२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

गुणस्तर परीक्षणका लागि संकलन गरिएको सुन विभागबाट गायव

राजु चौधरी

काठमाडौँ — गुणस्तर परीक्षण गर्न नमुना संकलन गरेर ल्याइएको सुन तत्कालीन वाणिज्य तथा आपूर्ति विभागबाट गायव भएको छ । २०६९ सालदेखि परीक्षणका लागि ल्याइएका करिव सयवटा सुन पसलका सुन गायव पारिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए ।

गुणस्तर परीक्षणका लागि संकलन गरिएको सुन विभागबाट गायव

उनका अनुसार उपत्यकाका ४० र उपत्यका बाहिरका करिव ६० वटा सुनचाँदी पसलबाट परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।


परीक्षणपछि रिपोर्ट पनि आइसकेको तर व्यवसायीबाट ल्याइएको सुन भने फिर्ता नगरिएको उनको आरोप छ । उनका अनुसार एउटा पसलबाट १ देखि २ तोलासम्म सुन नुमनाका लागि भनेर अनुगमनमा खटिएका विभागका कर्मचारीले लगेका थिए ।


वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले सुन फिर्ता नगरिएको स्वीकार गरे । उनले उक्त समयमा आफू नरहेको र त्यसबारे छानविन गरिने प्रतिक्रिया दिएका छन् । उनले भने, 'अनुगमनमा गएका कर्मचारीले सुन ल्याएका हुन् । फिर्ता गरेका छैनन् भन्ने सही हो । अहिले म आएपछि त्यस्तो भएको छैन । कस्कस्को पालामा त्यस्तो भएको रहेछ म छानविन गर्छु ।'


संघका वरिष्ठ उपाध्यण शाक्यका अनुसार ५/६ वर्ष भइसकेको र सरकारी कर्मचारीले झन् अप्ठ्यारोमा पार्न सक्छन् भनेर आफूहरु चुप लागेर बसेको बताए । महानिर्देशक गौतमले जसरी पनि सुन फिर्ता गरिने आश्वासन दिएका छन् ।


तत्कालीन वाणिज्य तथा आपूर्ति विभागमा सुन उठाइएको समयमा गोकुलप्रसाद धिताल, कुमार दाहाल र नारायणप्रसाद विडारी महानिर्देशक थिए । यस्तै अनुगमन शाखामा निर्देशक लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्वासे थिए । श्रेष्ठ र बेल्वासेले विभागमा जानकारी नै नगराई उपत्यका बाहिर गएर नमुना संकलनका लागि भन्दै सुनपसलबाट सुन उठाएर ल्याएका थिए ।

दुईवर्षअघि वाणिज्य तथा आपूर्ति विभागको नाम परिवर्तन गरेर वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग बनाइएको थियो ।

प्रकाशित : आश्विन २८, २०७६ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?