कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

आन्तरिक पर्यटकले भरियो कुस्मा

(पर्वत) — नरेन्द्र केसीलाई यतिबेला पाहुनाको भीड थेग्न मुस्किल छ । कुस्मा–५ का केसीले दुई महिनाअघि मात्रै करिब ५० लाखको लगानीमा रक गार्डेन होटल सञ्चालनमा ल्याएका हुन् ।

आन्तरिक पर्यटकले भरियो कुस्मा

निर्माणाधीन बन्जीजम्प नजिकै ४ रोपनी पाखोमा होटल सञ्चालन गरेका केसीले आगन्तुकलाई नयाँ स्वाद दिन होटल परिसरमै साहसिक पिङ सञ्चालनमा ल्याएका छन् ।


पछिल्लो समय कालीगण्डकी र मोदीखोलाको खोंचमा निर्मित र निर्माणाधीन अग्ला झोलुंगे पुल, निर्माणाधीन बन्जीजम्प, कुस्मा–बलेवा यान्त्रिक पुललगायतले आगन्तुक लोभ्याइरहेका छन् । संसारकै पर्यटकको रोजाइमा पर्ने मुक्तिनाथ जाने मुख्य सडकमार्ग भएकाले पनि कुस्मा आउने पर्यटक बढ्दो क्रममा छन् ।


यतिबेला कुस्माका नाम चलेका होटल आन्तरिक पर्यटकले ठेलमठेल छ । बजार आसपास मध्यपहाडी राजमार्गमा रहेका होटल पनि भरिभराउ छन् । पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिमा विकास भएसँगै होटल व्यवसायीलाई आयआर्जनको राम्रो अवसर छ । पर्यटकको वृद्धिसँगै होटल व्यवसायमा लगानी पनि निरन्तर बढिरहेको छ । कुस्माकै ओम श्रेष्ठले करिव नौ करोडको लगानीमा हालै माउन्टेन होटल सञ्चालनको तयारी गरेका छन् ।


धौलागिरिको प्रवेशद्वार र पर्यटकीय राजधानी पोखरासँग नजिक भएकाले पनि बर्सेनि यहाँ आउने पर्यटक बढेका हुन् । पछिल्लो समय कुस्मामा निर्मित अग्ला झोलुंगे पुल, गुप्तेश्वर, अलपेश्वर, लालेश्वर, पार्वती गुफा, निर्माणाधीन बन्जीजम्प, कुस्मा–बलेवा यान्त्रिक पुल पर्यटकका मुख्य रोजाइ बन्नेगरेका छन् ।


मुक्तिनाथ, घोडेपानी, बाग्लुङकालिका, पञ्चकोटलगायत घुमेर फर्किनेहरूका लागि कुस्मा आकर्षक बन्ने गरेको छ । एसियाकै अग्ला दाबी गरिएका कुस्मा–ज्ञादी, कुस्मा–बलेवा र कुस्मा–मुडिकुवा झोलुंगे पुल, कुस्मा–बलेवा केबलकार, कुस्मा आसपासका गुप्तेश्वर र अलपेश्वर गुफा, मोदीवेणीधामको दर्शन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको व्यवसायीहरूको दाबी छ ।


व्यवसायी ओम श्रेष्ठले अघिल्लो वर्षको तुलनामा बढी पर्यटक आएको बताए । ‘यतिबेला कुस्मा पर्यटकले भरिएको छ,’ उनले भने, ‘यो सिजनमा अहिलेजस्तो भीडभाड कहिल्यै देखेको थिइन ।’ होटल व्यवसायी राजु आचार्यले पछिल्लो समय कुस्मामा पर्यटनको सम्भावना बढेको बताए ।


पछिल्लो समय बन्जीजम्प र अग्ला, लामा झोलुंगे पुलका कारण होटलमा लगानी थपिएको छ । चालु वर्ष पुल र बन्जी क्षेत्रको सडक कालोपत्रे सुरु भएको छ । नगरपालिकाको सक्रियतामा निर्माणाधीन कालोपत्रेले पनि यो क्षेत्रलाई पर्यटन विस्तारमा थप टेवा पुग्ने नगरप्रमुख रामचन्द्र जोशीले बताए । कुस्मालाई दुई किनारबाट छुट्याएका मोदी र कालीगण्डकी किनारका प्राकृतिक संरचनामा रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, स्विमिङ, र्‍याफ्टिङ, बन्जीजम्पका लागि आउने पर्यटक अझै बढ्ने भएकोले कुस्माको सम्भावना दिनानुदिन बढेको जोशीले बताए ।

प्रकाशित : आश्विन ३०, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?