कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

पेट्रोलियम पदार्थ उत्खनन : दोस्रो चरणको अन्वेषण सुरु हुँदै

ज्योति कटुवाल

(दैलेख) — पेट्रोलियम भण्डारणको सम्भावना भएका शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा दोस्रो चरणको अन्वेषणको काम सुरु हुने भएको छ । त्यसका लागि अन्वेषण टोलीको आवास निर्माणको काम तीव्र पारिएको छ । 

पेट्रोलियम पदार्थ उत्खनन : दोस्रो चरणको अन्वेषण सुरु हुँदै

चीन सरकारसँग भएको सम्झौताअनुसार त्यहाँको विशेषज्ञ टोली दसैंअघि दोस्रो पटक दैलेख आएको थियो । इन्धनलगायत सामग्री खरिदसँगै विशेषज्ञ टोली बस्ने स्थान छनोट भइसकेको छ । भूगर्भविद्सहितको पाँच सदस्यीय टोली अहिले उत्खनन क्षेत्रमा खटिएको छ । टोलीले उत्खनन स्थलसम्म जाने सडक फराकिलो बनाउने काम गरिरहेको हो ।


गत असारमा आएको विशेषज्ञ टोली करिब १५ दिन अनुसन्धान गरेर फर्किएको थियो । उक्त समय दैलेखका विभिन्न भूभागको स्थलगत अध्ययनसमेत गरिएको थियो । चार चिनियाँ विज्ञ टोलीसँग दैलेख पुगेकी भूगर्भविद् सुनिता भट्टराईले तीनदेखि चार महिनासम्म सर्भेको काम हुने बताइन् ।


प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार उक्त क्षेत्रमा चिनियाँ टोलीले तीन पटक अध्ययन भ्रमण गरिसकेको छ । उनले एक साताभित्र १९७ जनाको चिनियाँ टोली अन्वेषणका लागि आउने जानकारी दिए । जिल्ला सुरक्षा समितिले विस्फोटक पदार्थको सुरक्षाका लागि आवश्यक प्रबन्ध गरिसकेको उनको भनाइ छ । ‘१५ दिनभित्र आवश्यक सामग्री अन्वेषण क्षेत्रमा आइपुग्नेछ,’ उनले भने । उनले चाइना जियोलोजिकल सर्भेसहित नेपाली विशेषज्ञको टोली आउने क्रम जारी रहेको जानकारी दिए ।


असार दोस्रो साता चिनियाँ विशेषज्ञ टोलीसहित दैलेख आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयोजनाको उद्घाटन गरेका थिए । आयोजनाका अनुसार अन्वेषणका लागि दसैंपछि जिओलोजिकल र म्यागनेट सर्भेलगायतका कामहरू हुनेछन् । जमिनको ५ किलोमिटर मुनिसम्म ड्रिलिङ गरेपछि पेट्रोलियम पदार्थको परिणाम पत्ता लाग्ने भएकाले सोहीअनुसार अनुसन्धान थालिने टोलीले जनाएको छ ।


आयोजना प्रमुख सुधीर रजौरेका अनुसार भण्डारणको निष्कर्षपछि थप काम अगाडि बढ्नेछ । ‘नेपाल र चीन सरकारसँग भएको सम्झौताअनुसार यसपल्टको अन्वेषण परिणाममुखी हुनेछ,’ उनले भने ।

प्रकाशित : आश्विन ३०, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?