कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

६१ प्रतिशत नेपालीको बैंक खाता

यज्ञ बञ्जाडे

काठमाडौँ — कुल जनसंख्याको करिब ६१ प्रतिशतमा बैंक खाता पुगेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । केही वर्षयताका विभिन्न अध्ययनहरूले ४० प्रतिशत नागरिकमा मात्र वित्तीय पहुँच पुगेको निष्कर्ष निकालिरहेको बेला राष्ट्र बैंकको एक अध्ययनले ६०.९ प्रतिशतमा पुगेको देखाएको हो । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचको स्थिति’ सम्बन्धी अध्ययनमा यस्तो उल्लेख छ । 

६१ प्रतिशत नेपालीको बैंक खाता

‘नेपालमा कम्तीमा ६०.९ प्रतिशत जनसंख्यामा बैंकिङ पहुँच पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसमा लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारीबाट सेवा प्राप्त गर्ने जनसंख्यालाई समावेश गर्ने हो भने यो हिस्सा अझै बढ्छ ।’


गत एक वर्षमा बैंक तथा वित्तीय संस्थाका २ हजारभन्दा बढी शाखा थपिएका छन् । कुल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३९ तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् । पछिल्ला दिनमा प्रतिबैंक शाखा जनसंख्या उल्लेख्य रूपले घट्दै गएको छ भने कुल जनसंख्याको हाराहारीमा बैंक तथा वित्तीय संस्थाको निक्षेप खाता संख्या पुग्ने अवस्थामा छ । यस पृष्ठभूमिलाई आधार मानेर राष्ट्र बैंकले वित्तीय पहुँचको स्थिति मापन गरेको जनाएको छ ।


वित्तीय पहुँच मापन गर्ने विभिन्न आधार हुन्छन । तीमध्ये बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता भएको जनसंख्यालाई वित्तीय पहुँचको एउटा मानकका रूपमा लिएको राष्ट्र बैंकले प्रस्ट्याएको छ । यसका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा रहेका नेपालीको तीनपुस्ते विवरणलाई विश्लेषण गरी एक व्यक्तिको एकभन्दा बढी रहेका खाता हटाएर एक व्यक्ति एक खाता मात्र अध्ययनमा समावेश गरिएको छ । ‘यसरी हेर्दा करिब १ करोड ८० लाख निक्षेप खाता संख्या देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो संख्या नेपालको कुल जनसंख्याको ६०.९ प्रतिशत हुन आउँछ ।’


नेपालमा वित्तीय पहुँच तीव्र रूपमा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अर्कोतर्फ वित्तीय प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएकाले वित्तीय पहुँच विस्तार हुँदै गएको अध्ययनको निष्कर्ष छ । ‘बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३ हजार ३ सय पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘निक्षेप खाता संख्या उल्लेख्य वृद्धि भई २ करोड ७८ लाख र कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको छ ।’ मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेबिट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको बताइएको छ ।


अध्ययनमा नेपालमा वित्तीय पहुँचका सम्बन्धमा विगतमा भएका अध्ययनको नतिजा पनि समीक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ । ‘जनसंख्या प्रतिबैंक शाखा, प्रदेशगत बैंक तथा वित्तीय संस्थाको उपस्थिति, स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति र नेपाली नागरिकका व्यक्तिगत निक्षेप खाता संख्याको आधारमा वित्तीय पहुँचको मापन तथा विश्लेषण गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ । अध्ययन सम्पन्न गर्दा राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा रहेको निक्षेप खाताको विवरण संकलन गरेको थियो । त्यसपछि नागरिकले खाता खोल्दा बैंकमा पेस गर्ने तीनपुस्ते विवरणको आधारमा एक व्यक्तिको एक मात्र निक्षेप खाता निकालिएको राष्ट्र बैंकले प्रस्ट्याएको छ । अध्ययन विशेषगरी वित्तीय पहुँचको मापनमा केन्द्रित रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : आश्विन २९, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?