१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पर्यटक डोर्‍याउँदै प्रहरी

आश गुरुङ

(लमजुङ) — अघिपछि प्रहरी, पर्यटक बीचमा । उच्च हिमाली क्षेत्रमा मौसम खुलेको छ । पर्यटकले बिराएकै हुन् कि भन्ने भान धेरैलाई परेको छ । चक्रीय अन्नपूर्ण पदमार्गमा अहिले दैनिक २ सय ५० बढी पर्यटक घुम्न आएका छन् । उनीहरूको गन्तव्य थोराङला (५,४१६ मिटर) र संसारकै अग्लोमध्येको एक तिलिचो ताल (४,९१९ मिटर) हो । 

पर्यटक डोर्‍याउँदै प्रहरी

थोराङला भन्ज्याङ पार गरी मुस्ताङ निस्किएर पर्यटक पोखरा पुग्छन् । तिलिचो गएका पर्यटक भने फर्कन्छन् । धेरै पर्यटक आउँदा सुरक्षा चुनौती बढेको छ । पदमार्गमा आन्तरिक पर्यटक पनि उत्तिकै छन् ।

पर्यटकलाई गन्तव्यमा सुरक्षित तवरबाट पुर्‍याउन प्रहरी पर्यटकलाई डोर्‍याउँदै, सँगसँगै हिँडेका छन् । प्रहरी नै अघिपछि हिँडेपछि बाटामा हिँड्ने र सँगसँगै हिँडेका पर्यटकले सुरक्षित महसुस गरेका छन् । मनाङका डीएसपी टीकाबहादुर कार्कीका अनुसार पर्यटकलाई सुरक्षा दिन प्रहरी उनीहरूका अघिपछि हिँडेका हुन् । साना हतियारसहित प्रहरी खटाइने गरिएको उनले बताए । विभिन्न ठाउँमा रहेका सीमा प्रहरी चौकीले पनि पर्यटकको रेखदेख र सुरक्षा प्रदान गरिरहेका छन् । ‘पर्यटककै साथमा गएर हामीले गन्तव्यमा पुर्‍याउने गरेका छौं । अप्ठयारा ठाउँमा पर्यटकलाई डोर्‍याएर लाने गरेका छौं,’ उनले भने । कार्कीका अनुसार पदमार्ग असुरक्षित भने होइन । तर, पर्यटक धेरै आएपछि सुरक्षा चुनौती थपिएको छ ।


पर्यटकलाई सुरक्षित महसुस गराउन गस्ती गर्न थालिएको उनले बताए । बढी आवातजावत हुने स्थान पिसाङ, हुम्डे, खाङसार, श्रीखर्क हुँदै तिलिचो तालसम्म पर्यटकका लागि सुरक्षा गस्ती गरिएको छ । ‘पर्यटकलाई सुरक्षित तवरबाट गन्तव्यमा पुर्‍याउन पर्यटन व्यवसायी, पर्यटक, गाइड साथै स्थानीयसँग सुरक्षा सचेतनामूलक अन्तर्क्रिया गरेका छौं । पर्चासमेत वितरण गरेका छौं,’ उनले भने । एकै टिमको पर्यटकलाई गन्तव्यमा पुर्‍याउन प्रहरी ४/५ दिनको समयसमेत खटेका छन् ।


प्रहरीले चक्रीय अन्नपूर्ण पदमार्गमै पर्ने पिसाङ क्षेत्रमा गस्ती गरेको छ । चामे नजिकै कोतोबाट विकट नार र फू जाने बाटोमा पर्यटक लक्षित गस्ती गरिरहेको छ । डीएसपी कार्की आफैं पर्यटकको सुरक्षामा मनास्लु पदमार्गतर्फ खटिएका थिए । नासों गाउँपालिका–६ तिल्चेदेखि मनास्लु पदमार्गतर्फ गोरखा सिमानामा पर्ने लार्के भन्ज्याङसम्मको गस्तीमा उनी पुगे । ‘पर्यटक सुरक्षा हाम्रो पहिलो प्राथामिकता हो । उद्धार तथा व्यवस्थापन, स्वयंसेवक समूह गठनका थालनी गरेका छौं,’ उनले भने । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत रहेर सबै कामहरू गरिएको हो ।


‘हिमाली क्षेत्रमा पर्यटकलाई कुनै पनि असुरक्षा छैन भन्ने सन्देश दिन चाहेको उनले बताए । उनका अनुसार चामे गाउँपालिका–४ मा पर्ने काजिन सारा ताल (५००२ मिटर) मा पनि प्रहरीले गस्ती गरेको छ । लमजुङ हिमालको बेसक्याम्पमा पर्ने उक्त ताल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका सुरक्षा, उद्धार, व्यवस्थापनलगायत विषयमा चामे गाउँपालिकाका सरोकारवालासँग छलफल गरिएको उनले बताए । ‘हामीले यो बीचमा बाटो बिराएका पर्यटकलाई खोजेर उद्धार पनि गरेका छौं,’ उनले भने ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक ब्रिज गुरुङले पर्यटकलाई सुरक्षाको अनुभूति दिने खालको प्रहरीको गतिविधिले सकारात्मक सन्देश गएको बताए ।


प्रकाशित : आश्विन २९, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?