२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

हरियै जुनार महँगो

राजकुमार कार्की

(सिन्धुली) — जुनारको पकेट क्षेत्रका रूपमा चिनिएको सिन्धुलीमा यो वर्ष उपभोक्ताले सिजन सुरु नहुँदै महँगो मूल्य तिरेका छन् । 

उपभोक्ताहरूका अनुसार अहिले बजारमा जुनारको मूल्य प्रतिदाना १० रुपैयाँदेखि १२ सम्म रहेको छ । बिचौलियाले भने सिधै बगैंचाबाट कृषकहरूसँग प्रतिदाना तीन रुपैयाँदेखि चार रुपैयाँमा खरिद गरी तेब्बर मूल्यभन्दा बढीमा उपभोक्तालाई जुनार बिक्री गर्ने गरेका छन् ।


‘गत वर्ष जुनारको मूल्य यतिखेर प्रतिकेजी ४०/५० रुपैयाँ रहेकोमा हरियै जुनार प्रतिकेजी ८०/९० रुपैयाँभन्दा तल झरेन, सदरमुकामका उपभोक्ता रामचन्द्र कार्कीले भने, ‘दु:ख गरेर जुनार फलाउने कृषकले प्रतिदाना चार रुपैयाँसम्म पाउँछन् । बिचौलियासँग हामीले खरिद गर्दा प्रतिदाना १२ रुपैयाँसम्म पर्न जान्छ ।’ चाडबाडको समय भएकाले हरिया जुनारसमेत बिक्रीका लागि राखिएको छ । जुनार पाक्ने खास सिजन मंसिर र पुस महिना हो ।


व्यापारीले सिधै कृषकसँग सम्पर्क गरी जुनार खरिद गर्नाले बिक्रीका लागि कृषकलाई सुविधा पुगे पनि आफुहरूलाई मर्का परेको उपभोक्ताहरूको गुनासो छ । जुनार स्वादिलो र रसिलो भएकाले स्थानीय बासिन्दाले महँगो मूल्य तिरेर भए पनि बाहिरी जिल्लामा बसेका आफन्तलाई कोसेलीस्वरूप पठाउने गरेका छन् । सिजनको फल भएकाले मूल्य महँगिए पनि अहिले जुनारको निकासी बढेको छ ।


गिोलन्जोर गाउँपालिका बाशेश्वरका जुनार कृषक हस्तबहादुर मगर आफ्नो बगैंचामा उत्पादन भएको जुनार तराईबाट आएका व्यापारीले गुणस्तर हेरेर प्रतिदाना पाँच रुपैयाँसम्म हालेर सिधै रुखबाट टिपेर लगेको बताउँछन् । ‘अहिले हामीले गाँउघरमा खरिद गर्नुपर्‍यो भने पनि प्रतिदाना चार/पाँच रुपैयाँ तिनुपर्छ,’ उनले भने । जिल्लामा जुनार उत्पादन हुने अधिकांश क्षेत्रमा सडक सुविधा पुगेकाले उत्पादन भएको जुनार तराईबाट आएका व्यापारीले बगैंचाबाटै खरिद गरेर लाने गरेको उनको भनाइ छ । उपभोक्ता मञ्चका अध्यक्ष अच्युतम ढकालका अनुसार महँगो मूल्यमा जुनार उपभोक्ताले खरिद गर्नुपरेकामा चिन्ता व्यक्त गर्छन् । ढुवानीका कारण देखाएर महँगो मूल्यमा जुनार बिक्री गरेको व्यापारीहरूले दाबी गरेको उनको भनाइ छ ।


जुनार विकास संघ सिन्धुलीका अनुसार दुई नगरपालिकासहित ७ गाउँपालिका रहेको यस जिल्लामा यतिखेर झन्डै १ हजार ५ सय हेक्टर जमिन जुनार खेतीले ढाकेको छ । वार्षिक करिब १५ हजार टन जिल्लामा जुनार उत्पादन हुँदै आएको छ । तर, यो वर्ष जुनारमा किराको प्रकोपसमेत रहेकाले उत्पादन घट्ने जनाइएको छ ।


प्रधानमन्त्री जुनार सुपर जोन कार्यालयका प्रमुख देवराज अधिकारीका अनुसार तीन–चार वर्षअघिदेखि सिन्धुलीको माहाभारत उत्तरतर्फ क्षेत्रमा हुने जुनार खेतीमा ब्याक्टोसेरा–मिनाक्स नामक किरा लाग्न थालेको हो । जुनारको फल लाग्ने बित्तिकै उक्त किराले फुल पार्ने र पछि त्यसबाट औंसा किरा जुनारभित्र हुर्कंदै जानाले सबै त्यही औंसालार्भाले रस चुसेपछि जुनार झर्ने गर्छ । किरा नियन्त्रणको प्रयास भइरहेको छ ।


प्रकाशित : आश्विन २९, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?