कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाइपबाट साढे ४ करोड लिटर डिजेल

पाइप लाइनबाट ढुवानी सुरु भएपछि नोक्सानी शून्य
राजु चौधरी

काठमाडौँ — पाइप लाइनबाट डिजेल ढुवानी सुरु गरेसँगै ढुवानीको क्रममा हुने नोक्सानी अन्त भएको छ । आयल निगमका अनुसार ढुवानीका क्रममा हुने तापक्रम, चुहावटका कारण इन्धन नोक्सान भइरहेको थियो । 

पाइपबाट साढे ४ करोड लिटर डिजेल

भदौ २४ गतेदेखि औपचारिक रूपमा पाइप लाइनबाट ढुवानी भएपछि नोक्सानी अन्त भएको हो । ‘ट्यांकरबाट ढुवानी हुँदा तापक्रमका कारण केही प्रतिशत लस हुन्थ्यो । ग्यासबाट लिक भएर पनि जान्छ,’ अमलेखगन्ज डिपो प्रमुख प्रदीपकुमार यादवले भने, ‘अहिले पाइपबाट आउँछ । मोटरले तान्छ । तातोचिसो हुन पाएन । त्यसैले अहिले कुनै लस भएको छैन । ढुवानीमा ‘जिरो लस’ छ ।’ जानकारका अनुसार ट्यांकरबाट ढुवानी गर्दा तापक्रमसँगै इन्धन चोरी पनि हुँदै आएको थियो । अहिले भने सम्पूर्ण ‘लस’ बन्द भएको हो ।


बहुचर्चित पेट्रोलियम पाइप लाइन सम्झौता भएको करिब १५ वर्षपछि भदौ २४ गते औपचारिक रूपमा सञ्चालनमा आएको हो । भारतले मोतीहारीदेखि अमलेखगन्जसम्मको ६८.९ किलोमिटर क्रसबोर्डर पाइप लाइनको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भीडीओ कन्फ्रेन्सिङका माध्यमबाट ‘स्विच थिचेर’ उद्घाटन गरेका थिए । भदौ २४ गतेदेखि असोज २९ गतेसम्म ४ करोड ६० लाख ७७ हजार लिटर डिजेल आयात भएको डिपो प्रमुख यादवले बताए । पाइप लाइनको डाइमिटर १०.७५ इन्च र भित्री भाग १० इन्च छ ।


यादवका अनुसार पाइप लाइनको क्षमता प्रतिघण्टा २ लाख लिटर हो । नेपालतर्फ भूगोल उचाइका कारण प्रतिघण्टा १ लाख ७० हजार लिटर डिजेल नेपाल भित्रिएको छ । ‘मोताहारीभन्दा अमलेखगन्ज २५० मिटर उचाइमा छ,’ यादवले भने, ‘उचाइका कारण प्रतिघण्टा १ लाख ७० हजार लिटर मात्रै भित्रिएको छ ।’ क्षमताअनुसार कम परिमाणमा भित्रिए पनि मागअनुसार पर्याप्त भएको निगमले जनाएको छ । निगमका अनुसार पाइप लाइनबाट २४ घण्टा डिजेल भित्रिएको छ । २४ घण्टामा ४० लाख ४१ हजार लिटर आयात भइरहेको निगमको दाबी छ ।


‘पाइप लाइनबाट आयात पर्याप्त छ । आपूर्ति जति पनि छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘आपूर्तिअनुसार माग नै छैन । डिजेल बेच्न सकिएको छैन ।’ निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पनि आपूर्ति पर्याप्त भएको बताए । ‘चुहावट अन्त भएको छ । आपूर्ति पर्याप्त भएकै कारण भैरहवासम्म पठाएका छौं,’ उनले भने । उनका अनुसार यसअघि भैरहवामा बेतालपुर, गोन्डा र मुगलसराई डिपोबाट आयात गरिन्थ्यो । अहिले ती डिपोबाट डिजेल ढुवानी बन्द गरेर अमलेखगन्जबाटै पठाइरहेको पौडलले बताए ।


‘पाइप लाइनबाट आयातित तेल खपत नै भएन । त्यसैले तीन रुटबाट ट्यांकरबांट ढुवानी रोकेका छौं,’ उनले भने, ‘त्यस क्षेत्रमा अमलेखगन्जबाट इन्धन पठाएका छौं ।’ यीबाहेक पोखरा, थानकोट, विराटनगरलगायतका डिपोलाई पनि माग गरेअनुसारको डिजेल उपलब्ध गराएको निगमको दाबी छ । पाइप लाइनबाट ढुवानी भएपछि करिब एक सय ट्यांकरलाई आन्तरिक ढुवानीमै खटाइएको छ । ती क्षेत्रमा करिब १६० ट्यांकर सञ्चालनमा थिए ।


करिब एक सय ट्यांकरलाई चितवन, हेटौंडातिर परिचालन गरिएको छ । बाँकी ६० ट्यांकरले पेट्रोल ढुवानी गरिरहेको निगमले जनाएको छ । ‘एक–दुई महिना आन्तरिक परीक्षण गरिरहेका छौं । ट्यांकर रोटेसनमा सञ्चालन भइरहेका छन्,’ गोइतले भने, ‘जति ट्रिप हुनुपर्ने हो, त्यो नहुन सक्छ । एक दुई–महिना हेरेपछि विश्लेषण गर्छौं ।’


भण्डारकै समस्या

हाल पाइप लाइनमा भारतीय आयल कर्पोरेसन्स (आईओसी) र निगमको सहकार्यमा ३ अर्ब २४ करोड भारतीय रुपैयाँभन्दा बढी लगानी छ । भण्डारण सुविधा निर्माणका लागि निगमले करिब ७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको थियो । निगमले प्रतिबद्धताअनुसार भण्डारण क्षमता निर्माण गरेको छैन । सम्झौताअनुसार निगमले ४१/४१ सय किलोलिटर क्षमताका दुई ट्यांकी निर्माण गर्नुपर्ने उल्लेख भए पनि निर्माण गरेको छैन ।


जसले गर्दा डिजेल भण्डारणमा समस्या देखिएको जानकारहरू बताउँछन् । हाल निगमले अमलेखगन्जमा मटितेलका ट्यांकीलाई स्तरोन्नतिसहित २ करोड ४० हजार लिटर डिजेल भण्डारण गर्न सक्छ । पेट्रोल १९ लाख ३० हजार र मटितेल १५ लाख लिटरको क्षमता छ । यो भण्डारण क्षमता कम भएको जानकारहरू बताउँछन् । निगमका कार्यकारी निर्देशक पौडेलले भण्डारण क्षमता छिट्टै बढाइने बताए । ‘अमलेखगन्जमा निगमको करिब १० बिघा जग्गा छ । त्यो जग्गामा करिब ८ हजार किलोलिटर भण्डारण छिट्टै बनाउँदै छौं,’ उनले भने, ‘एक महिनामा काम सुरु हुन्छ ।’


पौडेलका अनुसार अहिले म्यानुअल सिस्टममा छ । पाइप लाइनलाई चाहिने अटोमेटिक स्टेसन बनाइन्छ । भण्डारण बनाउन आईओसीले प्रतिबद्धता जनाएकाले अब छिट्टै काम हुने बताए । ‘आईओसीसँग छलफल भइसकेको छ । अब पुन: छलफल गर्न आईओसी जाँदै छौं,’ उनले भने, ‘एक महिनाको अवधिमा सुरु हुन्छ ।’


प्रकाशित : कार्तिक १, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?