१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पहिले खलो, अहिले नगद

‘पहिले खलोमा ग्राहकहरु निश्चित हुन्थे, वर्षको २ पटक सिजनअनुसार धान र गहुँ पाइन्थ्यो’
निर्मला खडायत

धनगढी - दुइवटा टाँक हराएको मैलो सेतो सर्ट  । तल पनि मैलो नै कालो रंगको हाफ पाइन्ट  । आरनको आगोका झिल्काले हाफ पाइन्टको पनि ठाउँ–ठाउँमा स सानो प्वाल पारेको छ । उमेरले ६५ नाघेका जोगी सुनार हातमा हथौडा लिएर हँसिया बनाउँदै थिए । १० वर्ष अघि गाउँमा खलो लिएर काम गर्ने उनी धनगढी सरेपछि अहिले ज्यालामा काम गर्न थालेका छन् ।

पहिले खलो, अहिले नगद

‘खलोमा ग्राहकहरू निश्चित हुन्थे । वर्षको २ पटक सिजनअनुसार धान र गहुँ पाइन्थ्यो,’ जोगीले भने, ‘वर्षभरि उनीहरूको हसिया, कुटो कोदालो बनाए पनि खलोबाफत् पाउने अन्न थोरै हुन्थ्यो । गाउँमा संकलन गरेको खलोले वर्षभरि खान मात्रै पुग्थ्यो । अहिलेनगद ज्याला लिन थालेपछि बचत पनि हुन थालेको छ ।’

खलो अर्थात वर्षभरि गाउँका मानिसको हसियाँ, बन्चरो, कुटोकोदालो बनाएबापत् उनलाई ज्यालाका रुपमा ६ महिनामा २/३ पटक सिजनअनुसारको अन्नबाली मिल्थ्यो । तर, अहिले त्यो प्रथा हराइसकेको छ । खलोभन्दा नगद ज्यालामै आम्दानी राम्रो भएपछि अहिले नगदमै काम गरिरहेको उनले सुनाए ।

सदियौंदेखि ग्रामीण समाजमा चलिआएको यो प्रथा (अन्नबाली दिएर काम गराउने) पछिल्लो समयमा हराउँदै गइरहेको छ । आजकल लुगा सिउने र आरनको काम गर्नेहरू नगद ज्याला लिएर नै काम गर्छन् । ‘धानको बेला धान लिन, गहुँका बेला गहुँ लिन गाउँ चहार्नुपर्थ्यो । अहिले आमनेसामने नै नगदले ब्यापार हुन्छ,’ जोगीले भने ‘अहिले हरेक कुरा महँगो छ । केही पाथी धानले वर्षभरि धान्न सकिँदैन । त्यसैले खलो लिने चलन धेरैले छोडिसके ।’ खलो लिँदा ६ महिनामा एक घरबाट ४/५ पाथी धान–गहुँ पाउने उनले अहिले दैनिक रुपमा ४/५ सय कमाउने गरेका छन् । ‘घनले पिटेर हसिँया, बन्चरो बन्छ हजुर । मिहिनेत धेरै, आम्दानी थोरै थियो ।

नगदमा परिश्रमको फल पाएजस्तो महसुस हुन्छ,’ जोगीले भने । पहिले पुर्खादेखि नै खलो लिने प्रचलन रहिआएको हुनाले जोगीले पनि लामो समय खलोमै काम गरेको सुनाए । तर, १० वर्ष अघि धनगढी झरेपछि उनलाई खलो दिने कोही भेटिएनन् । ‘सुरुमा खलोकै लोभ लाग्थ्यो । केही नभए पनि आउने अन्नबाली निश्चित थियो । पछि ज्याला बढी देखेपछि खलोप्रतिको मोह घट्दै गएको हो,’ जोगीले भने । अहिले उनको सबै कारोबार पैसामा हुन थालेको छ ।

धनगढी उपमहानगरपालिका लक्ष्मीनारायण चोकमा सिलाइ पसल सञ्चालन गरिरहेका शेरबहादुर नेपालीको पनि केही वर्षयता दैनिकी फेरिएको छ । थोरै खलोमा धेरैका कपडा सिलाउँदै आएका उनले पनि अहिले नगदमा काम गर्न थालेका छन् । ‘लामो समय कपडा सिलाइयो । आम्दानी कत्ति पनि देखिएन् । अहिले बजार क्षेत्रमै पसल राखेर काम गरिरहेको छु’ उनले भने ‘पाथीको हिसाब पैसामा लिन थालेपछि आम्दानी देखिन थालेको हो ।’

वर्षौंअघिदेखि चलिआएको बालीघरे (खलो प्रथा) पुस्ताहरूमा हस्तान्तरण हुँदै आएको थियो । तर, नयाँ पुस्ताले नगदमा फाइदा देखेपछि यस प्रथालाई बिर्संदै जान थालेको उनले बताए । उनले भने ‘आँगन–आँगन चहारेर खलो मागेर ल्याउनुपर्थ्यो । अझ कतिपयले कचकच पनि गर्थे । अहिले मिहिनेतअनुसारको दाम तोकिन्छ । काम हुनेबित्तिकै पैसा हातमा आउँछ । अनि को लागि परोस् त खलोको पछि ?’ छोरा–छोरीलाई राम्रो पढाउन सकिँदैन थियो ।

नगदमा काम गर्न थालेपछि सबै अभावहरू टर्न थालेको उनले सुनाए । कैलालीका बजार क्षेत्रका मात्रै होइन्, ग्रामीण क्षेत्रमा पनि सिलाइ र लोहार/ सुनारको काम गर्नेहरू खलो प्रथा छोडेर नगदमा काम गर्न थालेका छन् । कपडा सिलाउनेले मात्रै होइन्, लगाउनेले पनि नगदमा ज्याला दिन रुचाउने गरेका छन् ।

प्रकाशित : आश्विन २८, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?