भण्डारणका स्याउ सहरतिर

(जुम्ला) र (मुगु) — दसैं सकिएसँगै गाउँमा स्टक रहेको स्याउ सहर पठाउन सुरु गरिएको छ । दसैंको माहोल सुरु भएपछि किसानले स्याउ गाउँमै भण्डारण गरी राखेका थिए । 

भण्डारणका स्याउ सहरतिर

राम्रो मूल्य पाउने आशासहित किसानले फेरि स्याउ बाहिर पठाउन थालेका हुन् । तिहारलाई लक्षित गर्दै स्याउ बाहिर जान थालेको हो । जुम्लाबाट असोज मसान्तसम्म १८ करोड रुपैयाँको स्याउ जिल्ला बाहिर गएको छ । यस वर्ष करिब ६ हजार १ सय टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसअघि हवाईजहाज र सडक मार्गबाट करिव तीन हजार टन जुम्ली स्याउ विभिन्न जिल्लामा पठाइएको थियो ।


जिल्लाका आठवटै स्थानीय तहबाट ए, बी र सी ग्रेडका स्याउ जिल्लाबाहिर गइरहेको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । उनका अनुसार ६० रुपैयाँ प्रतिकिलो बिक्री हुँदा असोज अन्तिम सातासम्म १८ करोड रुपैयाँ जिल्लामा भित्रिएको हो । उत्पादनको ५० प्रतिशत मात्रै स्याउ जिल्लाबाहिर गएको उनले जानकारी दिए । ‘प्याकेजिङ गुणस्तरीय नहुँदा स्याउले सोचेजस्तो मूल्य पाउन सकेन,’ उनले भने, ‘किसानले उत्पादनको १० प्रतिशत स्याउको चाना बनाएका छन् ।’ केही स्याउ अझै कोल्डस्टोरमा राखिएको उनी बताउँछन् ।


किसानले यस वर्ष बगैंचामै ४० देखि ५० रुपैयाँ प्रतिकिलो स्याउ बिक्री गरेका थिए । केहीले खरिद केन्द्रसम्म पुर्‍याएर ६० रुपैयाँ प्रतिकिलो स्याउ बिक्री गरेका छन् । जुम्लाको स्याउ सबैभन्दा बढी सुर्खेत र नेपालगन्जका लागि ढुवानी भएको किसानको भनाइ छ । जिल्लाको अर्गानिक स्याउ काठमाडौं, पोखरा, बुटबल, धनगढी, दाङलगायत सहरमा गएको व्यापारी उदय अधिकारी बताए । ‘जिल्ला बाहिर लैजाँदा राम्रो मूल्य पाउन सकेनौं,’ उनले भने, ‘आकर्षक लेभलिङ र प्याकेजिङ नहुँदा समस्या भएको हो ।’ जुम्लामा १० हजार हेक्टरमा स्याउ खेती गर्न सकिने भए पनि तीन हजार हेक्टरमा मात्रै खेती भइरहेको छ । जसमध्ये ८५० हेक्टरमा मात्रै स्याउ उत्पादन भइरहेको छ । जुम्ली किसानको मुख्य आम्दानीको स्रोत नै स्याउ भएको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताइन् । ‘स्याउमा लगानी बढाएका छौं,’ उनले भनिन्, ‘यस पटक स्याउ बजारीकरणका लागि कृषकलाई प्याकेजिङ कार्टुन वितरण गरिएको छ ।’ उनले स्याउ भण्डारणका लागि जिल्लामा सुविधायुक्त कोल्डस्टोर निर्माण गर्न आवश्यक रहेको जनाइन् ।


१५ औं जिल्ला परिषद्ले जुम्लालाई प्रांगारिक जिल्ला घोषणा गरेपछि ०६६ सालमा ‘नेपाल अर्गानिक प्रमाणीकरण’ मान्यता पाएको थियो । त्यसयता जिल्लामा अभियानकै रूपमा स्याउ खेती थालिएको छ ।


स्याउले बजार पायो

छायानाथ रारा नगरपालिकास्थित ताल्चाका रामभक्त रोकायाले ६० क्विन्टल स्याउ बिक्रीका लागि नेपालगन्ज पठाएका छन् । अझै उनको गोदाममा चार टन स्याउ मौज्दात छ । बाँकी स्याउ बाहिर पठाउन उनको व्यस्तता बढिरहेको छ ।


उनी मात्र होइन, मुगुका किसानले बिक्रीका लागि धमाधम स्याउ जिल्लाबाहिर पठाउन थालेका छन् । लामो समयसम्म सडक वर्षाका कारण सडक अवरुद्ध हुँदा मुगुको स्याउ बाहिर पठाउन सकिएको थिएन । यहाँको स्याउ प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भइरहेको छ । ताल्चाकै किसान कर्णबहादुर रावलले ६० क्विन्टल स्याउ नेपालगन्ज पुर्‍याएर बिक्री गरिसकेको जानकारी दिए । उनका अनुसार एउटा ट्रकमा ६० क्विन्टल स्याउ ढुवानी गर्न सकिन्छ । रावलले यस वर्ष करिब १० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेका छन् ।


उनको बारीमा करिब १२ टन स्याउ उत्पादन भएको छ । ‘दसैंअघिसम्म राम्ररी सडक नखुल्दा स्याउ घरमै भण्डारण गरेको थिए,’ उनले भने, ‘बाहिर पठाउन थालेपछि स्याउले राम्रै मूल्य पाइरहेको छ ।’


प्रकाशित : आश्विन २९, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?