कार्तिक १० देखि हिमालयको बेइजिङ उडान

कान्तिपुर संवाददाता

काठमाडौँ — हिमालय एयरलाइन्सले लक्ष्मी पूजाको दिन (कार्तिक १० गते) देखि काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान गर्ने भएको छ ।

कार्तिक १० देखि हिमालयको बेइजिङ उडान

हिमालय एयरलाइन्सको ब्रान्ड तथा सर्भिस प्रमुख उज्वला दलीले पहिलो उडान कार्तिक १० गते हुने पक्कापक्की भएको बताइन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना नागरिकहरूलाई नेपाल भम्रणमा उत्प्रेरित गर्ने अभिव्यक्ति दिएपछि नेपालमा चिनियाँ पर्यटक भित्र्याउने व्यवसायीलगायत सरोकारवालासँग पर्यटन बोर्डले बिहीबार गरेको अन्तर्क्रियामा हिमालय एयरलाइन्सले उडानको मिति घोषणा गरेको हो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायत उपस्थित कार्यक्रममा बोल्दै दलीले काठमाडौं–बेइजिङ सिधा उडान हिमालय एयरलाइन्सको न्यारोबडी जहाज एयरबस ३२० बाट हुन लागेको बताइन् ।


उनका अनुसार हिमालयले सातामा तीन दिन बेइजिङ उडान गर्ने छ । हिमालयले चीनको गुइयाङ, छाङसा र नानछाङमा सातामा एक/एकवटा उडान गर्ने भएको छ । हालसम्म नेपालको राजधानी काठमाडौं र चीनको राजधानी बेइजिङमा सिधा उडान भएका थिएनन् ।


हिमालयले दुई मुलुकका राजधानी जोड्ने सिधा उडान पहिलोपटक हुन लागेको जनाएको छ । हाल हङकङ तथा चीनका चारवटा सहर ल्हासा, छेन्दु, ग्वाङजाव, कुनमिङबाट काठमाडौंका लागि सातवटा एयरलाइन्सले उडान गर्दै आएका छन् । हिमालयले बेइजिङ उडान थालेपछि नेपाल र चीनबीच आठवटा एयरलाइन्सले ६ वटा स्थान जोड्नेछन् । हिमालय एयरलाइन्स नेपाली र चिनियाँ व्यवसायीहरूको संयुक्त लगानीमा स्थापित एयरलाइन्स हो ।

प्रकाशित : कार्तिक १, २०७६ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?