लाप्चा लेकबाट कैलाश मानसरोवरसमेत हेर्न सकिने उनले बताए ।


उनका अनुसार हिल्सा भएर पनि लिमी पुग्न सकिन्छ । सिमकोटबाट हिल्सा र त्यहाँबाट दुई दिन पैदल हिँडेपछि लिमी उपत्यका पुग्न सकिने उनले बताए । समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा अवस्थित लिमी उपत्यकामा तीनवटा गाउँ छन्- हल्जी, जाङ र तिल ।


न्यालु लेकबाट जाँदा जाङगाउँ र हिल्साबाट जाँदा तिलगाउँ प्रवेशद्वारका रूपमा पुगिन्छ । लिमी पुग्ने पर्यटकले त्यहाँको रैथाने परिकार चाख्न पाउँछन् । फापरको रोटी, जौंको सातु र चौंरीको दूधबाट बनेको घिउ तथा भोटे चियाले पर्यटकलाई नयाँ स्वाद दिने स्थानीय काल्जाङ्मु लामाले बताए ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?