कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दुई करोड लगानीमा डेरी

कान्तिपुर संवाददाता

काठमाडौँ — पर्वत सिजनका बेला सातामा २/३ दिन मिल्क होलिडेको मार खेप्दै आएका किसानको समस्या समाधान हुने भएको छ । सदरमुकाम कुस्माबजारमा ४ युवाले अत्याधुनिक डेरी सञ्चालनमा ल्याएसँगै मिल्क होलिडेको अन्त्य हुने भएको हो । 

खरेहामा सञ्चालित डेरीमा दैनिक १२/१५ सय लिटर दूध संकलन हुन्छ । डेरीमा बागलुङको जैमिनी कुस्मिसेराका दिनानाथ शर्मा, छिस्तीका सूर्यप्रसाद शर्मा, जलजला नाग्लीवाङका माधव सुवेदी र कुस्मा दुर्लुङका हरिप्रसाद सुवेदीको लगानी छ । उद्योगमा संकलन र प्रशोधन भएको दूध पर्वत, बागलुङ, म्याग्दी र पोखरासम्म बिक्री हुँदै आएको छ । ‘लामो समय बाहिरबाट आउने दूधको कारोबार गरें,’ उद्योगका अध्यक्ष दिनानाथले भने, ‘वार्षिक २ करोडको दूध र दुग्धजन्य पदार्थ बाहिरबाट आउँदो रहेछ । यहाँका किसानको दूध खेर जाने । यसले उद्योग खोल्ने सोच आयो ।’


उद्योगले बागलुङको दमेक, जैमिनी र टार तथा पर्वतको साइकलचोक, बनौं र अर्मादीबाट दैनिक दुई सय किसानको दुध संकलन गरेर ल्याउँछ । किसानदेखि उद्योगसम्म प्रत्यक्ष, अप्रत्यक्ष तीन सय जनालाई रोजगारी दिएको सूर्यप्रसाद शर्माले बताए । बजारमा भैंसीको दूध बढी माग हुने भएकाले उद्योगबाट दैनिक हजारदेखि १५ सय लिटर दूध बिक्री गर्न समस्या नभएको सञ्चालक बताउँछन् ।


उद्योगमा दक्ष र अदक्ष पाँच कामदार छन् । कामदारले १० देखि २२ हजारसम्म मासिक पारिश्रमिक पाउँछन् । उद्योगले हालै गण्डकी प्रदेश सरकारमार्फत १० लाख रुपैयाँ अनुदान पाएर एनलाइजर मेसिन, चिलिङ भ्याट, १२ वटा आल्मुनियम क्यान, एउटा बटर चर्नर खरिद गरेको बताइयो । ‘दूध नबिकेर घरखर्च जुटाउन समस्या थियो,’ कुस्मा–९ का नारायण शर्माले भने, ‘खरेहामा डेरी खुलेपछि कुनै दिन समस्या छैन । महिना बितेपछि पैसा हातमै आइपुग्छ ।’


प्रकाशित : कार्तिक १, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?