१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

१२ वर्षपछि सकियो कुलेखानी तेस्रो

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्माण सुरु भएको १२ वर्षपछि १४ मेगावाटको जलाशययुक्त कुलेखानी तेस्रोको निर्माण सम्पन्न भएको छ । आयोजनालाई राष्ट्रिय ग्रिडमा जोडेर परीक्षण जारी राखिएको आयोजना प्रमुख सुभाष मिश्रले जानकारी दिए ।

१२ वर्षपछि सकियो कुलेखानी तेस्रो

आयोजनाको काम सकिएर असोज १५ गते राष्ट्रिय ग्रिडमा जोडिएको उनले जानकारी दिए । ‘दैनिक केही घण्टा चलाएर आयोजनाका दुवै युनिट पालैपालो परीक्षण गर्दै छौं,’ उनले भने, ‘कुलेखानी पहिलो र दोस्रो सञ्चालन भए मात्रै तेस्रोको परीक्षण गर्न मिल्छ ।’


परीक्षणका क्रममा आयोजनामा प्रयोग भएको मेसिनरी पुर्जाहरूको कार्यसम्पादन निरीक्षण भइरहेको उनले बताए । ‘आयोजनाको काम सकिएकाले ग्रिडमा जोडिएको हो,’ उनले भने, ‘अहिले परीक्षण भइरहे पनि यो केही समय अझै जारी रहन्छ ।’ विद्युत् मागको अवस्था हेरी कुलेखानी बिहान र साँझमा केही घण्टा सञ्चालन हुँदै आएको छ । जलाशययुक्त आयोजना भएकाले कुलेखानीलाई विद्युत्‌को उच्च माग भएको अवस्थामा मात्रै सञ्चालन गरिन्छ । केही दिनअघि परीक्षण गरेपछि कुलेखानी तेस्रोलाई व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी छ ।


इलेक्ट्रो मेकानिकल कामको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङको ढिलासुस्तीका कारण पछिल्लो समय आयोजनाको काम अघि बढेको थिएन । ठेकेदार कम्पनीले काममा ढिला सुस्ती गरेपछि प्राधिकरणले आफ्ना प्राविधिकलाई पनि काममा लगाएको थियो ।


२०६८ मा सम्पन्न गर्ने लक्ष्यसहित २०६४ चैतदेखि आयोजना निर्माणको काम सुरु भएको थियो । आयोजना निर्माणको लागि दुई चरणमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार आयोजनाको सिभिल संरचनाको निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको थियो भने इलेक्ट्रो मेकानिलतर्फको कामको जिम्मा जियालिङले पाएको हो ।


आयोजनामा भएको ढिलाइका कारण आयोजनाको लागतसमेत दोब्बर बनेको छ । निर्माण सुरु गर्ने बेला आयोजनाको कुल लागत २ अर्ब ४३ करोड लाग्ने अनुमान गरिएको थियो । तर, अहिले लागत बढेर ४ अर्ब ६३ करोड पुगेको छ । आयोजनाले वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट घण्टा विद्युत् उत्पादन गर्नेछ । निर्माण सुरु भएयता आयोजनाको म्याद चार पटक थपिएको छ । राष्ट्रिय योजना आयोगले ५ वर्षअघि नै कुलेखानी तेस्रोलाई समस्याग्रस्त आयोजना घोषणा गरेको थियो । आयोजनाको अन्तिम समयमा ठेकेदार कम्पनीले ढिलाइ गरेपछि कुलेखानी तेस्रो प्राधिकरणका लागि टाउको दुखाइ बन्दै आएको थियो । अन्तिम समयमा ठेक्का रद्द गर्दा थोरै कामका लागि पुन: लामो प्रक्रियाबाट ठेकेदार छनोट गर्नुपर्ने र इलेक्ट्रो मेकानिकलका सामानहरू पनि आइसकेकाले अर्को कम्पनीले उक्त सामानहरू जडान गर्न नमान्ने जस्ता समस्याका कारण प्राधिकरणका प्राधिकरणले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता रद्द गर्न सकेको थिएन ।


प्रकाशित : आश्विन २९, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?