२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एनआरएनए निर्वाचन : भव्य भन्दाभन्दै भद्रगोल 

चाबहिलको हयात होटलमा अस्वाभाविक र भद्रगोलका दृश्य देखिएको मात्रै हैन, तोडफोडका घटनासमेत भए 
विमल खतिवडा

काठमाडौँ — विदेशमा सिकेको सीप तथा ज्ञान भित्र्याउन प्रतिबद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा भने निकै भद्रगोल देखिएको छ । भव्य र सभ्य हुने आकलन गरिए पनि निर्वाचनको गतिविधि आलोच्य बनेको छ । चाबहिलको हयात होटलमा भद्रगोल मात्र होइन, अस्वाभाविक रूपमा तोडफोडका घटनासमेत भए । 

एनआरएनए निर्वाचन : भव्य भन्दाभन्दै भद्रगोल 

मतगणनास्थल असाध्यै अव्यस्थित देखिन्थ्यो । उम्मेदवारहरू आफू निकट दलका कार्यकर्ताहरूको आडमा चुनावी प्रचारप्रसार गर्न बढी सक्रिय देखिन्थे । सञ्चारकर्मीलाई मतदानस्थलमा जान दिइएको थिएन । सूचना दिने छुट्टै सञ्चार डेस्क पनि राखिएको थिएन । मतदाता आफैं मतदान हुने/नहुनेबारे समेत सुरुमा अन्योल देखिन्थे । होटलमा विभिन्न पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो । कतिपय उमेदवारहरूले मोडलहरू ल्याएर आफ्नो प्रचारप्रसार गराएका थिए ।


पार्टी कार्यकर्ता आफू निकट उम्मेदवारको फोटोसहितको प्लेकार्ड झुन्डाएर हिँड्दा एनआरएन नै भनेर झुक्किने धेरै थिए । सम्मेलनमा आएकाहरूले बुधबार राति निर्वाचन नगराएको भन्दै होटलका केही फर्निचर तोडफोड गरेका थिए । अप्रिय घटना र हूल दंगा हुन नदिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । निर्धारित समयमै निर्वाचन नहुँदा केही मतदाता भने मतदान नै नगरी फर्किएका छन् । करिब तीन सय जना प्रतिनिधिले मतदानमा सहभागिता नै जनाएनन् ।


मतदानस्थलमा जम्मा भएका एनआरएनएहरू सम्मेलनमा सहभागी हुनभन्दा फोटो खिच्नमै तल्लीन देखिन्थे । उनीहरू मत माग्नुभन्दा फोटो खिच्नमै व्यस्त देखिन्थे । केही मतदाताले चुनावको बारेमा समेत थाहा नभएको सुनाउँदै थिए ।


केहीले स्याउमा आफ्नो नाम र फोटोसहितको स्टिर टाँसेर बाँडिरहेका थिए । केहीले पानीको बोतलमा फोटो राखेर चुनावको प्रचार गरेका थिए । कोही भने पञ्चेबाजा र मादल बजाउँदै भोट माग्न व्यस्त देखिन्थे ।


आयोजक एनआरएनएका महासचिव बद्री केसीले विद्युतीय भोटिङ मेसिनले गर्दा सम्मेलन भद्रगोल भएको बताए । ‘केही भद्रगोल भएको छ तर सम्हाल्नै नसक्ने भएको होइन,’ उनले भने, ‘भोटिङ मेसिन नचल्दा तालिकाअनुसार अगाडि बढ्न सकिएन, कार्यक्रम पछि धकेलिएको हो, यसअघिको चुनावमा प्रयोग गरिएको राम लक्ष्मण भोटिङ मेसिन नचल्दा समस्या भएको हो ।’


प्रकाशित : कार्तिक १, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?